हिमपात र वर्षाले भूकम्प पीडितको बिचल्ली, कठ्याङ्ग्रिँदो चिसोमा पालमुनि बिताए रात

हिमपात र वर्षाले भूकम्प पीडितको बिचल्ली, कठ्याङ्ग्रिँदो चिसोमा पालमुनि बिताए रात

समाचार

Sharing is caring!

काठमाण्डाै – हिमपात र वर्षाले भूकम्प पीडितको बिचल्ली भएको छ । हिजो दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर बाजुरामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । यस्तै, बझाङमा पनि केही घाइते भएका छन्  ।

भूकम्पका कारण बाजुराका धेरै घरहरु चर्किएका र केही भत्किएका छन् । फेरि भूकम्प आउने डरले पीडितहरुले खेतबारी र चौरमा पाल टाँगेर रात बिताएका छन् । केहीले भने प्लाष्टिकले बेरबार पारेर रात कटाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा अस्ति रातिदेखि लगातारजसो पानी परिरहेको छ ।

यस्तै, हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण भूकम्प पीडित थप प्रभावित भएका छन् । लगातारजसो परेको वर्षाले कठ्याङ्ग्रिँदो चिसो छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार अहिले पनि पानी परिरहेको छ । पानी परिरहेकाले भूकम्पबाट भएको क्षतिको सङ्कलन र उद्धारमा कठिनाइ भएको  उहाँले बताउनुभयो । उहाँका अनुसार बेलाबेला बिजुली बत्ती जाने आउने भइरहेको छ ।

भूकम्पबाट कति विस्थापित भए भन्ने जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो । अहिलेसम्म ३०  वटा घरमा क्षति पुगेको जानकारी आएको उहाँले बताउनुभयो । यस्तै, ४० वटा भेडालाई पहिरोले पुरेको खबर प्राप्त भएको पनि उहाँले बताउनुभयो । यस्तै, बझाङमा पनि भूकम्पको क्षतिबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *