भौगोलिक हिसाबले बझाङको आधा भन्दा बढी क्षेत्र ओगटेको र जिल्लाको सबै भन्दा दुर्गम साइपाल गाउँपालिकाको इङ्गलदारको पुल निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले पटक पटक दबाब दिएपछि पुल निर्माणको काम सम्पन्न भएको हो । पुल निर्माण कम्पनीले हेलिकप्टरमार्फत् निर्माण सामग्री ढुवानी गरेर सेती नदीमा झोलुङ्गे पुल निर्माणकाे काम सम्पन्न गरेको हो । झोलुङ्गेपुल निर्माणको लागि आवश्यक पर्ने लट्ठा, फलामे सामान, सिमेन्ट लगायत सम्पूर्ण सामानहरु हेलिकप्टरमार्फत ढुवानी गरेको निर्माण कम्पनीले जनाएको छ ।
इङ्गलदारमा पुल नहुँदा यहाँका नागरिकले निकै जोखिम मोलेर वारपार गर्नु पर्ने बाध्यता थियो । अहिले त्यो बाध्यताबाट छुटकारा मिलेको छ । एक वर्ष पहिलासम्म साइपाल गाउँपालिकाको सहयोगमा र स्थानीयको सक्रीयतामा काठेपुल निर्माण गर्ने प्रचलन थियो जुन अहिले अन्त्य भएको छ । इङ्गलदारमा पुल बनेपछि यहाँका नागरिक निकै खुसी बनेका छन् ।
बर्खाको उर्लँदो भेलमा काठको साँघुको सहायताले खोला तथा नदी पार गर्दा अत्यन्त जोखिम हुने गरेको थियो । स्थानीय मिलन धामी भन्नुहुन्छ, ‘अहिले त पुल निर्माण भएको छ । ढुक्क तरिकाले वारपार गर्न सकिन्छ । पहिला ज्यान हत्केलामा राखेर वारपार गर्नुपर्ने बाध्यता थियो । अहिले त्यो टरेको छ।’
पुलले तिब्बतको मानसरोवर कैलाश जाने तीर्थ यात्री, चिनको ताक्लाकोट जाने व्यापारी तथा स्थानीय सबैजनालाई सहज भएको छ । यही ठाउँमा काठेपुलबाट खसेर २०७५ सालमा एकै घरका तीन जना किशोरको ज्यान गएको थियो । ‘पुल नहुँदा साह्रै जोखिम थियो । एउटा काठको सहारामा नदी तर्दा काठ भाँचिने डर हुन्थ्यो । राम्रोसँग अडिएको छैन भने हल्लिएर पनि मान्छे बीच भंगालोमा खस्ने उत्तिकै डर सम्भावना रहन्थ्याे,’ धामी भन्नुहुन्छ ।
नदी तथा खोलामा आएको बाढीले साँघु पनि पटक पटक बगाउने गरेको र काठ खोज्न दु:ख हुने गरेको बताउँदै स्थानीय कालु धामी भन्नुहुन्छ, ‘लेकाली क्षेत्रमा साँघु बनाउनका लागि भने जस्तो काठ पनि पाइँदैन थियो । कहिलेकाहीँ त काठ नपाएका कारण साँघु बनाउन नसकेर १/२ दिनसम्म ओडार मै बस्नु पर्ने बाध्यता हुन्थ्यो । काठेपुल पनि दिगो हुँदैन थियो । बर्खाको समयमा उर्लँदो भेलले बगाएर लैजान्थ्यो । अब यो समस्याबाट छुटकारा मिलेको छ । कति दिन त आफूले पालेका भेडा च्यांग्राहरु यही खोलामा परेर मरेका छन् । अब ढुक्क तरिकाले वारपार गर्न सकिने भइयाे ।’
मुख्य नाका मानिने इङ्गलदारमा पुल निर्माणपछि सेती नदी वारपार गर्न ज्यानको बाजी थापेर जानु पर्ने बाध्यता टरेको साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेस बझाङका सहसचिव राजेन्द्र धामीले बताए । उहाँले भन्नुभयाे, ‘झोलुङ्गे पुल नभएका कारण साँघुको भरपर्दा साइपाल हिमालको बेसक्याम्प र तिब्बततिर जाने कतिपय पर्यटक र स्थानीयहरु खोला बढेको बेला साँघु तर्न नसकेर गन्तव्यमा नपुगी फर्किने गरेका थिए । अब त्यो झन्झट टरेको छ’ ।