सानो दूधे बालक र प्रिय जीवन संगिनी छट्पटिँदा केही गर्न नपाउँदा कति पीडा भयो होला तिमीलाई, साथी तिमीसँगै बुढो हुने चाहना सदाको लागि अपूरै रह्यो !

सानो दूधे बालक र प्रिय जीवन संगिनी छट्पटिँदा केही गर्न नपाउँदा कति पीडा भयो होला तिमीलाई, साथी तिमीसँगै बुढो हुने चाहना सदाको लागि अपूरै रह्यो !

समाचार

Sharing is caring!

मेरो जिन्दगीको कालो दिन, माघ १ गते । पोखरामा जहाज दुर्घटनाको खबर सुन्दै मन कुँडियो, त्यसपछि यात्रुको नाममा तिमी, भाउजू र छोरा देखेपछि मनमा ढ्याङ्ग्रो ठोक्यो। बिरामी हेर्ने र कसैसँग बोल्ने त आँट नै आएन। निसासिएर अस्पताल बाहिर आएँ र भगवानसँग प्रार्थना गर्न थालेँ तिम्रो, परिवार र अरूको जीवितै उद्धार होस् भनेर।

जिन्दगीमा भगवानसँग कहिले यसरी भिक मागिनँ होला। तर भगवानले पनि हामी कसैको पुकार सुनेनन् अनि अन्ततः पोखरा खबर गर्दा तिम्रो पार्थीव शरीरको पहिचान भइसक्यो भन्ने थाहा पाएँ। मेरा हातखुट्टा फतक्कै गले, आँखा वरिपरि कालो बादल जस्तो भयो, चिटचिट पसिना छुट्यो, मुटुको धड्कन एक्कासी बढ्न थाल्यो। दिमागले केही सोच्न र सम्झनै सकेन। त्यहाँ बसिरहने हालत नभएर छुट्टी मागी घर हिँडेँ।

आफू काठमाडौं, तिमी पोखरा तुरुन्त पुग्ने सम्भव नि रहेन। १८ वर्षदेखिको गहिरो सम्बन्धले होला घर आउँदा मेरो परिवारै शोकमा डुबेको थियो। केही नबोली कोठामा पसिहालेँ। ग्वाँ-ग्वाँ रुन मन थियो तर चाहेर पनि आँसु झरेन, मनमा ढुङ्गाले थिचे जस्तो भयो।

मैबाट नाता जोडिएका परिवारको सदस्य सब शोकाकुल छन् तर म निःशब्द छु। अझै मलाई यो झुटो हो, एउटा दर्दनाक सपना हो जस्तो लागिरह्यो। यथार्थलाई मैले स्विकार्न सकिनँ। त्यसपछि लगातार आएका फोनले झन् विचलित गरायो। साँच्चै नै मेरो आत्मीयता मित्र मलाई छोडेर गएकै हो त? त्यसपछि सँगै बिताएका पलहरू आँखासामु अचानक घुम्न थाले।

मलाई अझै याद छ त्यो दिन, हामी दुवैजना डाक्टर बन्ने सपना बोकेर काठमाडौँ मेडिकल कलेजमा भर्ना भएको। परिचयको क्रममा संयोगबस हामी दुवैको नाम सुशिल रहेको अनि जन्मदिन पनि एउटै भएको। त्यसैले होला हामी साथीभन्दा नि जुम्लाहा दाजुभाइ जस्तो आत्मीय बन्यौँ। पहिलो भेटमै मनमा छुटै आत्मियता बसिहल्यो। साँढे पाँच वर्षको लामो पढाइ कति चाँडै बित्यो पत्तै भएन।

होस्टेलमा सँगै बसेको, रमाइलो गरेको, बदमासी गरेको, परीक्षा अगाडि रातभर सँगै कफी पिउँदै पढेको, सँगै रातभर काम गरेको, परीक्षामा समेत सधैँ सँगै परेको। यो समयमा हामी मात्र नभएर हाम्रो परिवार पनि एक भइसकेका थिए। हामीमध्ये एकजना बिरामी पर्दा अर्कोले स्याहार गर्थ्यो अनि कहिलेकाहीँ त आफै बिरामी पर्थ्यौं।

सँगै काम गर्ने अनि उच्च शिक्षाको लागि तयारी भनेर फेरि सँगै पोखरामा बसियो। तिम्रै घरमा आफ्नो छोरा झैं खानपान र आराम पाएँ। एकातिर तयारी अघि बढ्यो त अर्कातिर प्रगाढ सम्बन्ध। फ्ल्याटमा बसे नि सँगै, तिम्रो घर गएनी सँगै। हाम्रो एउटै नाम, एउटै काम अनि सधैँ सँगै मिलेर बसेको देखेर कत्ति त हाम्रो मित्रता देखेर डाह गर्थे अनि कोही त यिनीहरू केटा र केटी भाको भएनी बिहे गर्दिन हुन्थ्यो भन्थे। यो सुशिलको जोडी त भगवानले पठाएको हो। नाम, जन्म, पढाइ, पेसा सब एउटै।

विवाहपश्चात् हाम्रो सम्बन्ध अझ गाढा भयो अनि नयाँ-नयाँ यादहरू थपिँदै गए। केही समयमै हाम्रो जीवन यात्रा फिल्ममा घुमेजस्तै भयो। त्यो फेवा तालमा छुट्टीमा घुमेको, जिएमसीमा सँगै काम गरेको, फेवा ताल र बेगनास बसेर माछा खाएको, नयाँ वर्षमा रमाएको, पामेतिर सँगै साइक्लिङ गरेको, बिहान-बिहान साइक्लिङ गर्दै दूध र पाउरोटी बोकी ‘यो बाहुन तिमीहरूको बुढाबुढी कति धेरै सुतेको, बिहे गरेपछि बाहुन अल्छी भए’ भन्दै हाम्रो क्वार्टरमा आएको। सँगै पढेर मैले पिजी र तिमीले लोकसेवा निकालेको।

यो सब सम्झँदा समय कत्ति चाँडो बितेको जस्तो लाग्छ। श्रीमतीले सधैं तपाईं भाग्यमानी हो, तपाईंको मित्रता देखेर मलाई पनि आफ्नो जीवनमा त्यो प्रिय मित्रको कमी हुन्छ भन्थिन्। आज मलाई आफू सबैभन्दा अभागी लाग्छ। आखिर छुट्टिनु नै रहेछ त यति माया र साथ किन दियौ जुन बिना अब जिन्दगीमा अपूरो हुनेभयो। अचानक पुराना याद धमिलिन थाले, सामाजिक सञ्जालभरि तिम्रा तस्बिर देखेपछि मनमा छटपटी भयो।

पूरै जिन्दगी अरूको उपचारमा सुम्पियौ तर आज तिमी र तिम्रो परिवार मृत्युको दोसाँधमा हुँदा मद्दत गर्ने कोही भएन। मैले स्वयं यति धेरै बिरामीको उपचार गरेँ तर साथी तिम्रो लागि केही गर्न सकिनँ। तिमीले अन्तिम सास लिँदा अंगालो हाल्न सकिनँ, एक घुट्की पानी दिन सकिनँ। एकदम लाचार भएर भगवानलाई हात जोड्न बाहेक केही गर्न सकिनँ।

सुनेको थिएँ भगवानले नि राम्रै मान्छेलाई लैजान्छ रे, तिमी यति राम्रो नै किन भयौ? जीवनमा अब खुसी हुँदा, तनाव हुँदा, म कसलाई फोन गरुँ? भर्खर त तिम्रो जिन्दगीमा खुसीको किरण भित्रँदै थियो, अचानक कालो बादलले छोपिदियो। तिम्रो नामको फोन कहिल्यै नआउने भयो अब। तिमीबिनाको जन्मदिन अब के रमाइलो हुन्छ र? तिमीबिनाको पोखरा अब मेरो लागि के पोखरा हुन्छ र?

अस्तिभर्खर वर्ल्डकप हेरेनौ भनी सोध्दा ‘बाबुको आँखा बिग्रन्छ त्यही भएर खासै हेर्दिनँ’ भन्थ्यौ, आज जहाजभित्र बाबु आत्तिँदा कस्तो भयो होला तिमीलाई! धुवाँको कालो मुस्लोले काखको छोरो निसासिँदा कसरी तड्पियौं होला तिमी! सारा बिरामीलाई इमरजेन्सीमा लेराउँदा दौडिँदै अक्सिजन बोकेर आयौ तर सानो दूधे बालक र प्रिय जीवन संगिनीलाई छटपटिँदा केही गर्न नपाउँदा कति पीडा भयो होला तिमीलाई! त्यो आगोको मुस्लोले कति पोल्यो होला।

जिन्दगीमा एउटा चुरोटको ठुटो नबाल्ने तिमी आज सपरिवार जिउँदै जल्यौ। अन्तिम पटक तिम्रो अनुहारसम्म हेर्न नपाउने कति अभागी रहेछौँ हामी! तिमी आफू त गयौ-गयौ, तिमीसँग जोडिएकालाई समेत सँगै लाग्यौ। अब तिमी मात्र हाम्रो यादमा सीमित रह्यौ। आधा रात भइसक्यो, निन्द्रा पटक्कै लागेन। आँखाबाट अविरल आँसुका धारा बगिरहेका छन्। बिहान पोखराको लागि हिँड्नुछ। आँखाले नदेखिन्जेल अझै पोखरामा भेट्छु कि जस्तो झल्को आइरहेको छ।

तिमीलाई अन्तिम बिदाइ गर्न मन छ तर तिमी र परिवारलाई त्यो डढेको मुडोको रूपमा हेर्ने हिम्मत छैन, रोग र शोकमा डुबेका तिम्रा वृद्ध आमाबुबालाई कसरी भेट्नु? म साथीलाई त यति पीडा भएको छ भने पूरै छोराको परिवारै नासिँदा कस्तो पीडा भाको होला ती जन्म दिने बाबाआमालाई! म त कल्पनासम्म पनि गर्न सक्दिनँ।

भाग्यमा जे लेखेथ्यो त्यति मात्र पाइन्छ भन्थे तर मन सम्हाल्न नसकिने रहेछ। भगवानले तिम्रो परिवारलाई यो पीडा सहन सक्ने शक्ति दियोस्। तिम्रो वैकुण्ठमा बास हुन्छ, त्यसमा कुनै शंकै छैन। साथी, अर्को जुनी हुने भए बिन्ती यति छोटो आयु लिएर नआऊ है! यो जीवनमा मेरो तिमीसँगै बुढो हुने चाहना सदाको लागि अपूरै रह्यो। अलबिदा मित्र अनि अलबिदा पोखरा। (सेतोपाटी बाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *