मेयरको पद धरापमा, नेकपा अध्यक्षलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी

मेयरको पद धरापमा, नेकपा अध्यक्षलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी

समाचार

Sharing is caring!

रौतहट – रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताको पद धरापमा परेको छ ।

मेयर सन्तोष मेहतालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पूर्जी पठाएको छ ।

मेयर मेहताका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पनि पक्राउ गर्न पक्राउ पूर्जी आएको हो । गाँजा तस्करीमा मुछिएपछि मकवानपुर जिल्ला अदालतले मेयर मेहता र नेकपा अध्यक्ष मेहता दाजुभाइलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पूर्जी पठाएको हो ।

घटना गत माघ ११ को हो । सो दिन हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमान्डमा रहेको प्रहरीको टोलीले पूर्व–पश्चिम लोकमार्गमा एउटा एम्बुलेन्सलाई चेकजाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय २ हजार २ सय रुपैयाँ समेत बरामद भएको थियो ।

रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा२झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा ३ वटा झोलाभित्र ६ वटा पोकामा गाँजा राखी मनहरीबाट हेटौंडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

एम्बुलेन्समा चालक रौतहट डुमरियाका ३९ वर्षीय महम्मद खलिद तथा एम्बुलेन्समा सवार रहेका डुमरियाकै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्ससहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अनुसन्धान भइरहेको छ ।

अदालतमा विनोद सहनीले दिएको बयानको आधारमा अदालतले रौतहटको ईशनाथ नगरपालिकाका मेयर मेहता र उनका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पक्राउ गरी बुझाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरको आदेश अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पूर्जी पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पत्र आएको बताउँदै खोजबिन भइरहेको जनाएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर मेहताको पद धरापमा परेको छ । मेयर मेहता र भाइलाई पक्राउ पूर्जी जारी भएपछि ईशनाथ नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *