काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेवियामा एक-अर्काविरुद्ध खेल्न सम्भावना बढेको छ । मेस्सी सम्मिलित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ‘विन्टर टूर’ अन्तर्गत साउदी अरेवियामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
साउदी अरेवियामा पीएसजीले साउदी क्लब अल नासर र अल हिलालका खेलाडी सम्मिलित टिमविरुद्ध मैत्रीपूर्ण खेल्ने गिभमिस्पोर्टसले जनाएको छ । खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् ।
गत डिसेम्बरमा कतारमा अर्जेन्टिनाले विश्वकप जितेपछि १५ दिन बिदा लिएका मेस्सी गत सातादेखि पिएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन् । फेब्रुअरीमा ३८ वर्ष पूरा हुने रोनाल्डोले सन् २०२५ सम्मका लागि २० करोड युरो (करिब २१ करोड ४० लाख अमेरिकी डलर) भन्दा बढी मूल्यको सम्झौतामा सहमति जनाएपछि अल नासरमा सामेल हुने भएका हुन् ।
सन् २०३० मा ग्रीस र इजिप्टसँग मिलेर विश्वकप आयोजना गर्ने सम्भावित संयुक्त प्रयासअघि साउदी अरेबियाले देशमा फुटबलको प्रोफाइल सुधार्न खोजिरहेको बेला फ्रान्सेली रुडी गार्सियाको प्रशिक्षणमा अल नासरमा पोचुगाली स्टार रोनाल्डोको आगमन भएको हो । रोनाल्डो र मेस्सीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् ।
उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौडानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए । उक्त समय मेसी बार्सिलोनाका लागि र रोनाल्डोले रियल म्याड्रिडका लागि खेलेका थिए । रियाद क्लब अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सर्वाधिक सफल टोली हुन् ।