» निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

» निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

समाचार

Sharing is caring!

काठमाण्डाै – प्रधामन्त्री पुष्पकमल दाहालले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि  दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताउनुभएको छ । सोमवार काठमाण्डौमा आयोजित ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारका न्यूनतम साझा कार्यक्रममा सुशासन, प्रभावकारी भूमिका प्रवाह, समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन र संरचना फेर्ने कुरा, अन्तरनिहीत निकाय समन्वयको प्रभावकारी व्यवस्था र अनुगमन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको बताउनु भयो । प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजीबजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले ठूला परियोजनामा मात्र नभइ नविनतम बैंकिङ्ग तथा वित्तीय उत्पादन प्रयोग गरी आम नागरिकको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ्ग क्षेत्रले योगदान गर्न जरुरी रहेको बताउनु भयो । उहाँले वित्तीय सेवाहरुको विस्तारमा डिजिटल बैंकिङ्गको अवधारणा भित्रिएको भन्दै यसको सही सदुपयोग गर्दै बहुभाषिक र बहुसांस्कृतिक हाम्रो देशमा हरेक समुदायमा समान रुपले बैंकिङ्ग सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले रेमिट्यान्स, कर्जा, यसले निम्त्याउने आयात र जग्गाको कारोबारको वृद्धिले गर्दा कतै न कतै संरचनागत रुपमा अर्थतन्त्र अप्ठ्याराेमा रहेको भन्दै जनसङ्ख्याको लाभ लिएर आर्थिक वृद्धिलाई गति दिनुपर्ने बेला रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले युवालाई उत्पादनका क्षेत्रमा लाभदायी रोजगारी तथा उद्यमका अवसरमा लगाउनु पनि सरकारको लागि चुनौती रहेकाले जटिल र चुनौतीपूर्ण अवस्थाबाट सफल अवतरण गर्न सकारले तत्काल केही सुधार र केही संरचनागत सुधार गर्नुपर्ने बताउनु भयो ।

उहाँले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।  कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा सोच्न राष्ट्र बैंकसँग आग्रह गर्नुभयो । यस्तै, मुख्य सचिव शंकरदाश बैरागीले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखा परेका बताउनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *