कोरोना लागेको छ भनेर अस्पतालमा छिर्नै दिइएन, जबर्जस्ती छिरे पनि डाक्टरले छुनै मानेनन् (भिडियो)

कोरोना लागेको छ भनेर अस्पतालमा छिर्नै दिइएन, जबर्जस्ती छिरे पनि डाक्टरले छुनै मानेनन् (भिडियो)

समाचार

Sharing is caring!

त्रिवि शिक्षण अस्पतालको गेटमा थिए, सीताराम आलेमगर । उनी फोनबाट अस्पतालबाट फर्किने गाडिको खोजी गरिरहेका थिए । घुँडामा पानी जमेर हिँड्न नमिल्ने भएपछि मकावानपुरको थाहा नगरपालिका टिस्टुङ्गबाट आफ्ना दाजु रामशरण आलेमगरलाई अस्पताल ल्याएका थिए । ५५ सय भाडा तिरेर बिहान आएको एम्बुलेन्स  फर्किसकेको थियो । उनी कलङ्कीको एक निजी अस्पताल जानका लागि सडकमा ट्याक्सी पाइन्छ कि भनेर बसेका थिए ।

लठ्ठी टेकेर अस्पताल हातामा रामशरण उभिएका थिए । अहिले घुडाँको उपचार नहुने डाक्टरले भनेको उनले बताए । अस्पतालमा एक्स रेको काम नहुने भएपछि गाडी पाएमा कलंकीमा गएर निजी अस्पतालमा देखाउने बिचार गरेको उनले बताए ।

निजी अस्पतालमा उपचार खर्च महँगो हुने भएपछि दाजुभाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आएका थिए । जटिल स्वास्थ्य समस्या नभएपनि उपचार नभई फर्किनुपरेको उनले सुनाए ।

दृश्य दुई : ज्वरो आएको भनेपछि भर्ना गर्न मानेनन्

अस्पाताल परिसरको एउटा कुनामा आमाछोरा बसेका थिए । उत्तम गुरुङ र मनमाया गुरुङ । उनलाई २ महिना अगाडि देखि नै बेलोबला ज्वरो आउने गरेको थियो । आफूलाई हरेक दिन १ सय डिग्रीको ज्वरो आइरहने गरेको उनले सुनाए । चितवनको कुरिनटारबाट मंगलबार एम्बुलेन्सलाई साढे ८ हजार तिरेर उनीहरु काठमाडौं आएका थिए । सुरुमा उनीहरुले स्वयम्भुको मनमोहन अस्पतालमा देखाए । मनमोहन अस्पतालले आइसोलेशन नभएको र सरकारले सबै सुविधा त्रिवि शिक्षण अस्पतालाई दिएको छ भन्दै उनलाई फिर्ता पठायो ।

राति साढे ९ बजे शिक्षण अस्पताल आइपुगेका थिए । ज्वरो १ सय २ डिग्री थियो । सुरुमा त ज्वरो आएको छ भनेपछि अस्पतालको गेटबाटै छिर्न नदिएको उनले गुनासो गरे ।  रातिको साढे ९ बजे कहाँ जाने भनेर जर्वरजस्ती इमर्जेन्सीको खाली बेडमा बसे । आमा मनमाया रातभरी अस्पताल बाहिरको कुर्सीमा बसिन् । उनले भनिन्, ‘चिसो भयो रातभरी निन्द्रा लागेन ।’

ज्वरो नाप्न पनि डाक्टरले थर्मोमिटर किन्न लगाएको र आफैले नापेपछि टाढाबाट हेरेको उनले सुनाए । अस्पतामा उपचार नपाएपछि उनी घर फर्किने बिचारमा थिए । एम्बुलेन्सले ९ देखि १० हजार भनिरहेको र त्यो पनि सहजै नपाएको बताए । उनीहरु कलंकीसम्म पुग्न पाए एम्बुलेन्स पाइने तर कलंकीसम्म कसरी जाने भनेर बसिरहेका थिए ।

दृश्य तीन : कोरोना लागेको छ भनेर बिरामी छोएनन्

नुवाकोट त्रिसुलीका एकजना व्यक्ति बेहोस भएपछि आफन्त परिवारले उपचारका लागि अस्पताल ल्याइयो । उनलाई अस्पतालको इर्मजेन्सीमा भर्ना गरिएको छ । नाम भन्न नचाहने तर भिडियोमा बोल्न तयार भएका बिरामीका आफन्त एक महिलाले अस्पतालमा राम्रोसँग उपचार नभएको गुनासो गरिन् । बिरामी बेडबाट लड्न लागेपनि डाक्टर नर्स छुनसमेत नगएको उनले बताइन् ।

उनले भनिन्, उनीहरुलाई सबै सुविधा दिएको छ, समाउन पनि डर माने जस्तो गरे । अलिकति त हेर्नुपर्छ नि । डाक्टरले छुनै नजाने भन्ने नि हुन्छ र ? त्यस्तो हो भने किन अस्पताल आउनु हैन र ? बिरामीको कस्तो अवस्था छ बुझ्नै नचाहने, बिरामीसँग बोल्नै नचाहने गैरजिम्मेवार व्यवहार छ ।

उनले डाक्टर र नर्स अस्पतालको काउन्टरमा बसेर हाँसेर गफ गरेर बस्ने तर बिरामीको वरीपरी पनि नजाने गरेको गुनासो गरिन् । डाक्टर र नर्स विरामीको अगाडि नै नपर्ने हो भने अस्पताल बन्द गर्नुपर्ने उनको गुनासो थियो ।

दृश्य ४ : खुट्टाको प्लाष्टर काट्ने समय लम्बाइयो

पूर्णबहादुर मगर दुर्घटनामा परेर गत फागुन १२ गते खुट्टा भाँचिएको थियो । बैशाखी टेकेर अस्पतालमा हिँडिहेको अस्वस्थामा भेटिएका उनले पाँच हप्तामा प्लाष्टर काट्ने भनेर आएको तर पछि काट्ने भनेर फर्काइदिएको बताए । उनलाई अब दुई हप्तापछि मात्रै अस्पताल आउनु भनेर फर्काएको उनले बताए ।

विश्वभरी कोरोना भाइरसको संक्रमण बढेपछि नेपालका स्वास्थ्य संस्थाहरुमा ओपिडी सेवा बन्द गरिएको छ । इर्मजेन्सी उपचारबाहेक अन्य सेवा बन्द भएपछि विरामीहरु संकटमा परेका छन् । आपतकालीन अवस्थामा अस्पताल पुगेका बिरामीहरु पनि डाक्टर नजिक पनि पर्न नचाहेको भनेर गुनासो गरिरहेका छन् ।

अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गा भन्छन्, ‘गुनासो भए सिधै मलाई भेट्नुस्’

बिरामीले अस्पतालमा प्रभावकारी उपचार नभएको गुनासो गरेपछि हामी अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाको कार्यालय पुग्यौँ । उनको कार्यालय बाहिर रहेका कर्मचारीलाई भेट्न समय माग्दा व्यस्त भएको र पछि आउन भनियो । त्यसपछि निर्देशक खड्कासँग फोनमा कुरा गर्दा आफू बैठकमा व्यवस्त भएकोले नभेट्ने तर फोनमै कुरा गर्न आग्रह गरे । हामीले उनीसमक्ष विरामीले बताएका समस्याहरु सुनाएका छौँ ।

अन्य स्वास्थ्य समस्या भएर अस्पताल आएका बिरामीलाई पनि कोरोना संक्रमित नै आएजसरी डाक्टरले छुन पनि नचाहने भनेर विरामीले आरोप लगाएका छन्, किन यस्तो भइरहेको छ ?

त्यस्तो त हुन नपर्ने हो, अहिले बिहानभरी नै हाम्रो त्यसैबारेमा कुरा भइरहेको हो त । एकदम सेप्रेट गरिरहेका छौँ हामीले । कोरोना संक्रमण भएकाहरुका लागि कोरोना क्लिनिक भनेर राखिदिएका छौँ । एकदम शंका लाग्यो भने माथि आइसोलेशनमा पठाउने गरेका छौँ । पहिला जसरी हेरेका थियौँ त्यसरी नै हेरिरहेका छौँ । कुनै विरामीलाई भेदभाव गरेका छैनौँ ।

हामीले विरामी र उनीहरुका आफन्तसँग पनि कुरा गरेका छौँँ, डाक्टर विरामीको नजिक पर्न चाहेनन् भनिरहेका छन् त ?

त्यस्तो हैन, अहिलेसम्म त्यस्तो रिर्पोट आएको छैन ।

एकजना ज्वरो आएका विरामीले डाक्टरले थर्मोमिटर किन्न लगाई आफैलाई ज्वरो नाप्न लगाएर टाढैबाट हेरे भनेका छन् ।

बिरामी आउने वित्तिकै थर्मोमिटर किन्न लगाउँछौँ, त्यो उनीहरुलाई नै पठाउने हो । एउटालाई चलाएको थर्मोमिटर हामी अर्कोलाई चलाउँदैनौँ, यो पहिलेदेखि नै यस्तै हो । अहिले कोरोनाको समयमा मात्र हैन । सबैलाई थर्मोमिटर किन्न लगाउने गरेका छौँ । अरु त पहिला जसरी काम गरेको थियो त्यसरीनै काम गरिरहेका छौँ ।

अधिकांश बिरामीको मुख्य नै गुनासो नै डाक्टरले छोएनन् भन्ने छ ।

अघि बिहान मात्रै यसबारेमा कुरा गरेको छु । यसबारेमा केही कुरा भएको छ । यदी गुनासो छ भने त्यस्तो गर्नु हुँदैन भनेर बिहानदेखि नै भनिरहेको छु । इर्मजेन्सीका डाक्टरले त्यस्तो गरेको छैन भनिरहेका छन् ।

तर, अस्पतालमा आउने विरामीको गुनासो सुन्नुभयो

भने यही पाउनुहुनेछ ।

मेरो भनाई हाम्रो तर्फबाट त्यस्तो कुनै भेदभाव भएको छैन । विरामीलाई यस्तो भेदभाव भए जस्तो लाग्यो भने म कहाँ आएर गुनासो गर्नु भएहुन्छ । बाहिर गुनासो गर्ने हैन म कहाँ आएर गुनासो गर्न भनिदिनुस न, म हेर्न लगाइदिन्छु ।

हेर्नुहोस् भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *