» पललाई तनहुँ जिल्ला अदालतबाट सफाइ, तर जेलमै बस्नुपर्छ

» पललाई तनहुँ जिल्ला अदालतबाट सफाइ, तर जेलमै बस्नुपर्छ

समाचार

Sharing is caring!

नवलपुर जिल्ला अदालतले तोकेको साढे दुई वर्षको कैद सजाय भुक्तान गर्नुपर्ने

नाबालिका जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन् । मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहविरुद्ध लागेको बलात्कार अभियोगमा दाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए । तर, सोही प्रकृतिको मुद्दामा नवलपुर अदालतले २१ भदौमा दुई वर्ष ६ महिना कैदको फैसला सुनाएकाले शाहले भुक्तानका लागि जेलमै बस्नुपर्नेछ ।

शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएको उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए । ‘तनहुँमा पललाई नाबालिका करणी गरेको भनेर जुन अभियोग लगाइएको थियो, तनहुँ जिल्ला अदालतबाट त्यो पुष्टि भएन,’ उनले भने, ‘त्यसैले शाहले सो अदालतबाट पूर्ण रूपमा सफाइ पाउनुभएको छ ।’ फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । त्यसका लागि केही समय लाग्ने वाग्लेले बताए ।

शाहविरुद्ध १७ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी ११ फागुनमा तनहुँ प्रहरीमा परेको थियो । शाह प्रहरी कार्यालयमा आफैँ उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले १० चैतमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

नवलपुर जिल्लाअदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन
पल शाहलाई नाबालिका बलात्कार अभियोगमा दोषी ठहर गर्दै साढे दुई वर्षको जेल सजाय सुनाएको नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता भएको छ ।

शाहका कानुन व्यवसायी वाग्लेले उच्चबाट आउने फैसलाका आधारमा शाह जेलमुक्त हुने–नहुने टुंगो लाग्ने बताए । ‘उच्च अदालत पोखराबाट सफाइ पाउनुभयो भने मात्र उहाँ कारागारबाट छुट्नुहुन्छ, नत्र कारागारमै बस्नुपर्छ,’ उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *