» काठमाण्डौ बस्ने मनाङी भोट हाल्न गाउँ फर्किँदै

» काठमाण्डौ बस्ने मनाङी भोट हाल्न गाउँ फर्किँदै

समाचार

Sharing is caring!

स्वयम्भूको मनाङ गुम्बाभित्रको एउटा कुनामा मनाङवासीको समूह घाममा माला जप्दै बसिरहेका छन् । केही गुम्बालाई दाहिने पारेर घुम्दैछन् । केही भने बुद्धको मूर्ति अघि घुँडा टेकेर प्रार्थना गर्दैछन् । बाहिर घाम ताप्दै बसेकाहरु चुनावी गफ गर्दैछन् । चुनाव आएसँगै केहीले भोट हाल्न गाउँ जाने योजना बनाउँदै छन् । कोही भने यसपालि गाउँ नजाने अडानमा छन् ।

हरेक वर्षको जाडोयाममा बेसी झर्ने मनाङका कतिपय बासिन्दा अहिले गाउँमै छन् । चिसो बढी हुने भएकाले स्थानीयवासी बेसी झर्ने गर्छन् । न्यानो खोज्दै बेसी झरेका धेरैले स्थानीय उत्पादनको व्यापारसमेत गर्छन् ।

बेसी झरेकामध्ये धेरै त काठमाण्डौ, पोखरा र चितवन जान्छन् । अरु बाँकी बेनी, बाग्लुङलगायत अरु छिमेकी जिल्ला जान्छन् । केही भारतसम्म पनि पुग्छन् ।

अघिल्ला वर्षहरुमा कात्तिकको पहिलो हप्तादेखि नै मनाङीहरु चिसो छल्न बेसी झर्थे । तर यसपालि चुनावले गर्दा उतै रोकिए । भोट हालेपछि मात्रै बेसी झर्ने धेरैको योजना छ । सहरमै बसाइँसराइ गरेका र यसअघि नै बेसी झरेकाहरु पनि गाउँ फर्कने तयारीमा छन् ।

तर, कस्लाई भोट हालेर के भयो र भन्नेहरु पनि छन् । मतदान नै नगरे उम्मेदवारलाई पनि घच्घच्याउन पाइँदैन । त्यसैले भोट हाल्न मात्रै भए पनि गाउँ जान लागेको बताउनु हुन्छ २५ वर्षदेखि काठमाण्डौ बस्दै आउनु भएका नासोँ गाउँपलिकाका दोर्जे बिष्ट ।

मनाङका ८० प्रतिशतभन्दा धेरै बासिन्दा त सहरमा बसाइँसराइ गरिसके । त्यसैले त्यहाँका उम्मेदवारले पहिले मनाङीको बाक्लो बस्ती रहेको काठमाण्डौ, पोखरा अनि चितवनमा पहिले भोट माग्छन् । मतदातालाई आफ्नाे पक्षमा पार्न उम्मेदवारले हेलिकोप्टर नै चार्टर गरेर मतदाता ओसार्ने पनि गरेका छन् ।

भोट हाल्न पनि सजिलै छ । गाउँ गाउँमै मतदान केन्द्र छन् । मतगणना चाहिँ चामे सहरमा हुन्छ । थोरै मतदाता भएकाले हार जित पनि एकै दिनमा थाहा हुन्छ । बेलुका मतगणना सुरु भयो भने अर्को दिन बिहानै हार जित थाहा हुन्छ ।

काठमाण्डौको गैरीगाउँ बस्ने मनाङ नासोँ गाउँपालिकाका अभिप्रसाद पुनेलले गाउँ छोडेको २५ वर्ष पुग्यो । परिवार सबै यतै छन् । यसपालि चुनावमा भोट हाल्न गाउँ जाने तयारी गर्दै हुनुहुन्छ । यहाँबाट गाउँ पुग्न १२ घण्टा लाग्छ । बिहान ६ बजे काठमाण्डौबाट गाडी चढेपछि बेलुका ६ बजे बल्ल तिल्चे पुगिन्छ । लमजुङको बेसीसहरसम्म माइक्रो बस चल्छ ।

बेसीसहरबाट चामेसम्म जीप लाग्छ । घरमा अरुको मतदाता नामावलीमा नाम छैन । आफू र गाउँ वरपरका थप ४० साथीभाइसँगै भोट हाल्न जाने योजना छ पुनेलको । उमेरले ७२ छोयो । गोडाले पनि भर पाउन छाडे ।

तर, पनि उहाँ हरेक चुनावमा भोट हाल्न गाउँ जानु हुन्छ । यसपालि पनि चुनावमा गाउँ जाने तयारी गरिसक्नुभएको छ । ‘गाउँका नेता कार्यकर्ताले भोट हाल्न आउ है भनेका छन् । आफ्नो मताधिकार प्रयोग गर्न अरुले नभने त जानुपर्छ, झन् उनीहरुले निम्तो नै गरेका छन्,’ पुनेल भन्नुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *