भारतको उत्तराखण्डको जोशीमठ सहरका घर र सडकहरूमा अचानक चिरा देखिन थालेपछि दर्जनौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । एकजना जिल्ला अधिकारीले उक्त क्षेत्रलाई ुप्रकोप जोखिमयुक्तु घोषित गरिएको बताएका छन् ।
विस्तारै जमिन भासिँदै गइरहेकाले अहिलेसम्म ६०० वटा भन्दा बढी घर चर्किसकेका छन् । अधिकारीहरूले पीडित परिवारलाई सुख्खा राशन र आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिएका छन् ।
जोशीमठ रहेको चामोली जिल्लाका मजिस्ट्रेट हिमांशु खुरानाले यस स्थितिमा सहयोग पुर्याउने उद्देश्यले संघीय सरकारको दुईवटा टोली पनि सहरतर्फ आउँदै गरेको बताएका छन् ।
अहिलेसम्म ६८ वटा परिवारलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । उनीहरूलाई सुरक्षित क्षेत्रका होटेल तथा गेस्ट हाउसहरूमा राखिएको छ ।
अन्य थप परिवारलाई पनि त्यहाँबाट सारिने योजना रहेको छ । पर्यावरणीय रूपमा नाजुक हिमाली क्षेत्रमा रहेको जोशीमठका स्थानीय वासिन्दाले लामो समयदेखि खतरालाई लिएर आवाज उठाउँदै आएका थिए ।
तर, फराकिला चिराहरू देखिएपछि बल्ल हालै मात्र सञ्चार माध्यमले यस समस्यालाई व्यापक प्राथमिकता दिन थालेका हुन् ।
गत साता एउटा राष्ट्रिय राजमार्गमा हजारौँ प्रदर्शनकारीले अवरोध पुर्याएपछि स्थानीय अधिकारीहरूले त्यहाँ सञ्चालित थुप्रै निर्माण परियोजना रोकेका थिए । प्रदर्शनकारीहरूले ती निर्माण कार्यकै कारण यो समस्या आएको बताएका छन् ।
बीबीसीबाट ।