जहाजभित्र मान्छे जलिरहेका थिए, त्यस्तो अवस्थामा कसरी टुलुटुलु हेरेर बस्न सक्थें र ?

जहाजभित्र मान्छे जलिरहेका थिए, त्यस्तो अवस्थामा कसरी टुलुटुलु हेरेर बस्न सक्थें र ?

समाचार

Sharing is caring!

जहाज दुर्घटना हुनुअघि जहाज कस्तो अवस्थामा उडिरहेको थियो र कसरी खसेको देख्नुभयो ?
पश्चिम तर्फबाट नयाँ विमानस्थलमा अवतरण गर्ने जहाज (काठमाडौंबाट आउने जहाज लेखनाथबाट सोझै पूर्वतर्फबाट अवतरण गर्न सहज भए पनि पूर्व र पश्चिम दुवैतर्फबाट उडान र अवतरण गर्न मिल्ने गरी नयाँ विमानस्थलमा सुविधा छ।) पहिले पनि हाम्रो घर बस्तीमाथिको आकाश हुँदै उड्थ्यो। माघ १ गते बिहान पौने ११ को हुँदो हो (दुर्घटना भएपछि घडी नहेरी उद्धारमा खटिनुपरेकोले समय ख्याल भएन) म घर अगाडि घाम ताप्दै चिया खाँदै थिएँ। जहाज पहिले झै उडिरहेको थियो। तर, उडिरहने उचाइभन्दा कम उचाइमा थियो। जहाज अरू बेलाको जस्तो सिधैं नउडेर ढलपल–ढलपल गर्दै कोल्टे पर्दै गयो र हेर्दा हेर्दै सेती किनारको पश्चिमतर्फ धसिँदै पूर्वतिर हाम्रो घरै अगाडिसम्मको सेती किनारमा आइपुग्यो।

जहाज त्यसरी खस्दा खसेको स्थान वरपर र बस्तीमा कस्तो अवस्था सृजना भएको थियो ?
जहाज सेती नदीको पश्चिमतर्फ बाँसघारी हुँदै धसिएर सेतीमा बजारिएसँगै घर नै हल्लिएको थियो। बस्ती वरपर नै भूकम्प आएको जस्तो कम्पन महसुस भएको थियो। जहाज बजारिएसँगै धुवाँको मुस्लो निस्कन थाल्यो। दुर्घटनास्थल वरपर मानिसको आवातजावत नभएको र बस्ती जोगिने गरी दुर्घटना भएकोले जमिनमा भएकालाई भने केही भएन। शान्त वातावरण थियो। जहाज एक्कासि खसेसँगै सेतीको किनार र वरपर मात्र होइन पोखरा बजार नै डरलाग्दो अवस्थामा परिणत भयो।

जहाज दुर्घटना लगतै सबैभन्दा पहिले तपाईं पुगेर उद्धार गर्नु भएको हो भन्ने छ नि, कसरी उद्धारमा जुट्ने सहास आयो ?
जहाज हेर्दाहेर्दै घरै अगाडि खसेपछि खै म कसरी बलिरहेको जहाज छेउ पुगे मेसै पाइनँ। त्यतिबेला एक्कासि मेरो दिमागमा जलिरहेको जहाजमा मान्छे छन् र उनीहरूलाई जसरी पनि बचाउनु पर्छ भन्ने मात्र आयो। त्यसैअनुसार दिमागले काम गरेछ र जहाज खसेको ठाउँमा दौडेर पुगिहालेछु। बलिरहेको जहाजको वास्ता नै नगरी जहाज बाहिर उछिट्टिएका मान्छेहरूको उद्धारमा लागें।

दुर्घटना भएको जहाज नजिकै पुग्दा पहिला कस्तो दृश्य देख्नुभयो र कसरी उद्धार गर्नु भयो ?
जहाज दुर्घटनास्थल नजिकै पुग्दा पहिले एक जना महिलालाई देखें। त्यसपछि यत्रतत्र मान्छे छरिएको देखें। म नै पहिला त्यो घटनास्थल पुगेर उद्धार गरें। गुहार माग्दै मैले छरिएका मान्छेहरूलाई एक ठाउँमा राख्ने काम गर्न थालेँ। त्यसपछि अरू पनि आइपुग्नुभयो र उद्धारमा लाग्नुभयो। उद्धारको क्रममा सुरक्षाकर्मी नआउँदै ७ जना जतिलाई छरिएको अवस्थाबाट तानेर ल्याउने काम भयो।

यसरी उद्धारको क्रममा यत्रतत्र छरिएर रहेका मान्छेको अवस्था कस्तो थियो ?
उद्धारका क्रममा दुई जनाको अलिअलि धड्कन भएको जस्तो लागेर हामीले तत्कालै बाहिर निकाल्यौं। बाहिर नेपाल आर्मीको गाडी आइसकेको थियो। त्यसैमा मसमेत बसेर दुई जनालाई तत्कालै गण्डकी अस्पतालमा लगियो। तर, त्यस्तो ठूलो दुर्घटनामा परेको मान्छे खै कसरी बाँच्नु र। बाँच्न सक्ने अवस्था नै थिएन। अरू उद्धार गरिएकालाई प्रहरी, आर्मीले अस्पताल लग्नुभयो।

उद्धारमा खटिँदै गर्दा के कस्तो कठिनाइ भयो ?
—बलिरहेको जहाज नजिकै उद्धारमा खटिँदा आगोको राप थियो। तातो आगोको रापमा उद्धारमा खटिँदा अप्ठ्याराभन्दा पनि मानवीयताले बढी काम गर्दो रहेछ। जहाजभित्र मान्छे जलिरहेका छन्। त्यस्तो दृश्य कसरी टुलुटुलु हेर्न सकिन्छ र ? त्यस्तो भयानाक दुर्घटना हुँदा म सकेसम्म मान्छे बचाउनुपर्छ भनेर खटिएको हुँ। तत्कालै उद्धारमा खटिँदा पनि एक जना पनि बचाउन सकिएन। सम्झदा दुःख लाग्छ।

जहाज कस्तो अवस्था थियो त्यतिबेला ?
जहाज घर नजिकै खस्दा कोलाहल त हुने नै भयो। सेतीको वारिपारि दुवैति बस्ती छ। दुवैतर्फको बस्ती जोगिने गरी जहाज कसरी कसरी सेतीमा खस्यो। सम्झँदै झसङ्ग हुने घटना भयो। घरै अगाडि त्यत्रो चालक दलका ४ जनासहित ७२ जना सवार जहाज दुर्घटना भएको रातदेखि ३ रात म सुत्नै सकिनँ। रात, दिन त्यही घटनाको दृश्य आँखा वरिपरि आइरह्यो। अझै पनि बेलाबेलामा झसङ्ग हुन्छु।

त्यो घटनापछि अहिले तपाईलाई कस्तो छ ?
अझै पनि त्यो कहालीलाग्दो घट्ना याद आउँदा झसङ्ग हुन्छ। दुर्घटनामा परी ज्यान गुमाउनेको मोक्ष प्राप्तिका लागि आइतबार दुर्घटनास्थलमा दीप प्रज्ज्वलन तथा मोन्लम (प्रणिधान) पाठ वाचन भएको थियो। पाठ गर्नु हुने लामाले मेरो सातो पनि फुक्नुभयो। अहिले भने अलि ठीक हुँदै गएको छ। दुर्घटनाबाट हाम्रो घर बस्ती जोगियो। तर, हामीले जहाजमा भएका कसैलाई बचाउन सकेनौं दुःख लाग्छ।

दुर्घटना भएपछि कति समय पछि सुरक्षाकर्मी, एम्बुलेन्स र दकमल आइपुग्यो होला ?
घटना भएको दस मिनेटभित्रै बस्तीमै पानी लिएर आएको पानी ट्यांकरलाई आगो निभाउन स्थानीयले यहाँ पठाउनु भएको थियो। ट्यांकरले छिटोछिटो आगो निभाउन सजिलो भएको थियो। त्यसपछि विमानस्थलका दमकलहरू पनि ठाउँ एकिन नहुँदा सेतीपारि हुँदै आएर आगो निभाउने काम गरे। नेपाल प्रहरी, सशस्त्रप्रहरी, नेपाल आर्मी र स्थानीय सबै उद्धारमा खटिहाल्नु भयो।

विमान दुर्घटना भएपछि मान्छेहरूको भीड पनि बढेको थियो। कस्तो अवस्था थियो ?
त्यहाँ उद्धारमा लाग्नेभन्दा टिकटक बनाउने र फोटो भिडियो खिच्नेको भीड पनि देखियो। यस्तो भीडका कारण उद्धारमा आएका एम्बुलेन्स, दमकल आउन पनि समस्या भएको थियो।

पहिले यस्तो दुर्घटना देख्नु भएको थियो ?
मैले अहिलेसम्म प्रत्यक्ष रूपमा आँखा अगाडि गाडी दुर्घटना भएको पनि देखेको थिइनँ। एक्कासि यस्तो भयानक दुर्घटना भएको देख्दा अझै पनि झसङ्ग हुन्छु। अब यस्तो घटना नदोहोरियोस् भन्ने कामना पनि गर्छु। यस्तो दुर्घटना फेरि नदोहोरिन पुराना जहाज हटाएर नयाँ जहाज चलाउनुपर्छ जस्तो लाग्छ। सरकार पनि यस्ता कुरामा सचेत भएर त्यसतर्फ लाग्नुपर्छ।

बस्ती नजिकै बस्ती जोगिने गरी सेतीमा जहाज खस्यो। त्यतिबेला र त्यसपछि स्थानीयको अवस्था कस्तो छ ?
त्यतिबेला घरमै जहाज खस्छ कि भन्ने त्रासको अवस्था थियो। बस्ती जोगिने गरी जहाज खस्यो तर कसैलाई बचाउन सकेनौ फेरि दोहो¥याएर भन्छु साह्रै दुःख लाग्छ। घटनामा पर्नु भएका सबैजनाले शान्ति पाउन त्यही नै चाहन्छु।

अहिले घटना स्थलको अवस्था कस्तो छ ?
अहिले घटनास्थल वरपर घटनामा पर्नु भएका आफन्त, साथी–भाइ, गाउँले र जहाज दुर्घटना भएको हेर्न आउनेको संख्या धेरै नै हुने गरेको छ। दैनिक जसो साँझ मृत आत्माको शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन पनि हुने गरेको छ। धार्मिक रीतिअनुसार पूजापाठ पनि भइरहेको छ।

तपाई कति वर्षको हुनु भयो। के काम गर्नु हुन्छ ?
२३ वर्षको भएँ। म दुर्घटनास्थल देखि १५ मिटर नजिकैको पोखरा १५ नयाँगाउँस्थित सेती किनारमा बस्छु। ६ कक्षा सम्म पढेर स्कुल छाडें। घरमा रङ लगाउने काम गर्छु। अहिले दुई महिना भयो काम पनि पाएको छैन। आमा रोजगारीका लागि ८÷९ वर्ष देखि कुवेतमा हुनुहुन्छ। बुवा मिस्त्रीको काम गर्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *