पोखरा बिमान दुर्घटनाले स्वदेशमा मात्र हैन बिदेशमा समेत शोक छाएको छ । बिदेशी १५ जनाले यो फ्लाइटमा ज्यान गुमाएका छन् । यसैमध्येकी एक हुन् रुसी नागरिक इलिना बान्डुरो । उनी घुम्नका लागि नेपाल आएकी थिईन् । उनले नेपाल आउँदै गर्दा नेपाल जाउँ भन्दै इन्स्टाग्राममा स्टोरी समेत राखेकी थिइन्। उनी हिजोमात्र नेपाल आइपुगेकी थिइन् ।
नेपाल आएपछि पोखरा जाँदै गरेकी उनले इन्स्टाग्राम स्टोरीमा माछापुच्छ्रेको फोटोसँग आफ्नो फोटो राख्दै ‘गो टु नेपाल’ लेखेकी थिइन् । उनको यो नै अन्तिम लेखाई बनेको छ । आजको दुर्घटनामा मात्र चार जना रुसी नागरिकले ज्यान गुमाएका छन् ।
आज दुर्घटनामा परेको विमानमा उनीसँगै चार जना अन्य रसियन नागरिक सवार थिए । तीमध्ये दुई महिला र दुई पुरुष हुन् ।नागरिक उड्डयन प्राधिकरणले आज बिहान काठमाडौंबाट १०: ३२ बजे पोखराको लागि उडेको यति एयरको विमान १०:५० बजे सेती खोज भन्ने स्थानमा अन्तिम पटक सम्पर्कमा आएको र त्यसको केही मिनेटमै दुर्घटना भएको जनाएको छ ।
उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार थिए । तीमध्ये २५ महिला, ३७ पुरुष तीन बालक र तीन शिशु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रशियन, दुई कोरियन, आयरल्याण्ड, अस्ट्रेलियन, अर्जेन्टनी, फ्रान्सेली एक/एक जना नागरिक सवार थिए ।हालसम्म ६८ जनाको शव भेटिएको जनाइएको छ ।