तेह्रथुम : कांग्रेसकी सीता र एमालेका विजयको प्रतिस्पर्धा

तेह्रथुम : कांग्रेसकी सीता र एमालेका विजयको प्रतिस्पर्धा

समाचार

Sharing is caring!

तेह्रथुम – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवारको रुपमा दोश्रो पटक आउनुभएको छ । २०७४ को चुनावमा नेकपा एमालेका भवानी खापुङसँग पराजित हुनुभएकी गुरुङ यसपटक फेरि एमालेका डा. विजय सुब्बासँग प्रतिस्पर्धा गर्न चुनावी मैदानमा आउनुभएको हो ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भइसक्नुभएकी गुरुङ जिल्लामा विकासप्रेमी नेतृको रूपमा चिनिनुहुन्छ  । गुरुङलाई पराजित गर्ने खापुङ नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमालेले विजय सुब्बालाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको हो । उहाँ यसअघि दुई पटकसम्म जिल्लाबाट निर्वाचित भइसक्नुभएको छ । प्रतिनिधिसभामा गुरुङ र सुब्बाको प्रतिस्पर्धा भने पहिलो हो ।

सत्ता गठबन्धन दलको साथ र विगतमा तेह्रथुम जिल्लाको विकासका लागि आफूले गरेको योगदानलाई जनताले सम्मान गर्दै मतदान गरे आफ्नो जित निश्चित रहेको गुरुङको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘जिल्लाको छथरदेखि आठराईसम्म विकासको अल्पकालीन र दीर्घकालीन योजना बनाएर चुनावी मैदानमा आएकी छु । मतदाताले मौका दिए गफ हैन काम गरेर देखाउनेछु ।’

यता, एमाले वामपन्थीको किल्लाको रुपमा चिनिएको तेह्रथुमको आफ्नो इतिहास जोगाउन लागि परेको छ ।

जिल्लाको समग्र विकासको लागि इमान्दार प्रयत्नका साथ लाग्न आफ्नो उम्मेदवारी रहेको सुब्बा बताउनुहुन्छ । ‘जिल्लाको विकृत राजनीतिक परिवेशको सुधार र जनहितसँग सम्बन्धित ऐन कानुन निर्माणको लागि मेरो उम्मेदवारी हो’ सुब्बाले भन्नुभयो ।

तेह्रथुममा गठबन्धनका कारण काँग्रेसले जित्ने आँकलन गरिएको छ । गठबन्धन चुनाव जित्नकै लागि मात्र नभई संविधान र जनताको हक अधिकार रक्षाको लागि गरिएको गठबन्धन दलमध्ये एकीकृत समाजवादी पार्टी तेह्रथुमका अध्यक्ष कृष्ण चोङबाङले बताउनुभयो ।

तेह्रथुममा वि.स. २०७४ सालको प्रतिनिधि र प्रदेशसभा दुवैमा एमालेले जित हात पारेको थियो । त्यस्तै २०७४ सालको पालिका चुनावमा ५ पालिका जितेको एमालेले २०७९ मा भने १ नगरपालिका र २ गाउँपालिका मात्रै जितेको छ । पालिका तह चुनावमा पनि १ नगरपालिकासहित २ गाउँपालिकामा सत्ता गठबन्धन दलको सहयोगमा कांग्रेस विजयी भएको थियो । पालिका तह चुनावमा सत्ता सहयात्री दलसँग तालमेल गरी चुनाव लडेको कांग्रेसले सोचेजस्तो नतिजा भने हात पार्न सकेन ।

यस्तो छ चुनावी अंकगणित

तेह्रथुममा पालिका तहका प्रमुखले प्राप्त गरेको मत जोड्दा कांग्रेस एमालेभन्दा १ हजार ३ सय ५९ मतले अगाडि छ  । सत्ता गठबन्धन दलको सहयोगमा कांग्रेसले २३ हजार ६ सय ७७ मत प्राप्त गरेको थियो भने एमालेले २२ हजार ३ सय १८ मत प्राप्त गरेको छ  । ७१ हजार ९ सय ३३ मतदाता रहेको तेह्रथुमबाट प्रतिनिधि सभाको लागि १ स्वतन्त्रसहित विभिन्न पार्टीका १० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *