काठमाडौं । बला’त्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै उच्च अदालत पाटनले विदेश जान रोक लगाएकाे छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयाे ।
उहाँका अनुसार अदालतले धराैटीमा छाड्न आदेश दिए पनि लामिछानेलाई विदेश जान राेक लगाइएकाे छ । एक नाबालिकालाई बला’त्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उक्त मुद्दामा पूर्पक्षको सुनुवाइ गर्दै जिल्लाले थुनामा पठाएपछि त्यसलाई चुनौती दिँदै लामिछानेले उच्च अदालत पाटनमा मंसिर २९ गते निवेदन दिएका थिए। उच्चको यो आदेशपछि लामिछाने बिहीबार नै तोकिएको धरौटी बुझाएर रिहा हुने तयारीमा छन्।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो । प्रहरीका अनुसार काठमाडौंको एक कलेजमा प्लस टु अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो ।