» व्यवस्था विरोधी र पक्षपातीबीच प्रतिस्पर्धा : प्रचण्ड

» व्यवस्था विरोधी र पक्षपातीबीच प्रतिस्पर्धा : प्रचण्ड

समाचार

Sharing is caring!

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चुनावका लागि मात्रै प्रतिस्पर्धा नभएर ‘वर्तमान व्यवस्था चाहने र नचाहनेबीचको प्रतिस्पर्धा भएको’ जिकिर गरेका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनद्वारा बुधबार खोटाङ दिक्तेलमा आयोजित कार्यक्रममा प्रचण्डले ‘गणतन्त्र, संघीयता, समावेशीलगायत व्यवस्था जोगाउने र ढाल्ने शक्तिबीचको चुनाव भएको’ बताएका हुन् ।

‘मंसिर ४ गते दुईवटै गठबन्धनबीच जनमत संग्रहका रूपमा चुनाव हुँदै छ,’ करिब दुई मिनेट बोलेका प्रचण्डले भने, ‘देशभर सत्ता गठबन्धनको माहोल छ, यहाँ पनि अपार उपस्थितिले गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गरेको छ ।’

खोटाङको विकास र समृद्धिका निम्ति गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका रामकुमार राई, खोटाङ १ का उम्मेदवार वीरबलकाजी राई र खोटाङ २ का उम्मेदवार भूपेन्द्र राईलाई विजयी गराउन प्रचण्डले आग्रहसमेत गरे । ‘जिल्लाबाट विजयी उम्मेदवार योग्य भएकाले मन्त्री बनेपछि जिल्ला विकासमा समेत सहज हुने’ उनको तर्क छ ।

कांग्रेस नेता प्रकाशशरण महतले लोकतान्त्रिक वाम गठबन्धनको उम्मेदवारलाई भोट हाल्न कार्यकर्तासँग आग्रह गरे । ‘गठबन्धनले चुनाव नजिते मुलुक पछाडि पर्ने’ भन्दै उनले ‘जसरी पनि जित्नैपर्ने’मा जोड दिए ।

माओवादी केन्द्र अनुशासन आयोग अध्यक्ष टंक राईले ‘पुष्पलाल, मदन भण्डारीको चुनाव चिह्न सूर्य अब कमल थापाको भइसकेकाले एमाले कार्यकर्ताले सोच्नुपर्ने दिन आएको’ भन्दै कटाक्ष गरे । ‘अनुशासित कार्यकर्तालाई एमालेले भ्रममा पारेर चुनाव चिह्न अर्कैलाई दिइसकेको’ राईले बताए ।

सभामा उम्मेदवारलगायत कांग्रेस नेत्री सरस्वती बजिमय, एकीकृत समाजवादी नेता राजन राई, माओवादी केन्द्रकी रश्मी रसाइली, कांग्रेस नेतृ विमला राई, रविप्रकाश राई, दिनेश राईलगायतले बोलेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *