आफ्नो देशमा आउन पनि नाराबाजी गर्नुपर्ने सरकार भन्छ–सीमासम्म आइपुगेका नेपालीलाई अलपत्र पर्न दिँदैनौं

आफ्नो देशमा आउन पनि नाराबाजी गर्नुपर्ने ? सरकार भन्छ–सीमासम्म आइपुगेका नेपालीलाई अलपत्र पर्न दिँदैनौं

समाचार

Sharing is caring!

काठमाडौं । भारतका विभिन्न स्थानमा स्वदेश फर्किन चाहेका नेपाली नागरिकहरु अलपत्र परेका छन् ।

धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् भने नयाँदिल्लीसहित अन्य क्षेत्रमा पनि सयौँ नेपाली अलपत्र अवस्थामा परेको समाचार सार्वजनिक भइरहेका छन् ।

भारतमा रहेका केही नेपालीले आफूहरु नेपाल जान चाहेको तर जाने व्यवस्था नभएकाले अलपत्र परेको बताएको भारतीय सञ्चारमाध्यमले पनि उल्लेख गरेका छन् ।

कति संख्यामा नेपालीहरु अलपत्र परेका छन् भन्नेबारेमा एकिन तथ्यांक नभए पनि धार्चुलामा कम्तिमा पनि पाँचसय नेपाली अलपत्र अवस्थामा रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुले ‘आफ्ना जनता फिर्ता ले’ ‘नेपाली नाका फिर्ता गर’ भन्दै लगातार नाराबाजी गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

उनीहरुले नेपाल फर्किन पाउनुपर्ने माग गरेका छन् ।

प्रमुख प्रतिपक्षसहित सत्तारुढ दलका नेताहरुले पनि कोरोनाका कारण अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो देशमा आउन पनि नाराजुलुस गर्नुपर्ने यो के हो ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, “आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ? दार्चुला सदरमुकाम पारि भारतको धार्चुलामा रहेका सयौँ नेपालीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकासँग जोडदार माग गर्दछु ।”

नेपाली कांग्रेसका नेता गगन थापाले पनि केहीदिनदेखि भारतका विभिन्न सहरहरुबाट अलपत्र परेका नेपालीले उद्धारका लागि टेलिफोन गरेको भन्दै तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले पनि सामाजिक सञ्जालमार्फत आग्रह गर्दैै भनेका छन्, “केही दिनदेखि भारतको विभिन्न सहरबाट अलपत्र परेका नेपालीहरुले टेलिफोनमार्फत उनीहरुको व्यथा बताइरहेका छन् । थाहा छ, यो व्यवस्थापन गर्न गाह्रो छ तर पनि ती नेपाली दाजुभाइ, दिदीबहिनीको हालत सम्झँदा मन व्याकुल हुने रहेछ । तत्काल केही पहल गर्न अनुरोध गर्दछु ।”

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश मामिल विभाग उपप्रमुख विष्णु रिजालले बन्दाबन्दी कारण मर्कामा परेका र भारतमा अलपत्र हालतमा रहेका आफ्ना नागरिकको उद्धार गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

खासगरी पश्चिम, सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकहरू अझै भारतका अड्किएको, धेरैको मजदुरी गुमेको अवस्थामा रहेकाले उनीहरूको उद्धार गर्न रिजाले आग्रह गरेका छन् ।

“भारतमा रहेका नेपालीहरूको अवस्था अत्यन्त दयनीय छ । दैनिक मजदुरी गुमिसक्यो, धेरैजना एउटै कोठामा बस्छन्, खाद्यान्न छैन, लकडाउन कति लम्बिन्छ– यकिन छैन । बिरामी परिहालेमा अस्पतालमा उनीहरूले प्राथमिकता नपाउने पक्का छ । यस्तो बेलामा उनीहरूलाई घर फर्काउन केही उपाय होला कि ?‬,” उनले भनेका छन् ।

‪दूताबासले सीमासम्म ल्याउने र त्यहाँबाट प्रदेश सरकारहरूले ल्याएर क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाउन सके दुःखी–गरिबको पनि कोही छ भन्ने देखिने रिजालको विश्वास छ ।‬‬

“आखिर जनतालाई सरकार चाहिने यस्तै वेला त हो, अरू वेला त विदेशका गल्ली चाहारेर पनि उनीहरूले पेट पालेकै छन्,” रिजाल भन्छन् ।

भारतको हिमाञ्चलको कुल्लू, सोइधारमा दैलेखको भैरवी गाउँपालिकापाका १२० जना अड्किएको उनले बताएका छन् ।

“एकातिर काम छैन, अर्कातिर लकडाउन लम्बिन्छ भन्ने त्रास छ । हिजो फोन गरेर ‘हाम्रो त कोही पनि रहेनछ’ भन्दा साह्रै अप्ठेरो महसुस भयो । चुनाव आउँदा ‘महान् जनता’ भन्दै पुकारिएकाहरू सङ्कटमा फसेको बेला केही गर्न नसक्दा ग्लानी हुँदोरहेछ ।‬ यस्तो समस्या खासगरी पश्चिम नेपालका मान्छेहरूको छ र पश्चिमी नाकामै दिनदिनै मान्छे आइरहेका छन् । अति समस्यामा परेका नागरिकको उद्धारका लागि भारतसँग समन्वय गरेर केही कदम चाल्नु नपर्ला र ?,” उनले सरकार समक्ष अनुरोध गरेका छन् ।

यता, भारतमा रहेका नेपालीहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन सरकारले पुनः अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा बन्द भएको र चैत २५ सम्म लकडाउन लम्बिएकाले भारतका विभिन्न भूभागमा रहेका नेपालीहरूलाई यथास्थानमै रहन आग्रह गरेको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिइसकेकाले आफू बसेको ठाउँ छाडेर बाहिर निस्कँदा झनै जोखिम बढ्ने सरकारको ठहर छ ।

“अन्तर्राष्ट्रिय सीमा बन्दछ । नेपालभित्र पनि लकडाउनका अवस्था छ । लकडाउन अझ कडाइका साथ पालना गर्नुपर्नेछ । यस्तो बेलामा भारतमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरू आफू बसेकै ठाउँमा सुरक्षित रहनु उपयुक्त हुन्छ । यतिबेलाको अन्तर्राष्ट्रिय मूल्य, मान्यता, अभ्यास पनि त्यही हो,” बाह्रखरीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

रोजगारीको सिलसिलामा भारत पुगेका र काम ठप्प हुँदा अलपत्र रहेका नेपालीलाई त्यहीँको सरकारले व्यवस्था गर्नुपर्ने ज्ञवालीको तर्क छ । त्यसका लागि दूताबासमार्फत् सरकारले पहल गरिरहेको उनको भनाइ छ ।

“हाम्रा धेरै दाजुभाइ, दिदीबहिनीहरू भारतमा काम गर्नुहुन्छ । विशेषगरी असङ्गठित, अनौपचारिक क्षेत्रमा काम गर्नुहुन्छ । मौसमी काम गर्नुहुन्छ । अहिले काम ठप्प छन् । खान बस्न नै समस्या भएको छ । त्यस्ता दाजुभाइ, दिदीबहिनीहरूलाई खानबस्नको प्रबन्ध गर्न भारत सरकारलाई अनुरोध गरिरहेका छौं, दूतावासमार्फत् । सम्बन्धित सरकारकासँग पनि कुरा भइरहेको छ,” ज्ञवालीले भने, “सङ्कटको बेलामा जन्मथलो फर्कन सबैलाई मन हुन्छ । तथापि, अहिले आउनसक्ने परिस्थिति, वातावरण छैन ।”

कोरोना सङ्क्रमण देशभित्रै फैलिइरहेकाले अहिलेको परिस्थितमा भारतबाट उद्धार गरेर ल्याउने अवस्था नरहेको, बरु त्यहीँको सरकारलाई अनुरोध गरेर व्यवस्थापनका लागि आग्रह गरिएको ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले जुनसुकै देशका भए पनि नेपालभित्र रहेका नागरिकहरूको जीवन रक्षा गर्ने कर्तव्य नेपाल सरकारको भएको बताए ।

अहिले विदेशका नागरिकलाई सुरक्षित रूपमा नेपालमै रहन आग्रह गरिएको र कुनै देशले विशेष आग्रह गरेर सुरक्षित रूपमा लैजान्छौं भनेर आश्वस्त तुल्याएको केसमा मात्र सरकारले पठाउने जानकारी दिए ।

“भारतले पनि त्यसैगरी हाम्रा नागरिकको व्यवस्थापन गर्नुपर्छ,” उनको भनाइ छ ।

यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय सीमासम्म आइपुगेर अलपत्र परेका नागरिकलाई भने उद्धार, व्यवस्थापन गर्ने ज्ञवालीले बताए ।

“सीमा रहेकै विन्दुमा क्वारेन्टाइन गर्ने र त्यसको व्यवस्थापन गर्न सम्बन्धित प्रदेश सरकारलाई भनिसकेका छौं । सीमासम्म आइपुगेका नेपालीलाई अलपत्र पर्न दिँदैनौं,” उनले भने ।

तस्बिरः सामाजिक सञ्जालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *