» मधेसमा सीके राउतको उदय

» मधेसमा सीके राउतको उदय

समाचार

Sharing is caring!

मधेसका पुराना दलले सत्तास्वार्थकेन्द्रित राजनीति गरेको गुनासो बढिरहेका बेला जनमत पार्टी वैकल्पिक शक्ति बन्ने सम्भावना

जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा नहँुदै सप्तरी–२ बाट उम्मेदवारी दिने बताउँदा मधेसको राजनीति तरंगित बनेको थियो ।

सप्तरी–२ पाँच वर्षअघि जनता समाजवादी पार्टी ९तत्कालीन संघीय समाजवादी फोरम० का अध्यक्ष उपेन्द्र यादवले फराकिलो मतान्तरले जितेको क्षेत्र हो । मधेस आन्दोलनको जगमा राजनीतिमा उदाएका यादव र पृथकतावादी मुद्दा छाडेर मूलधारको राजनीतिमा होमिएका राउत आमनेसामने हुने भएपछि मधेसमा ‘दो शेर, एक मैदान’ भनेर टिप्पणी हुन थाल्यो ।

निर्वाचन घोषणा भएर उम्मेदवारी दिने दिन आइपुग्दा पनि न राउत पछि हटे न यादवले क्षेत्र परिवर्तन गरे । दुवै चुनावी प्रतिस्पर्धामा उत्रेपछि सप्तरी–२ अरूका लागि पनि चासो र चर्चाको केन्द्र बन्यो । तर यसमा राउतले बाजी मार्ने भएका छन् ।

चुनाव जित्दा राउत पहिलो पटक सांसद हुनेछन् । संसदीय निर्वाचनमै उनको यो पहिलो सहभागिता हो । अर्कापट्टि यादवको डेढ दशक लामो संसदीय राजनीतिमा ‘ब्रेक’ लाग्दै छ । मतगणना आखिरीतिर पुग्दा राउत यादवभन्दा दोब्बर मतले अगाडि छन् । त्यही क्षेत्रका दुवै प्रदेशसभा सदस्य राउतको जनमत पार्टीले जितिसकेको छ ।

मधेसको मुद्दा र एजेन्डा बोकेर राजनीतिमा लागेका यादव र उनको दल केन्द्रको सत्तामा पटक–पटक पुगेको थियो । मधेस प्रदेश सरकारमा जसपाले पूरा ५ वर्ष नेतृत्व गर्ने मौका पनि पायो । यसबीचमा जसपा जुटफुट र गठबन्धन अदलबदलबाट पनि गुज्रियो । सत्तामा रहेका बेला मधेसको एजेन्डा सम्बोधन गराउन प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो मधेसमा देखिन्छ । त्यही असन्तुष्टिलाई मतदाताले मतदानबाट अभिव्यक्ति गरेको देखिएको छ । राउत भने परीक्षण हुन बाँकी नेता हुन् । उनको दलका केही नेता गत वैशाख ३० को चुनाव जितेर स्थानीय सरकार चलाइरहेका छन् ।

जसपा नेतृत्वको मधेस सरकारले गरेका गलत क्रियाकलापविरुद्ध र जनजीविकाका पक्षमा जनमत पार्टीले सडकबाट आवाज उठाउँदै आएको थियो । त्यही कारण दुवै दलबीच कार्यकर्ता स्तरमै सम्बन्ध सौहार्द देखिँदैनथ्यो । आम चुनावका लागि घरदैलोमा निस्कने जसपाका उम्मेदवार र नेता–कार्यकर्ताले जनमत पार्टीको चुनावचिह्न लाउडस्पिकरलाई ‘पिपही’ भनेर होच्याउँथे । राउतले भने आफ्नो क्षेत्रमा भ्रष्टाचार नियन्त्रण र रोजगारीलगायत जनजीविकासँग जोडिएका मुद्दा मतदातासँग राख्दै आए ।

गत वैशाखको स्थानीय निर्वाचनमा प्राप्त मतको हिसाब गरेर जनमत पार्टीले सप्तरी–२ नजित्ने अड्कल धेरैले गरेका थिए । तर राउतले आफूप्रति युवा र न्यून आय भएका गरिब तथा दलितमा आकर्षण बढाए । मनोनयनदेखि नै राउतका कार्यकर्ताले गाउँगाउँ पुगेर प्रोजेक्टरमार्फत राउत विभिन्न समयमा पक्राउ गर्दाको भिडियो देखाउँथे । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने क्षेत्रमा पनि राउतको प्रचार गर्थे । यसबाट टोल, बस्ती र चोकमा वृद्धदेखि बच्चासम्मले राउतले चिन्न पाए ।

राउत मुलुकभरिमै थोरै जनसंख्या रहेको राजधोब जातिका हुन् । उनीप्रति निर्वाचनमा देखिएको मतले मधेसमा थररजाति केन्द्रित राजनीति मात्र हुँदैन भन्ने सन्देश पनि दिएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारी तथा विकासको प्रतिबद्धता गरेर जनमत आफूतर्फ तानेका राउत ती प्रतिबद्धता पूरा गर्नेरगराउने भूमिकामा पुग्दै छन् । जनअपेक्षाअनुसार काम गर्न नसके उनलाई अर्को पटक अनुमोदित हुन मुस्किल पर्नेछ ।

यो आम निर्वाचनबाट मधेसमा जनमत पार्टीको उदय हुँदै गर्दा मधेसकेन्द्रित दल जसपा र लोसपालाई धक्का पुगेको छ । एमालेसँग तालमेल गरेको जसपा र सत्ता गठबन्धनसँग तालमेल गरेको लोसपाले अघिल्लो निर्वाचनको तुलनामा कम सिट जित्ने देखिएको छ । जनमत पार्टी अब मधेसमा वैकल्पिक दल बन्ने विश्लेषण हुन थालिसकेको छ । स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी हुँदा उसले १९ वडाध्यक्ष र २ पालिका प्रमुख जितेको थियो । दुवै पालिकाको नेतृत्व जनमत पार्टीले सप्तरीमै जितेको हो । मतदातामाझ यादवको साख खस्केको र राउतलाई जनताले विकल्पका रूपमा मतदान गरेको विश्लेषक सुरेन्द्र लाभ बताउँछन् । ‘लोकतन्त्रमा जनताले विकल्प र अवसर दिन्छन्,’ उनले भने, ‘जनअपेक्षाअनुसार राउतले काम गर्न नसके जनताले फेरि विकल्प रोज्नेछन् ।’

सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा जातीय राजनीतिविरुद्धको आक्रोश सप्तरीका मतदाताले मतमार्फत प्रकट गरेको टिप्पणी गर्छन् । ‘पहिलेका दलले आशाअनुसार काम गर्न नसकेपछि र भ्रष्टाचार एवं परिवारवादको राजनीति बढेपछि मतदाताले यस पटक राउतलाई परीक्षणको मौका दिएका हुन्,’ उनले भने । यो निर्वाचनमार्फत सप्तरी–२ का मतदाताले जातीय राजनीतिविरुद्ध कदम बढाएको पनि उनको भनाइ छ ।

राउत स्वराज आन्दोलनका क्रममा पटकपटक प्रहरीबाट कुटिएका थिए, थुनामा बसेका थिए । पृथकतावादी गतिविधिमा लागेका उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा राजनीतिको मूलधारमा आएका हुन् । त्यसपछि नै उनले जनमत पार्टी गठन गरेर तराई–मधेसमा गतिविधि तीव्र बनाएका थिए । मधेस प्रदेश सरकार र स्थानीय तहमा भएको ‘भ्रष्टाचार’ मामिलालाई राउतको दलले जबर्जस्त ढंगले उठाउँदै आएको थियो । अन्नपूर्णपोष्टबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *