सञ्जालमार्फत चुनावी प्रचार हुन थालेपछि झण्डा र ब्यानर बनाउनेहरु मर्कामा

सञ्जालमार्फत चुनावी प्रचार हुन थालेपछि झण्डा र ब्यानर बनाउनेहरु मर्कामा

समाचार

Sharing is caring!

पहिले पहिले चुनाव आउनु एक, दुई महिना अघिदेखि नै सडकमा विभिन्न दलका पर्चा, पम्पलेट, ब्यानर र झण्डा फरफराउँथे । सडक र टोलमा पनि भोट माग्नेहरुको चहलपहल उत्तिकै हुन्थ्यो । घर दैलो पनि जुलुस आए सरह नै हुन्थ्यो । कोही नारा भट्याउँदै हिँड्थे र कोही पर्चा बाँड्दै । हरेक चुनावमा यस्तै चहलपहल हुन्थ्यो । विभिन्न दलका नेता कार्यकर्ता र उम्मेदवारले हातैले पार्टीका पर्चा बाँड्दै हिँड्थे ।

तर, केही वर्ष अघिदेखि चुनावमा यस्ता पर्चा, ब्यानरको प्रयोग हुन छाडेको छ । सामाजिक सञ्जाल सबैको पहुँचमा पुगेपछि पर्चा ब्यानरको आवश्यकता पनि छैन । निर्वाचन आयोगले पनि चुनावी प्रचारमा पर्चा, पम्प्लेट, ब्यानर र झण्डाको प्रयोगमा कडाइ गरेको छ । सामाजिक सञ्जालमार्फत चुनावी प्रचार हुन थालेपछि झण्डा तथा ब्यानर बनाउनेहरु चाहिँ मर्कामा परेका छन् ।

पहिले चुनाव आउने बेलामा छापाखाना र आर्ट सेन्टरमा काम गर्नेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । विभिन्न पार्टीका झण्डा, ब्यानर, पर्चा र पम्पलेटले झकिझकाउ हुने धेरै ठाउँ अहिले भने सुनसान जस्तै देखिन्छन् । बागबजार मात्र होइन पुतलीसडक, अनामनगर, डिल्लीबजारमा पनि चुनावी झण्डा, टिसर्ट, टोपी, ब्याच, स्टिकर छाप्ने सयौँ छापाखाना छन् । हरेक चुनावमा झण्डा, ब्यानर, पर्चा, लगायतका प्रचार सामग्री खोज्दै ग्राहकहरु पसल पसल धाउँछन् । तर, हरेक चुनावमा प्रचार सामग्री छापिने यी सबै छापाखाना यसपालि खासै व्यस्त छैनन् । यसपालिको चुनावमा प्रचार सामग्रीको माग घटेको भन्दै व्यवसायीहरु चिन्तित भएका छन् ।

सप्तरीका नरेश चौधरी पनि बागबजारमै छापाखाना सञ्चालन गर्नुहुन्छ । उहाँले बागबजारमा छापाखाना चलाउन थालेको २० वर्ष भयो । चौधरीले अघिल्ला पालिक चुनावमा प्रचार सामग्री बनाउन दिनको १८ घण्टा खटिनु हुन्थ्यो । पसलमा झण्डा, ब्यानर, पर्चा, लगायतका प्रचार सामग्री किन्न आउनेको घुइँचो हुन्थ्यो । पालिका चुनावमा उहाँले ६० हजार रुपैयाँको त झण्डा मात्रै बेच्नु भयो । टिसर्ट पनि ८ लाखदेखि दश लाख रुपैयाँसम्मको बेच्नु भयो । एक्लै काम गर्न गाह्रो भएपछि दश जना सहयोगी राख्नु भयो । प्रचार सामग्री बेचेरै ४० लाख रुपैयाँ कमाइ भयो । तर यसपालि उहाँको पसलमा ४ जना मात्र सहयोगी छन् । दुई वर्ष कोरोनाले व्यवसायमा पारेको असरलाई यस पालिको चुनावबाट भरथेग होला कि भन्ने आशा पनि आशामै सीमित हुने भयो भन्ने उहाँको चिन्ता छ ।

‘पहिले त काठमाण्डौ बाहिरबाट पनि राम्रो माग आउँथ्यो । तर, पहिले भन्दा यसपालि चुनावमा प्रचार सामग्रीको माग ह्वात्तै घटेको छ,’ चौधरीले बताउनु भयो ।

चुनावमा प्रचार प्रसारका सामग्री छाप्न भ्याइनभ्याइ हुने बागबजार, पुतलीसडक, अनामनगर, बानेश्वर, डिल्लीबजार लगायतका ठाउँहरु यसपालि सुनसान जस्तै छन् । देशभरकै लागि बागबजारका छापाखानामा प्रचार सामग्री छापिन्थ्यो । व्यापारीहरु चुनाव आउला र प्रचार सामग्री बेचौँला भनेर महिना दिन पहिलेदेखि नै कुरेर बस्थे । लाखौँ रुपैयाँ बराबरको प्रचार सामग्री पहिले नै छापेर राख्थे । तर निर्वाचन आयोगले प्रचार सामग्री प्रयोगमै कडाइ गरिदियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *