धार्चुलामा अलपत्र नेपाली ६ दिनमा भात खायौं, चिसै भुइँमा सुत्छौं

धार्चुलामा अलपत्र नेपाली : ६ दिनमा भात खायौं, चिसै भुइँमा सुत्छौं

समाचार

Sharing is caring!

काठमाडौं ।  धार्चुलामा अलपत्र नेपालीले देश फर्कन याचना गरेका छन् ।

भारतमा विभिन्न ठाउँमा रोजगारीमा रहेका नेपालीहरू देश फर्कन पाउने आशामा दुई–तीनदिन लगाएर पैदलै सीमावर्ती धार्चुलामा आइपुगेका थिए । नेपाल सरकारले प्रवेशमा रोक लगाएपछि उनीहरू ‘घरपरिवारको मुख देख्न पाउँ’ भन्दै अनुरोध गरिरहेका छन् ।

नेपाल सरकारले दार्चुला सदरमुकाम खलङ्गा छिर्न रोक लगाएपछि सीमावर्ती इलाकामा झण्डै १२ सय नेपाली अलपत्र छन् । अहिले उनलाई भारत, पिथौरागढ जिल्लाकै स्थानीय प्रशासनले आधारभूत व्यवस्थापन त गरेको छ । त्यतिले नपुगेको अलपत्रहरूको भनाइ छ ।

देश छिर्न नपाएका नेपालीहरूलाई पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा व्यवस्थापन गरिएको छ ।

जवाहरसिंह स्टेडियमा ३ सय २५ जना, बलुवाकोटमा ४ सयजना भन्दा बढी, जीआईसीमा  १ सय १० जना र काञ्जी हाउसमा दुई सयको हाराहारीमा छन् ।

बाँकीलाई पनि व्यवस्थापनको प्रबन्ध भइरहेको छ । उनीहरूलाई नेपाल सरकारले नै भारततर्फ अड्किएकालाई उतै र नेपालतर्फ अड्किएकालाई यताको प्रशासनले व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

तर, बलुवाकोट महाविद्यालयबाट बाह्रखरीको सम्पर्कमा आएका अलपत्र नेपालीले खान, बस्नको सुविधा नपाएको बताएका छन् ।

“पाँच दिनका दिन खान पायौं । चार सयजना भन्दा बढी नागरिकलाई एकै ठाउँमा कोचाकोच गरेर राखिएको छ । समूहमा बसेकामध्ये अधिकांश बिरामी पर्न थालेका छन् । पिउने पानीको पनि राम्रो प्रबन्ध छैन,” अपिहिमाल गाउँपालिकाका दिलेन्द्र महताले बाह्रखरीसँग दुःख पोखे ।

उनका अनुसार अलपत्रहरूको अझै व्यवस्थापन भइसकेको छैन । केही अझै सडकका किनारमै सुत्न बाध्य छन् । धेरै हप्ता दिनदेखि भोको छन् । बाहिर बजारमा गएर किने खाउँ भन्दा पनि भारतीयहरूले गाली गलौज गर्ने गरेको, दोब्बर मूल्य लिने गरेको उनले गुनासो गरे ।

“हामी पनि तीन दिनपछि बलुवाकोटमा बस्न पाएका हौं । तीन दिनका दिन हिजो बेलुकी भात खान पायौं । नेपाल सरकारले भन्छ, हामीले कसैलाई अलपत्र पर्न दिँदैनौं । हामी अलपत्र परेको कसैले देखेन,” उनले पीडा सुनाए ।

मार्मा गाउँपालिका, दार्चुलाका धनजितसिंह महताले पनि भारततर्फको प्रशासन बस्न दिएको भए खानेकुराको प्रबन्ध नभएको बताए । पाँच दिनपछि मङ्गलबार खानेकुरा पाएको भए पनि अधिकांशले त्यो सुविधा नपाएको दुखेसो पोखे ।

“पाँच दिनपछि खानेकुरा पायौं । ज्यान माया मारेर पारि जान पनि सकिएको छैन । यहाँ बसौं भने फोहोरले नै मरिन्छजस्तो भएको छ, चारैतिर दुर्गन्ध र्फलिएको छ,” उनले भने ।

महताले कतिञ्जेल यसरी कोचाकोच गरेर, भीडमा उकुसमुकुस भएर बस्नु पर्ने यकिन नभएकाले यथाशीघ्र गेट खोल्न नेपाल सरकारलाई अनुरोध गरे ।

“हप्तादिन बितिसकेको छ । अझै कति अड्किएर बस्नुपर्ने हो, निश्चित छैन । घरपरिवारले पनि चिन्ता गरिरहेका छन्,” उनले नेपाल प्रवेश गर्न दिन प्रशासन समक्ष आग्रह गरे ।

हाम्रो नागरिकता रद्द गरिदिनू !

नेपालको प्रशासनले नागरिकसरह व्यवहार नगरेको सुनिल धामीको गुनासो छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ का धामीले सात दिन बिन्ती बिसाउँदा पनि प्रशासन नसुनेकाले भारतमै मर्नुपर्ने हो भने नेपालको नागरिकता रद्द गरिदिन आग्रह गरे ।

“अप्ठ्यारो परेका बेला नागरिकले देश खोज्दै आउने हुन् । सजिलो हुँदा हामी विभिन्न ठाउँमा काम खोज्न गएकै थियौं,” उनले गुनासो गरे, “घर–परिवार भेट्न पाउँ, रोग लागेको रहेछ भने आफ्नो उपचार आफैं गर्छौं भन्दा नपाउने हो भने नेपाल सरकारको नागरिकता हामीलाई चाहिँदैन ।”

उनले चुनावमा विभिन्न आश्वासन दिन आउने नेताहरू पनि अहिले चुप लागेको देख्दा आफू आश्चर्यमा परेको बताए ।

“चुनावमा भोट माग्ने वेला धेरै आश्वासन दिनुभयो । रेलदेखि केवलकारसम्मका कुरा सुनियो । आज नागरिकहरू आपत–विपत्मा छन् । खान पाएका छैनन् । आफ्नो जन्मभूमि फर्कन पनि रुनु परेको छ । नेताहरू किन बोल्नुभएको छैन, हामी आश्चर्यमा छौं,” उनले भने ।

“नेपालै पस्न नपाउने हो भने केलाई चाहियो यो नागरिकता ? तिमीहरू भारतीय हो भन्दिए भइहाल्यो नि !,” उनी थप आक्रोशित हुन्छन् ।

अलपत्र नेपालीहरूलाई अहिले भारततर्फकै प्रशासनले खान–नास्ता, बासको प्रबन्ध गरे पनि अपर्याप्त रहेको र देश नै आउन पाउनुपर्ने उनीहरूको माग छ ।

फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *