विशेषले उल्टाएको ९ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

विशेषले उल्टाएको ९ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

समाचार

Sharing is caring!

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले ती मुद्दा सर्वोच्चमा मंगलबार पुनरावेदन दर्ता गरेको हो ।

आयोगले प्रतिवादी कृष्णहरि वाग्लेविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । वाग्लेलाई २५ हजार बिगो दावीसहित दायर गरेको घुस रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषले प्रतिवादीले इन्कारी बयान दिएको आधारमा सफाइ दिएको थियो ।

यता, आयोगले भने प्रतिवादीले मौकामा कसूर सावित भई आफैं हस्तलिखित गरेको बयान प्रमाण ऐन, २०३१ को दफा ९(२)ले प्रमाण योग्य देखिएको जिकिर गर्दै पुनरावेदन गरेको जनाएको छ ।

त्यस्तै, आयोगले विशेष अदालतले सफाइ दिएको प्रतिवादी जय नेपाल थापा, चित्रबहादुर केसी, कमलप्रसाद पौडेल, सिद्धार्थ जोशीलगायतको मुद्दामा पनि पुनरावेदन दिएको छ । ५० हजार घुस लिएको अभियोग लागेका भ्रष्टाचार मुद्दामा सफाइ पाएका प्रतिवादी देवीप्रसाद गौतम र नेत्रप्रसाद लामिछानेको हकमा पनि सर्वोच्चमा पुनरावेदन दिएको छ ।

यसैगरी, आयोगले प्रतिवादी सुरेन्द्रराज अधिकारी, नारायणराज मिश्र र भाइकाजी गौतम, प्रकाश तिवारी र लोकराज जोशीविरुद्धको घुसवत रिससम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालले सफाइ दिएपछि सो उपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारले योसहित साउनयता मात्रै १ सय ३५ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । अघिल्लो साता मात्रै १ सय १२ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको जानकारी गराएको थियो । त्यसअघि १० मुद्दा पनि पुनरावेदन गरेको थियो ।

अघिल्लो साता अख्तियारले पत्रकार सम्मेलन नै गरेर प्रमाण पुगेका धेरै मुद्दा उल्टिएको भन्दै अप्रत्यक्ष रूपमा विशेष अदालतप्रति असन्तुष्टि प्रकट गरेको थियो । अख्तियारको सार्वजनिक असन्तुष्टिपछि नेपाल बार एसोसिएसनले अख्तियारले क्षेत्राधिकार नाघेर अदालतमाथि हस्तक्षेप गर्न खोजेको भन्दै विज्ञप्ति नै जारी गरेको थियो ।

लगत्तै अख्तियारले अर्को विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको थियो । एक साताप्रति फेरि अख्तियारले थप नौ मुद्दा पुनरावेदन गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *