समानुपातिकमा ‘थ्रेस होल्ड’ को सीमा काट्न नसकेका दलहरु प्रक्रियाबाटै बाहिरिने

समानुपातिकमा ‘थ्रेस होल्ड’ को सीमा काट्न नसकेका दलहरु प्रक्रियाबाटै बाहिरिने

समाचार

Sharing is caring!

प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुनेतर्फको सम्पूर्ण परिणाम आइनसक्दै समानुपातिकतर्फको चुनावमा निर्वाचित हुनेको चर्चा सुरु भएको छ । सामान्य रुपमा बुझ्दा  पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेदवारहरु विजयी हुन्छन् ।

नेपालको निर्वाचित प्रणाली मिश्रित निर्वाचित प्रणाली हो, सङ्घीय संसद् र प्रदेश सभा (संसद्) दुवैमा लागू गरिएको छ । पहिलो हुने निर्वाचित प्रणालीबारे बुझ्न सहज भए पनि समानुपातिक निर्वाचित प्रणालीबाट निर्वाचित हुने प्रक्रिया अलि जटिल र प्राविधिक पक्ष रहेको छ ।

नेपालले समानुपातिक निर्वाचित प्रणाली विश्वका धेरै देशमा लागू भएको सेन्ट लग विधिलाई प्रयोग गरेर पार्टीले पाएको मतबाट निर्वाचित उम्मेदवारको सङ्ख्या निकाल्छ । यसरी प्राप्त सङ्ख्यालाई समानुपातिक समूहको प्रतिशतको आधारमा दलले सूचिकृत गरेका उम्मेदवार प्राथमिकता अनुसार निर्वाचित हुनेछन् ।

समानुपातिकतर्फको चुनावमा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित हुने उम्मेदवारले प्रभाव परेको हुन्छ । त्यसैले समानुपातिक तर्फको चुनावको लागि सबैभन्दा पहिला निर्वाचित हुने विधिवत् निर्वाचित हुनेको मत परिणामसहितको अन्तिम नतिजा आउनुपर्छ ।

अन्तिम नतिजा आएपछि त्यसपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ । यसरी प्राप्त सदर मतलाई चुनावमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अङ्कलाई थ्रेस होल्ड बनाइन्छ । अहिले प्रतिनिधि सभाको चुनावमा ४७ वटा दलहरुले भाग लिएका छन् ।

३ प्रतिशतको अङ्कलाई थ्रेस होल्ड अङ्क निकालेपछि प्रतिनिधि सभाको चुनावमा भाग लिएका  ४७ वटा दलहरुले समानुपातिकतर्फको चुनावमा पाएको मत र थ्रेस होल्डको अङ्कसँग तुलना गरिन्छ । यस्तो तुलनामा थ्रेस होल्डको सीमा पार गरेका दलहरु र सीमा काट्न नसकेका दलहरु विभाजन गरिन्छ ।

थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरु समानुपातिकतर्फको चुनावमा विजयी सङ्ख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाट बाहिरिन्छन् । बाहिरिएका दलसँगै ती दलहरुले प्राप्त गरेको मतसमेत समानुपातिक चुनावमा प्राप्त कुल सदर मतबाट घटाइन्छ । यसरी घटेर प्राप्त भएको मत यसपछि समानुपातिकतर्फको चुनावमा विजयी सङ्ख्या पाउन योग्य हुन्छ । यसरी योग्य दल र मतको छनोट हुन्छ ।

समानुपातिकतर्फको चुनावमा निर्वाचित सिट निकाल्ने प्रक्रिया

सङ्घीय संसद्को प्रतिनिधि सभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ११० सिट निर्धारण गरिएको छ ।  थ्रेस होल्ड पार गरेका दलले पाएको समानुपातिकको मत अनुसार निर्वाचित सिट निकालिन्छ । यसपछि समानुपातिक तर्फको विजयी सिट निकाल्न सेन्ट लग विधि प्रयोग गरिन्छ । यसको लागि १ देखि बढेको ११० वटा बिजोर भाजक निकालिन्छ । यी सबै बिजोर भाजकले समानुपातिक तर्फको चुनाव प्रक्रियामा योग्य (थ्रेस होल्ड काटेका) दलले पाएको मतलाई भाज्य मान्दै भाग गर्छ । १ टेबलमा सबै दलको भाज्य अङ्कलाई भाग गर्दै जाँदा विभिन्न भागफल निस्कँदै जान्छ । यसरी निस्केको भागफलको ठूलो अङ्क निर्वाचित सिट हो । यो भनेको १ देखि ११० वटा बिजोर भाजक २१९ सम्म हुन्छ ।

दलले प्राप्त गरेको सबै मत परिणामलाई २१९ सम्मले भाग गर्दा फरकफरक भागफल आउँछ । प्रत्येक बिजोर अङ्कले भाग गर्दा त्यो महलमा प्राप्त भागफलहरु मध्य जुन दलको भागफल बढी हुन्छ त्यो निर्वाचित सिट हुन्छ । यो भनेको पहिलो ठूलो भागफल दोश्रो ठूलो भागफल गर्दै क्रमश: ११० वटा ठूलो भागफल निस्कँदै जान्छ ती सबै निर्वाचित सिट हुन् । यसरी निस्कने भागफल सबै महलमा एकै दलको नहुन सक्छ । जसको जसको भागफल हो त्यो अनुसार दलले जितेको सिट मान्दै जोडिन्छ, अनि दलको  कुल विजयी सिट निस्कन्छ । यो क्रम ११० वटा सिट निर्वाचित नहुन्जेल जारी रहन्छ । स्वभावतः दलले प्राप्त गरेको मत परिणाम अनुसार सिट निर्वाचित हुन्छन् । यो भनेको धेरै मत धेरै सिट, थोरै मत थोरै सिट पनि हो । यसरी दलले समानुपातिक चुनावमा विजयी सिट प्राप्त गर्दछन् ।

विजयी सिटमा क्लस्टर विभाजन प्रक्रिया

समानुपातिक चुनावमा विजयी सिट निस्केपछि दलले क्लस्टर भित्र प्राथमिकता क्रममा  रहेका उम्मेदवार निर्वाचित सिफारिस गर्दछन् । यसरी सिफारिस गर्दा त्यो दलको राष्ट्रिय सभामा रहेका  र प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको सङ्ख्याले कुन क्लस्टरमा कति चुनाव गर्ने निर्धारण हुन्छ । तर संविधानमा भएको व्यवस्था अनुसार दलित १३ दशमलव ८ प्रतिशत, आदिवासी जनजाति २८ दशमलव ७ प्रतिशत, मधेसी १५ दशमलव ३ प्रतिशत, थारु ६ दशमलव ६ प्रतिशत, मुस्लिम ४ दशमलव ४ प्रतिशत र खस आर्य ३१ दशमलव २ प्रतिशत निर्वाचित भएको हुनुपर्छ । यी सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ । यसका साथै समानुपातिक चुनावमा पिछडिएको क्षेत्रबाट र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।

समानुपातिक चुनाव प्रणालीमा भाग लिन कम्तीमा ११ जनाको सूची बुझाएको हुनुपर्छ । यसरी सबै दलले क्लस्टर मिलाएर ११० जनाको सूची निर्वाचन आयाेगमा पेस गरेका हुन्छन् । अब कुनै दलले ११ जनाको समानुपातिकतर्फ विजयी सिट पायो भने क्लस्टर अनुसार कसरी निर्वाचित गराउँछ त ? ११ जनामा सबैको प्रतिशत अनुसार विभाजन गर्दा आदिवासी जनजाति ३ जना, खस आर्य ३ जना, थारु १ जना, दलित २ जना, मधेसी २ जना गरी ११ जना निर्वाचित हुन्छन् । यो ११ जनामध्ये ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ । तर क्लस्टरमा निर्वाचित हुनेको सङ्ख्या नघटाइ त्यो दलको प्रत्यक्षतर्फ निर्वाचित र राष्ट्रिय सभामा रहेका सांसदको सङ्ख्या र प्रतिनिधित्व हुने क्लस्टरले समानुपातिकमा निर्वाचित हुने समूहमा असर गरेको हुन्छ ।

समानुपातिक चुनावको सिट बाँडफाँट गरेपछि दलले प्रत्यक्षमा कति सिट पायो कति सिट जित्यो, राष्ट्रिय सभामा कति जना सांसदहरु हुनुहुन्छ ? ती मध्ये कति महिला छन् ? भन्ने हिसाब गरेर संविधानको व्यवस्था अनुसार सङ्घीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । यसको लागि निर्वाचन आयोगले सबै सर्त राखेर क्लस्टर अनुसार निर्वाचित भएको प्राथमिकताक्रम उपलब्ध गराउन पत्राचार गर्दछ । पत्राचारपछि प्राप्त प्राथमिकताक्रम प्रतिनिधित्वको प्रतिशत हेरेर निर्वाचन आयाेगले विभिन्न दलबाट समानुपातिक प्रणालीमा निर्वाचित व्यक्तिहरुको सूचि प्रकाशित गर्दछ । यसरी सङ्घीय संसद्को प्रतिनिधि सभाको समानुपातिक चुनावमा दलले पाएको मतबाट उम्मेदवार व्यक्ति निर्वाचित हुन्छन् ।

समानुपातिकतर्फको चुनाव प्रक्रिया सङ्घीय संसद् र प्रदेश सभा

मूलभूत रुपमा सङ्घीय संसद् र प्रदेश सभामा लागू भएको चुनाव प्रणाली उस्तै हो । सङ्घीय संसद् दुई सदनात्मक हुने भएकाले माथिल्लो सदन (राष्ट्रिय सभा) को निर्वाचन प्रक्रिया अलग छ तर प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने तथा समानुपातिकतर्फ निर्वाचित हुने प्रक्रिया एकै हो । यद्यपि समानुपातिक तर्फको थ्रेस होल्ड (प्रदेश सभाको समानुपातिक चुनावको थ्रेस होल्ड १ दशमलव ५ प्रतिशत) र केही क्लस्टर र त्यसको प्रतिशत फरक छ । तुलनात्मक रुपमा हेर्दा प्रतिनिधि सभा भन्दा प्रदेश सभा अझ बढी समावेशी देखिन्छ । साथै समावेशी क्लस्टरको प्रतिशत प्रदेश अनुसार फरकफरक छ ।

उदाहरणको लागि प्रदेश १ मा समानुपातिक चुनावमा मधेसी समूहबाट निर्वाचित हुने प्रतिशत ७ दशमलव ५ प्रतिशत छ भने मधेस प्रदेशमा ५४ दशमलव ३६ प्रतिशत छ । यस्तै बाग्मती प्रदेशमा मुस्लिम ० दशमलव ६७ प्रतिशत निर्वाचित हुने व्यवस्था छ तर मधेस प्रदेशमा ११ दशमलव ५८ प्रतिशत छ ।

यो भनेको समानुपातिक समूहमा रहेको जनसङ्ख्याको उपस्थिति फरक भएकाले प्रदेश अनुसार निर्वाचित सङ्ख्या घटीबढी भएको हो । प्रदेश सभामा निर्वाचित हुने समानुपातिक समूहमा अल्पसङ्ख्यक समूह पनि छ, यो समूह प्रतिनिधि सभामा छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *