» हाते ट्र्याक्टरले गोरु विस्थापित

» हाते ट्र्याक्टरले गोरु विस्थापित

समाचार

Sharing is caring!

बझाङ – खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । गोरु जोतेर ढाड दुखाउनुभन्दा ट्र्याक्टर जोत्न सजिलाे हुने उहाँले बताउनुभयो ।

‘कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन’, उहाँले भन्नुभयो,’गोरु जोतेरै बूढो भइसकेँ । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्र्याक्टरले धेरै सजिलो भएको छ ।’

उहाँका अनुसार अहिले हाते ट्र्याक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्र्याक्टर नै विकल्प भएको उहाँ बताउनुहुन्छ । तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ का यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उहाँ असार र मङ्सिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पुर्याउनुहुन्थ्यो।

उहाँको घरमा गोरु भएपछि छिमेकीले समेत खेत जोत्ने मौका पाउँथे । घरमा ल्याएपछि दुई महिना गोरु दैनिकजसो जोतिन्थ्यो । पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो । गोरु जोत्ने बेलामा ठूला खेतमा त दुई हल गोरुसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो ।

गएकाे मङ्सिरमा एक जना आफन्तले हाते ट्र्याक्टर किनेर ल्याउनुभयो । यसले उहाँले आफ्नो खेती मात्रै नभई तीन/चार जना छिमेकीकै खेती बनाउनुभयो । त्यो देखेर उहाँको परिवारले पनि गोरुको ठाउँमा ट्र्याक्टर नै राख्ने सोच बनायो । किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन् । पछि अर्कै पालिकाका मान्छेलाई उहाँको परिवारले सित्तैमा एक हल गोरु दिए । ट्र्याक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन थालेको उहाँ बताउनुहुन्छ ।

जयपृथ्वी नगरपालिका–९ पिठालेखकी सीता थापाले पनि तीन वर्ष अगाडि हाते ट्र्याक्टर किन्नुभयो । गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित ७० हजार रुपैयाँमा ट्र्याक्टर भित्र्याउनुभयो । रोपाइँ गर्न महिनाभरि लाग्ने खेतमा ट्र्याक्टरपछि हप्ता दिनमै सकिन थाल्यो । उहाँ सुरू–सुरूमा आफ्नो मात्रै नभएर छिमेकीको खेतमा मद्दत गर्न थाल्नुभयो । पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्र्याक्टर भाडामा समेत प्रयोग गर्न थालेको उहाँ बताउनुहुन्छ । ट्र्याक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उहाँले सुनाउनुभयो ।

उहाँको देवलको खेतमा पहिले दुई दिन गोरु जोत्नै लाग्थ्यो । बीस जनाले रोपाइँ गर्थे । गहुँको सिजनमा पनि दुई दर्जन मान्छे चाहिन्थे । हलीसहित सात/आठ जना पुरुषले बिहानैदेखि खट्नुपर्थ्याे । आजभोलि भने तीन/चार घण्टामै काम सकिने गरेको छ ।’आज पनि हामी दुई जना मात्रै थियौँ । तीन घण्टामै जोतेर सकियो । रोपाइँको दिनमा पनि थोरै मान्छे भए नी पुग्छ ।’ उहाँले भन्नुभयो ।

अन्धविश्वासका कारण नगरपालिकाभित्रका महिला गोरु मात्रै नभएर ट्र्याक्टरसमेत जोत्दैनन् ।’हाम्रोतिर गोरु पनि पुरुष, ट्र्याक्टर पनि पुरुषले नै जोत्छन् ।’ उहाँले भन्नुभयो,’यहाँ त महिलाले अहिलेसम्म हलो छोएकै छैनन् । ट्र्याक्टर पनि जोत्दैनन् ।’ महिलाले हलो जोत्दा देउताले रिसाउने भन्ने पूर्खाको भनाइलाई पालना गरेको अर्की कृषक लक्ष्मी जोशीले बताउनुभयो ।’हाम्रोतिर अहिलेसम्म कुनै महिलाले हलो जोत्यो भन्ने सुनेका पनि छैनौँ । मैले जोत्ने त परको हो ।’ उहाँले भन्नुभयो ।

गाउँमा कसैको बारीमा ट्र्याक्टर जोत्नु परे पनि पुरुष मान्छे नभए बारी बाँझै रहने उहाँले बताउनुभयो ।’मेरो घरमा सधैँ छोराले मात्रै ट्र्याक्टर जोत्छ ।’ छोरा नभएको बेलामा कुटो कोदालोले आफूले खन्ने गरेको उहाँले बताउनुभयो । उहाँले आफ्नोतिर मात्रै नभइ माइतीघरमा समेत पुरुषले मात्रै ट्र्याक्टर जोत्ने गरेको बताउनुभयो ।’ट्र्याक्टर जोत्न एकदमै सजिलो हुन्छ भन्छन्, थकाइ पनि लाग्दैन रे तर, हामीले भने अनुभव गरेका छैनौँ ।’ उहाँले भन्नुभयो ।

खेतमा गोरु जोत्नुभन्दा ट्र्याक्टर जोत्नु धेरै सजिलो हुने कृषक पिठालेककै सुनिल थापाले बताउनुहुन्छ । ‘मेसिनरी चिज र पशुहरूमा धेरै फरक हुन्छ । गोरुलाई लाइनमा ल्याउनै मुस्किल पर्छ । मान्छे पनि धेरै हुनुपर्छ । ट्र्याक्टर चलाउन भने जसले पनि सक्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *