कास्की । क्याप्टेन कमल केसीको पुर्ख्यौली गाउँ शोकमा डुबेको छ । इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुर्ख्यौली घरमा रहेकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरु भेला हुने गरेका छन् ।
दसैँमा सबै जना जमघट भएर निकै रमाइलो गरिएको थियो । कमलले गाउँलेहरुसँग पनि भेटघाट गरेका थिएँ”, उनले भनिन्, “अब सम्झिनुबाहेक केही रहेन । यो जन्ममा यत्तिकै हुने भो ।” घरधन्दामा व्यस्त रहेका बेला आफूलाई नाताले बुहारी पर्ने स्थानीय अप्सरा केसीले कमलले चलाएको जहाज दुर्घटनामा परेको भनेर सुनाएपछि रोएरै दिनरात बिताएको देवीले जानकारी दिइन् ।
देवर गुमाउनुको पीडाले आफूहरुलाई काम गर्ने उत्साह पनि नआएको अप्सराले बताइन् । “यसरी अकालमा कोही पनि मर्न नपरोस्”, उनले भनिन्, “हामी जस्तै धेरैको परिवार शोकमा पर्नुभएको छ । सबैको आत्माले शान्ति पाओस् ।” काठमाडौँबाट हरेक पटक गाउँ आउँदा आफूलगायत गाउँका बासिन्दालाई कमलले सन्चोबिसन्चो सोध्ने गर्थे ।
माघे सङ्क्रान्तिको पर्व मनाउने तयारीमा आफूहरु रहेपनि दुर्घटनामा कमल परेको खबरले आफूहरुको भोकप्यास हराएको स्थानीय छिमेकी ६१ वर्षीया कृष्णा रानाभाटले बताइन् । “हामी गाउँलेलाई अभिभावक नै गुमाएको जस्तो भएको छ,” रानाभाटले भनिन् ।
आफूहरुले क्याप्टेन कमलकी कान्छी आमा देवीलाई सम्झाउने र सान्त्वना दिने गर्दै आएको उनले बताइन् । क्याप्टेन कमलको मृत्युको शोकमा बुबाआमालगायत श्रीमती शिलु र छोराहरुलगायत अर्धचेत अवस्थामा छन् । क्याप्टेन कमल अनुभवी पाइटलमा गनिन्थे । उनी ७२ सिट हुने एटिआर विमानको प्रशिक्षक पाइलटसमेत थिए ।