बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, ८ जना मन्त्रीको सपथग्रहण

बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, ८ जना मन्त्रीको सपथग्रहण

समाचार

Sharing is caring!

हेटौंडा । बागमती प्रदेशमा आज मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । यस प्रदेशमा ११ वटा मन्त्रालयको टुङ्गो लागेसंगै मन्त्रिपरिषद्ले पनि आज पूर्णता पाएको हो । आज मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आठ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको हो ।

आज नेकपा एमालेबाट ३ जना, नेकपा माओवादी केन्द्रबाट ३ जना र राप्रपाबाट २ जना मन्त्री नियुक्त भएर सपथग्रहण गरेका हुन् । ८ जना मन्त्रीहरुलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले सपथग्रहण गराउनु भयो । मन्त्रिपरिषद्मा तीन दलको सहभागिता रहेको छ । यस प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागवण्डा गरेर मन्त्रालयहरु लिएका छन् ।

एमालेका तर्फबाट मकवानपुरका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी लिएर सपथग्रहण गर्नु भएको छ । त्यसैगरी ललितपुरका एमालेका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एमालेका काठमाडौंका सांसद केशब प्रसाद पोख्रेलले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ । मन्त्रीमा नियुक्त भएलगतै मन्त्रीहरुले सपथग्रहण गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकका सांसद युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री, मकवानपुरका माओबादीकी सांसद कुमारी मोक्तान फेरी पनि सामाजिक विकास मन्त्री, सिन्धुलीका माओबादीका सांसद गंगानारायण श्रेष्ठ आन्तरिक मामिला मन्त्री तथा कानून मन्त्रीमा नियुक्त भएर सपथग्रहण गर्नु भएको छ । यसैगरी राप्रपाका उद्धब थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री हुनु भएको छ । त्यसैगरी राप्रपाका तर्फबाट पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा धादिङ्गका सांसद डम्मबर तामाङ र वन तथा वातावरण मन्त्रीमा काठमाण्डौं जिल्लाका सांसद राजु विष्ठ मन्त्रीमा नियुक्त हुनु भएको हो । नियुक्त भएलगतै प्रदेश प्रमुख शर्माले सपथग्रहण गराउनुभयो ।

सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेशका प्रथम मुख्यमन्त्री डोरमिण पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, प्रदेशका सांसदहरु, मन्त्रालयका सचिबहरु लगायतकाको सहभागिता रहेको थियो ।

बागमती प्रदेशका ११ जना मन्त्रीहरु यी हुन् ।

१, शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२, जगन्नाथ थपलिया, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
३, उद्धव थापा, मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
४, गंगा नारायण श्रेष्ठ, मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
५, कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय
६, युवराज दुलाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
७, केशव प्रसाद पोखरेल, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
८, रामेश्वर श्रेष्ठ,मन्त्री, स्वास्थ्य मन्त्रालय
९, एका लाल श्रेष्ठ, मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१०, डम्बर तामाङ, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११, राजु विष्ट, मन्त्री, वन तथा वातावरण मन्त्रालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *