पोखरा । दुबईबाट छुट्टीमा घर फर्किंदै थिए, पोखरा–३०, खुँदीका ४५ वर्षीय नवराज तिमिल्सिना । सोही विमानमा उनी दुर्घटनामा परे । उनका आफन्त दुई दिनदेखि अस्पतालमा शव कुरेर बसेका छन् । उनका ज्वाइँ प्रशान्त आचार्य अस्पताल प्रशासनको ढिलाइले शव बुझ्न नपाएको गुनासो गर्छन् ।
मृतक नवराजका बाबुआमा पनि निराश छन् । चार वर्षीय छोरा काखमा लिएर आएकी श्रीमती बोल्न सक्ने अवस्थामै छैनन् । त्यस्तै, पोखरा खुँदीकै धनबहादुर गुरुङ पनि चिन्तित छन् । उनका ४३ वर्षीय श्रीमती जीवनकला र ४० वर्षीय भाइ पूर्णबहादुरले विमान दुर्घटनामा ज्यान गुमाएका छन् । भाउजूको उपचार गर्न भाइ पूर्णबहादुर गत २६ पुसमा काठमाडौं गएर यतीकै विमानमा फर्किंदै थिए । तर, दुर्घटनाको दुई दिन बित्दासमेत शव बुझ्न नपाएपछि धनबहादुर निराश हुँदै घर फर्के ।
पोखरामा आइतबार भएको यती एअर दुर्घटनाका मृतक परिवार तथा आफन्तले दुई दिन बित्दासमेत शव बुझ्न पाएका छैनन् । मलिन मुद्रामा आफन्त पोखरा रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव कुरेर बसेका छन् । पहिचान भएका शवको समेत पोस्टमार्टम ढिलाइ भएको छ । ढिलाइकै कारण परिवारका सदस्य तथा आफन्त थप बज्रपात सहन बाध्य छन् । अस्पतालका अनुसार एउटा शव पोस्टमार्टम गर्न ढेडदेखि दुई घण्टासम्म लाग्छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
सयौं आफन्त शव बुझ्न सोमबार दिनभर कुरेरै बसेका थिए । तर, शव पहिचान भइसकेपछि पनि पोस्टमार्टम ढिलाइका कारण शव प्राप्त गर्न सकेका थिएनन् । अस्पताल प्रशासनले बिहान ९ बजेदेखि नै आफन्तलाई शव बुझाउने सूचना जारी गरे पनि ढिलाइले केहीबेर नाराबाजीसमेत भएको थियो ।
मङ्गलबार मात्र शव बुझाउने तयारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको थियो । मृतकका आफन्तहरू दिनभर शव प्राप्त गर्ने प्रतीक्षामा अस्पतालमा बसेको भए पनि शव प्राप्त गर्न नसक्दा निराश भएरका छन् । शल्य परीक्षण ढिला हुँदा मृतकका आफन्तले आज शव बुझ्न सकेका छैनन् ।