मोरङ १ मा यसअघि एक/एक पटक जितेका खतिवडा र लिम्बूमा काे बलियाे ?

मोरङ १ मा यसअघि एक/एक पटक जितेका खतिवडा र लिम्बूमा काे बलियाे ?

समाचार

Sharing is caring!

विराटनगर – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा मोरङ क्षेत्र नम्बर १ मा मुख्यगरी दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १ को अवस्था हेर्दा एमाले उम्मेदवार घनश्याम खतिवडा र नेपाली कांग्रेसका डिगबहादुर लिम्बूबीच प्रतिस्पर्धा हुने देखिन्छ । लिम्बू माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसहितको सत्तागठबन्धनबाट प्रतिस्पर्धामा उत्रिनु भएको छ ।

संसदीय चुनावमा खतिवडा र लिम्बूको यो तेस्राे भेट हो । यसअघि उहाँहरुबीच तत्कालीन लेटाङ गाविसको अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । लेटाङ नगरपालिका स्थायी घर भएका दुवै उम्मेदवारको पृष्ठभूमि एकै प्रकारको छ । शिक्षण पेशाबाट राजनीतिको मूलधारमा आएका खतिवडा र लिम्बू सहकारी, सामुदायिक वनलगायतका क्षेत्रमा पनि सँगै रहनु भएको थियो । स्थानीय स्तरमा लोकप्रिय दुवै नेताहरु एक अर्काबीच भेटघाट हुने बित्तिकै अँगालो नै हालेर आत्मियता साटासाट गर्ने गर्छन् ।

एक–एक पटक संसदमा पुगेका दुवै नेताको यो तेस्रो भेटमा कस्ले विजय हासिल गर्छ भन्ने विश्वसनीय आधार भने छैन । दुवैको अवस्था उस्तै रहेकाले स्वयम् उम्मेदवारले आफू विजयी हुने बताइरहे पनि यकिन भने हुन सकिरहनु भएको छैन । स्थानीय पार्टी कार्यकर्ताहरु पनि काे विजयी हुन्छ भन्नेमा निश्चित नभएको बताउँछन् ।

दुवै परीक्षण भएका नेता

मोरङ १ मा टिकट वितरण हुनुअघि एमालेबाट कस्ले टिकट पाउने भन्ने निश्चित थिएन । एमालेबाट ५ जनाको नाम सिफारिस भएर गए पनि मुख्यगरी खतिवडा र स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री डा. शिवमाया तुम्बाहाम्फेमध्ये को हुने निश्चित थिएन । तर सत्ता गठबन्धनबाट लिम्बू करिब निश्चित जस्तै हुनुहुन्थ्यो । एकल सिफारिस नभए पनि खतिवडा भन्दा लिम्बूको टिकट निश्चित जस्तै थियो । तर, अन्तिममा एमालेबाट भने खतिवडा नै उम्मेदवार बनेर आउनु भयो ।

क्षेत्र नम्बर १ मा २०७० सालदेखि लगातार लिम्बू र खतिवडाबीच प्रतिस्पर्धा हुँदै आएको छ । २०७० सालको संविधान सभा चुनावमा खतिवडालाई पराजित गरेका लिम्बू २०७४ सालको प्रतिनिधि सभा चुनावमा भने खतिवडासँग पराजित हुनु भएको थियो । एमाले–माओवादी वामगठबन्धनबाट खतिवडाले लिम्बूलाई सहजै पराजित गर्नु भएको थियो । खतिवडाले ३७ हजार ५ सय २४ मत प्राप्त गर्दा लिम्बूले ३१ हजार ४ सय ३६ मत पाउनु भएको थियो ।

क्षेत्र नम्बर १ बाट खतिवडा र लिम्बू दुवै एक–एक पटक निर्वाचित भइसकेकाले परिणाम कस्को पक्षमा जाला भन्ने निश्चित नभएको स्थानीय मतदाता बताउँछन् । दुवैको कार्यकाल हेरिसकेकाले नयाँ केही होला भन्ने नभएको उर्लाबारी १ लक्ष्मीझारका दामोदर निरौलाले बताउनु भयो । जनताका समस्या जस्ताको त्यस्तै रहेको उहाँको भनाइ छ ।

यस पटकको परिणाम जे पनि हुन सक्ने निरौला बताउनुहुन्छ । खतिवडा र लिम्बू बाहेक तेस्रो उम्मेदवार प्रभावकारी नभएको उहाँले बताउनु भयो । २०७० सालमा निर्वाचित नभएका लिम्बूले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा २०७४ मा पराजित हुनु परेको निरौलाको भनाइ छ । खतिवडाले पनि २०७४ मा गरेको वाचाहरु पूरा हुन नसकेको उहाँले बताउनु भयाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *