» “घण्टी” को आवाजले फेरि बिउँझन्छ काठमाण्डौ ?

» “घण्टी” को आवाजले फेरि बिउँझन्छ काठमाण्डौ ?

समाचार

Sharing is caring!

काठमाण्डाैवासी झिसेमिसे बिहानै मन्दिरहरुमा “घण्टी” को आवाजमा बिउँझने र बेलुकी सूर्यास्त लगत्तै घरमै मूलढोका बन्द गरेर बस्ने गर्दा यहाँका सहर–बजार सुनसान हुने गरेको कथा राणाकालीन विवरणहरुमा पढ्न पाइन्छ । अहिले पनि बिहानै मन्दिरहरुमा बजाइने घण्टहरुले काठमाण्डाैवासीको दिनचर्या प्रारम्भ गरिरहेका छन् । तर बेलुकीको वातावरणमा धेरै फरकपना आइसकेको छ ।

यतिबेला देशैभरि सहर बजारमा दिउँसै चुनावी घण्टी बजाउनेहरुले राजनीतिक साथै चिया गफका वातावरण तताइरहेका छन् । गएको चुनावअघि निर्वाचन आयोगले समेत “घण्टी नबजाउन अनुरोध” गर्नुपर्ने अवस्था आउने गरी जनमत माग्न चोक–चोक, घर–घर पसेका “घण्टी” वाहकहरुले त्यसको परिणाम स्वरुप प्राप्त मतको उपयोग गर्दै भविष्यमा प्रतिनिधि सभामा कसरी घण्टी बजाउने हुन् भनी जिज्ञासापूर्ण प्रश्न गरिरहेका छन् । काठमाण्डाैका १० मध्ये ४ र ललितपुरको ३ मध्ये १ प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट अप्रत्याशित विजयी हासिल गरेपछि ती घण्टीवाहकहरुबारे सर्वत्र चासो व्याप्त भएको हो ।

काठमाण्डाैवासीको जीवनशैली नै केही हदसम्म सांस्कृतिक र धार्मिक प्रवृत्तिको छ । २०४३ सालको वैशाख २९ गते सम्पन्न तात्कालीन पञ्चायती व्यवस्था अन्तर्गतको राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा बहुदलीय व्यवस्थापक्षीय स्वतन्त्र बामपन्थी उम्मेदवार पद्मरत्न तुलाधरले उम्मेदवारी दिए लगत्तै यहाँको बजारमा “सूर्य छाप सलाई” को माग ह्वात्तै बढ्न पुग्यो ।

“सूर्य” लाई देवताका रुपमा पूजा गर्ने नेपाली जनमानसमा यस चुनाव चिह्नको प्रचार गर्न धेरै सहज भएको थियो । घर–घरमा “सूर्य” चिह्न र त्यसका उम्मेदवारबारे चर्चा हुने गर्दथ्यो । “सूर्य” चिह्नको लोकप्रियताका कारण नै तत्कालीन नेकपा (एमाले) लाई उपत्यकामा सङ्गठनको जरा गाड्न सहज भएको भन्नेहरुको एमालेमै पनि कमी छैन ।

विगतमा रवि लामिछानेले टेलिभिजनका कार्यक्रमहरुमा साहसपूर्ण प्रस्तुति देखाएकै कारण प्रशंसा गर्नेहरुले तताएको वातावरणमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने अवस्थासम्म आइपुग्दा बढेको लोकप्रियताले केही हदसम्म जनअनुमोदन पाइसकेको छ ।

विद्यमान छिन्नभिन्न र विश्वसनीयता खस्केका राजनीतिक पार्टीहरुद्वारा सञ्चालित सङ्घीय लोकतान्त्रिक व्यवस्था अन्तर्गतको राजनीतिक, सामाजिक र आर्थिक दूरावस्थाप्रति निरन्तर प्रहार गर्दै असङ्गठित व्यक्तिहरुले चलाएको सङ्गठित अभियानको एउटा कडी नै वास्तवमा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म थियो । जसलाई नागरिकले परीक्षणका लागि नै भए पनि पहिलो पटक अपेक्षाकृत अत्यधिक मत दिएका देखिन्छन् । त्यसकारण अहिले घण्टीलाई मत दिनेहरुदेखि घण्टीले अनपेक्षित मत पाएकोमा आश्चर्यचकित भएकाहरु पनि भविष्यमा बन्न सक्ने त्रिशङ्कु सरकार, त्यसका लागि हुनसक्ने विगतमा जस्तै सांसद किनबेच साथै आपराधिक र विकृतिपूर्ण संसदीय अभ्यासमा यस पार्टीको भूमिका कस्तो हुन्छ हेरेर मात्रै ठोस रुपमा त्यस पार्टीबारे धारणा बनाउन सकिने प्रतिक्रिया दिइरहेका छन् ।

यसका साथै जसरी पञ्चायती व्यवस्था विरुद्ध जनमत तयार बनाउन सूर्य चिह्नवाहक उम्मेदवारहरुको भूमिका बनेको थियो, त्यसरी नै वर्तमान सङ्घीय लोकतान्त्रिक व्यवस्था अन्तर्गतका विकृति र विसङ्गतिहरु विरुद्ध जनमत तयार गर्न घण्टी चिह्नवाहकहरुको भूमिका हुने हो ? वा यो भन्दा अगाडि गएर यसका अन्य राजनीतिक, सामाजिक र आर्थिक उद्देश्यहरु पनि छन् ? यस्ता प्रश्न यत्रतत्र सुन्ने र सुनाइने गरिएको छ । सम्पन्न चुनावमा प्रदेश सभातर्फ केही खास–खास व्यक्तित्वहरुले मतदान नगरेका समाचार व्यापक रुपमा प्रचार हुनुले सङ्घीय व्यवस्था अन्तर्गत प्रदेश सभाको विरोधमा आवाजहरु उठिरहेको अवस्थामा त्यसतर्फ इङ्गित गरिएका प्रश्नहरु  पनि जन्माइएका छन् । यस्तो अवस्थामा स्वाभाविकै रुपमा प्रश्न उठ्ने गरेको छ कि के घण्टीको आवाजले फेरि बिउँझन्छ त काठमाण्डाै ? किन बिउँझन्छ ? केका लागि बिउँझन्छ ? चर्चामा आएको नयाँ पार्टीको दीर्घकालीन नीति र योजना के के हुने हुन् ? यस्ता प्रश्नको जवाफ घण्टीवाहकहरुको सङ्गठित दल राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट आउने अपेक्षा लिएर मतदाताहरु बसेका देखिन्छन् ।

ज्येष्ठ विजयी सांसद : कृष्ण गोपाल श्रेष्ठ

३१ वर्षअघि २०४८ सालको माघ २८ गते प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ५ को उपचुनावमा पहिलो पटक सूर्य चिह्न लिएर विजयी हुनुभएका नेकपा (एमाले) का कृष्ण गोपाल श्रेष्ठ यसपटक चौथो पटक विजयी भएर काठमाण्डाैमा एक मात्र एमालेका ज्येष्ठ विजयी सांसद हुनुभएको छ । तात्कालीन काठमाण्डाैको पाँच वटा निर्वाचन क्षेत्र मध्ये पुछारको पाँच नम्बर क्षेत्रमा त्यतिबेला ७४ हजार ६ सय २० मतदाता थिए । जसमा उहाँले ५१ दशमलव १२ प्रतिशित मत प्राप्त गर्नुभएको थियो ।

त्यसअघि २०४८ सालको वैशाख २९ गते सम्पन्न देशमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनर्स्थापनापछिको पहिलो आम चुनावमा काठमाण्डाै १ र ५ दुई ठाउँबाट विजयी हुनुभएका एमाले महासचिव मदन भण्डारीले राजीनामा दिएपछि खाली भएको त्यस क्षेत्रमा पहिलो पटक श्रेष्ठलाई एमालेले उम्मेदवारका रुपमा अगाडि ल्याएको थियो । यसरी वर्तमानमा प्रतिनिधि सभामा तीन दशक अघिदेखिको अनुभव प्राप्त गर्नेमा श्रेष्ठ एक्लो काठमाण्डाैका जनप्रतिनिधि हुनुभएको छ  ।

यसबाहेक यस चुनावमा तीन दशकीय संसदीय यात्राका पात्रहरु २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचनबाट विजयी भएका तात्कालीन एमाले र वर्तमानमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठ, २०५६ साल जेठ १२ गते सम्पन्न निर्वाचनमा काठमाण्डौकै ३ नम्बर क्षेत्रबाट विजयी भएका ईश्वर पोखरेल र ललितपुरको २ नम्बर क्षेत्रबाट एमालेबाटै विजयी भएर अहिले नेकपा (एकीकृत समाजवादी) मा रहेका कृष्णलाल महर्जनले पनि उम्मेदवारी दिनुभएको थियो । तर उहाँहरु तीनैजनाले सफलता प्राप्त गर्न सक्नुभएन । अन्त्यमा, यसपटक सूर्य ध्वजावाहक भएर विजयी ज्येष्ठ कृष्णगोपाल श्रेष्ठले पनि “यो नै मेरो अन्तिम निर्वाचन हुनेछ” भनेर बोलेको सञ्चारमा आइसकेको छ । यसलाई वर्तमान युवा लहरका सन्दर्भमा सकारात्मक रुपमै लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *