काठमाण्डाै – नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो ।
नाबालिग बला.त्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले गएको कात्तिक १८ गते मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
धरौटी रकम जम्मा भएपछि आज उनलाई थुनामुक्त गराइने छ । उच्च अदालतले लामिछानेबाट धरौटीस्वरूप २० लाख रुपैयाँ नगद वा बैंक जमानत मात्रै स्वीकार गर्ने, जेथा राख्न नपाइने भनेको छ । धरौटीमा छाड्दै अदालतले सन्दीपलाई सर्तसमेत राखेको छ।
मुद्दाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ । त्यस्तै जाहेरीकर्ता र उनका परिवारसँग भेटघाट, सम्पर्क, त्रास, दबाब नदिन र उनीहरूलक्षित कुनै सामग्री सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा टीप्पणी नगर्न भनिएको छ । सर्त उल्लङ्घन भए आदेश स्वतः निष्क्रिय हुने अदालतको आदेशमा उल्लेख छ।
सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीप उच्च अदालत पुगेका थिए। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो। यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।
लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेरसम्बन्धी विवाद भएपछि इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।