मकवानपुरमा २८ वर्षपछि राप्रपाको ‘कमब्याक’, पाँचौँ प्रयासमा दीपक सिंहको जित

मकवानपुरमा २८ वर्षपछि राप्रपाको ‘कमब्याक’, पाँचौँ प्रयासमा दीपक सिंहको जित

समाचार

Sharing is caring!

बहुदल स्थापनापछि राजनीतिबाट छायाँमा परेको लामो समयपछि राप्रपाले मकवानपुरमा ‘कमब्याक’ गरेको छ ।

बहुदलपछि कम्युनिस्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपाको संसदीय निर्वाचनमा लगातार पराजित हुँदै आएको थियो । राप्रपालाई २८ वर्ष अर्थात् २०५१ सालपछि जित दिलाउने दीपकबहादुर सिंह बनेका छन् । उनले दुई संसदीय निर्वाचन र दुई मेयर निर्वाचन लडेर पराजित भएपछि पाँचौँ पटकको प्रयासमा जित निकाले ।

राप्रपाले अन्तिम पटक २०५१ सालमा कमल थापा विजयी भएर जित निकालेको थियो । त्यसपछिका निर्वाचनमा न कमल थापा जिते न राप्रपाले नै जित्यो । त्यसयता राप्रपाबाट प्रत्यक्ष निर्वाचन जित्न नसकेका उनै थापालाई त्रिपक्षीय प्रतिस्पर्धामा तेस्रो स्थानमा पुर्‍याएर सिंह विजयी बनेका छन् । सिंहले कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ८२ मतान्तरले हराउँदै चुनावी प्रतिस्पर्धामा सफल बने ।

चार पटक प्रत्यक्षतर्फ दुई पटक समानुपातिकमा निर्वाचन हारे पनि चुनावी प्रतिस्पर्धाबाट पछि नहटेका सिंह प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा २५ हजार ६५ मत ल्याएर निर्वाचित भए । डिनाले २४ हजार ३ सय ३० मत पाएकी थिइन् । थापाले २३ हजार ७ सय १४ मत ल्याउँदा तेस्रो बने । देशभर वैकल्पिक शक्तिका रूपमा देखिएका दल र स्वतन्त्रहरूप्रति मतदाताले देखाएको उदारता सिंहलाई मकवानपुरमा मिलेको छ ।

यसअघिका उनको कडा टक्कर २०५६ मा विरोध खतिवडासँग भएको थियो । अन्य निर्वाचनमा भने उनी झिनो मत ल्याएरै रेसबाट आउट हुने गरेका थिए । १ नम्बर क्षेत्रको मतगणनामा सुरुवाती चरणदेखि नै डिना, एमालेका उम्मेदवार थापा र सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको थियो । बागमती गाउँपालिकाको मतपेटिका खोलेर सुरु गरिएको मतगणनामा डिनाले निरन्तर अग्रता लिएकी थिइन् ।

बकैया गाउँपालिकाको मतगणनामा पनि डिनाले अग्रतालाई निरन्तरता दिएकी हुन् । तर, हेटौँडा उपमहानगरपालिकाको मतगणना हुँदा राप्रपाका सिंहले निरन्तर मतान्तर घटाउँदै लगे । सिंहलाई हेटौँडाको ५ र १२ नम्बर वडाले राम्रो मत दिएपछि उनले मतान्तरलाई उल्टो बनाइदिए र डिना दोस्रो स्थानमा झरिन् । सिंहलाई अन्तिममा ९ र १० नम्बर वडाको मतले जिताइदिएको छ ।

सिंहले हालसम्म लडेका कुनै पनि निर्वाचन जितेका थिएनन् । उनी यसअघि दुईवटा संघीय निर्वाचन र दुई पटक हेटौँडाको मेयरमा उठेका थिए । सिंहले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मेयर पदमा अप्रत्याशित मत ल्याएका थिए । हेटौँडामा राप्रपाको संस्थागत मत करिब ६ हजार रहेको अवस्थामा उनले लोकप्रिय मत २० हजार कटाए ।

मेयर पदमा आफ्नो अनपेक्षित मत आएपछि हौसिएका सिंहले प्रतिनिधिसभा निर्वाचन लडेका हुन् । उनको प्रतिस्पर्धा पनि जिल्लामा यसअघि पटक–पटक निर्वाचन हारेकाहरूबीच थियो । डिनाले हालसम्म प्रत्यक्ष निर्वाचन जितेकी छैनन् । उनी दुई पटक समानुपातिक कोटाबाट संसद पुगेकी हुन् । थापाले मकवानपुरमा पटक-पटक नेकपा एमालेका उम्मेदवारसँग पराजय भोग्दै आएका थिए । एमालेका कृष्णप्रसाद दाहालसँग मात्रै उनी तीन पटक पराजित भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *