आईसीयूमै पुगेर प्रेमप्रसाद आचार्यलाई भेटेपछि तोसिमा कार्कीलाई लगाईयो यस्तो आरोप, अस्पतालले छानबिन गर्ने

आईसीयूमै पुगेर प्रेमप्रसाद आचार्यलाई भेटेपछि तोसिमा कार्कीलाई लगाईयो यस्तो आरोप, अस्पतालले छानबिन गर्ने

समाचार

Sharing is caring!

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले मंगलबार साँझ कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा पुगेर त्यहाँ उपचाररत प्रेमप्रसाद आचार्यलाई भेटिन् । आचार्यले बानेश्वरको संसद भवन अगाडि शरीरमा आगो लगाएका थिए ।

तोसिमाले आईसीयूमा बिरामी भेटेको भिडियो बाहिर आएपछि विवाद उत्पन्न भएको हो । आफैं डाक्टर भएर पनि आईसीयूको संवेदनशीलतामा ध्यान नदिएको आरोप उनीमाथि लागेको छ । आईसीयूभित्र भिडिओ कसरी खिचियो भन्ने विषयमा छानबिन गरिरहेको अस्पताल स्रोतले बतायो ।

अस्पतालको आईसीयूमा पुगेकी कार्कीका साथमा अन्य व्यक्तिहरु पनि थिए । जबकि आईसीयूमा एकचोटिमा एकजनाभन्दा बढीलाई प्रवेश गर्न अनुमति हुँदैन ।

साथै तोसिमाले हातमा पञ्जा नलगाइकन बिरामी छोएको विषयमा पनि प्रश्न उठेको छ । तोसिमा स्वयम् एक जनरल सर्जन हुन् । आईसीयूभित्र क्यामेरा र मिडिया पर्सनसहित छिरेर स्टन्ट गरेको भनेरसमेत उनको आलोचना गरिएको छ ।

आईसीयूको भिडिओ सार्वजनिक भएपछि सुजन गौतमले डा. तोसिमा कार्कीलाई मेन्सन गर्दै लेखेका छन्, ‘बिरामी भेट्न जानुपर्थ्यो ठीक भयो । तर, राज्यमन्त्री डा. तोसिमा कार्कीज्यूलाई मेरो प्रश्नः तपाईं आफैं डाक्टर हो नि ! आईसीयूमा रहेका सिरियस बिरामीलाई भेट्न जाँदा मिडिया लैजान मिल्छ ? त्यो ठाउँको संवेदनशीलतालाई किन गम्भीर रुपमा लिनु भएन ? मिडियाबाजी गरेर हिट हुने विचार गर्नु भाको हो र ?’

के छ आईसीयूको प्रोटोकलमा ?

अस्पतालहरुले आईसीयूको प्रोटोकल आआफ्नै बनाएका हुन्छन् । रोगको प्रकृति हेरेर आईसीयूको प्रोटोकल बनाइने भक्तपुर अस्पतालका सुपरिटेन्डेन्ट सुमित्रा गौतम बताउँछिन् । उनका अनुसार प्रायजसो अस्पतालहरुको आईसीयूमा भिडिओ खिच्न निषेध गरिएको हुन्छ । मास्क-पञ्जा र गाउन पनि अधिकांश अस्पतालमा अनिवार्य गरिएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा पनि फोटो/भिडिओ खिच्न नपाइने प्रोटोकल रहेको अस्पतालले जनाएको छ । आईसीयूमा एक जनाभन्दा बढी जान नपाइने र गएका व्यक्तिले मास्क, पञ्जा र एप्रोन अनिवार्य लगाउनुपर्ने अस्पताल स्रोतले बतायो ।

अस्पताल भन्छ : छानबिन गर्दैछौं

अस्पतालको आईसीयू प्रोटोकलअनुसार आईसीयूमा भिडिओ फोटो खिच्न नपाइने कीर्तिपुर बर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा. नितिना ताम्राकारले बताइन् । आईसीयूको भिडिओ कसरी बाहिरियो भन्ने विषयमा छानबिन भइरहेको उनको भनाइ छ ।

‘त्यो भिडिओ आईसीयूमा भएका नर्सहरुले खिचेको होइन । राज्यमन्त्रीसँग आएका कुनै व्यक्तिले खिचेको हुनुपर्छ’, उनले दाबी गरिन् ।डा. ताम्राकारका अनुसार मंगलबार साँझपख स्वास्थ्य राज्यमन्त्री कार्की आफ्ना पीएसओ र केही व्यक्तिहरुसहित आईसीयूमा प्रवेश गरेकी थिइन् ।

‘उहाँ हिजो साँझ आउनुभएको रहेछ । त्यो हामी पनि हेरिराखेका छौं । तर, फोटो खिच्न निषेध छ । त्यस्तो ठाउँमा फोटो खिच्नेले सोच्नुपर्थ्यो’, उनले भनिन्, ‘आईसीयूमा मास्क, एप्रोन र पञ्जा अनिवार्य छ । बर्न इन्फेक्सन हुने भएकाले लगाउनैपर्छ ।’

स्वास्थ्य राज्यमन्त्रीले पञ्जा नलगाएको विषयमा पनि छानबिन भइरहेको उनले बताइन् । आईसीयू प्रोटोकल पालना नगरेको विषयमा बुझ्न हामीले पटक-पटक स्वास्थ्य राज्यमन्त्री कार्कीलाई फोन सम्पर्क गर्दा उनले फोन उठाइनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *