» नेपाल एअरलाइन्सकाे इलाम–काठमाण्डौ उडान आजदेखि

» नेपाल एअरलाइन्सकाे इलाम–काठमाण्डौ उडान आजदेखि

समाचार

Sharing is caring!

इलाम – नेपाल एअरलाइन्सले आजदेखि इलाम–काठमाण्डाै उडान सुरु गरेकाे छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन  सुरु भएकाे हाे ।

हप्तामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एअरलाइन्सबीच सहमति समेत भएकाे थियाे । इलाम नगरपालिका–९ मा रहेको फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गएकाे वर्ष इलाम नगरपालिकाले तारा एअरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको थियाे।

विमानबाट इलाम–काठमाण्डाै करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज करिब बिहान ८ बजे काठमाण्डाैबाट उडान गर्ने तालिका रहेको थियाे । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाण्डाैका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगरका मेयर केदार थापाले बताउनुभयो । उहाँले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको जानकारी दिनुभयो ।

इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ । इलामबाट काठमाण्डाैको एकतर्फी भाडा छ हजार तीन सय रुपैयाँ तोकिएको छ । काठमाण्डाैबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय रुपैयाँ तोकिएको छ  । तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

यात्रुले इलाम बजारमा रहेकाे सिटीमार्टको पहिलो तलाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ ।

पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । यस विमानस्थल छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *