नेपालका राजनीतिक समीकरणहरु बन्ने भत्कने क्रम जारी रहेका बेला आन्तरिक राजनीतिमा खेल्नका लागि भारतीय जासुस सामन्त गोयल दुई दिनका लागि नेपाल आएर फर्किएको पाइएको छ।
नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि विकसित भएको नयाँ परिस्थितिमा राजनीतिक दलका मुख्य नेताहरुसँग कुरा गर्नका लागि उनी नेपाल आएका थिए। उनको साथमा जासुसहरुको एउटा सानो टिम नै रहेको बताइएको छ।
समाचारअनुसार, स्थलमार्गबाट काठमाडौं आइपुगेका भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले आएकै दिन पशुपतिनाथको दर्शन गरेका थिए। पशुपतिको दर्शनपछि उनले राजनीतिक भेटघाट गरेको बताइएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टा छुट्टै भेट गरेका थिए।
यी भेटहरुमा के के कुरा भए भन्नेबारे कहीं कसैले केही पनि बताएको छैन। नेकपा एमालेको एक उच्च सूत्रका अनुसार, गोयल आएर चलखेल गरेकोबारे एमाले अध्यक्ष केपी ओलीलाई जानकारी भने छ।
गोयलले यसपटक ओलीसँग भेट गरे नगरेको स्पष्ट भएको छैन। गोयल काठमाडौंबाट स्थलमार्ग हुँदै फर्किएको भोलिपल्ट नेपाली कांग्रेसकी नेतृ एवं पूर्वप्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली उडेकी थिइन्।