सामान्यभन्दा फरक छैन अर्थमन्त्रीको लकडाउन दैनिकी

सामान्यभन्दा फरक छैन अर्थमन्त्रीको लकडाउन दैनिकी

समाचार

Sharing is caring!

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै यतिबेला देशभर लक डाउन घोषणा गरिएको छ। सरकाले चैत २५ गते राति १२ बजेसम्मका लागि घोषित लक डाउनका कारण सर्वसाधारणदेखि राजनीतिज्ञ, व्यवसायी र प्रशासकसम्म घरभित्रैबाट आफ्नो काम गरिरहेका छन्, धेरैको कामकाज बन्द भएको छ।

तर, यस्तै अवस्थाकाबीच पनि एकजना मन्त्रीको दैनिकी भने यसअघिको भन्दा फरक छैन। अर्थात् उही व्यस्त सेड्युलका बीच चलिरहेका छन् अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा।

दुईवटा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका खतिवडा यतिबेला सरकारका प्रवक्ता पनि हुन्। सरकारका काम कारबाही मिडियामार्फत् सार्वजनिक गर्नु पनि उनकै दायित्व हो।

कोरोनाका कारण लक डाउन भएको अवस्था होस् वा यसअघिको सामान्य परिस्थिति उनको मन्त्रालय प्रवेशको समय तालिका फेरिएको छैन। अर्थात् विहान साढे ८ बजे आसपास खतिवडा अर्थ मन्त्रालय प्रवेश गरिसक्छन्। विहानको खाना निवासमै खाएर मन्त्रालय हिँड्ने उनी एकैपटक बेलुका ८ बजेको हाराहारीमा फर्कन्छन्।

खतिवडाको पुरानै स्वभाव छ, उनी हरेक फाइल विस्तृतमा आफैँ हेर्छन्। अघिल्लो दिन हेरेर नसकिएका फाइल भोलिपल्ट अध्ययन गरेर मात्रै आवश्यक कारबाहीका लागि ‘फर्वार्ड’ गर्छन्। देशमा लक डाउन भए पनि खतिवडाको दैनिकी र कामकाजमा लक डाउन भएको छैन।

कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा बहुपक्षीय दातृ निकायका प्रतिनिधिसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै अर्थमन्त्री खतिवडासहित अर्थ मन्त्रालयको टोली।

दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीको हैसियतले खतिवडा दुवै मन्त्रालयको काममा उत्तिकै व्यस्त छन्। विहान अर्थ मन्त्रालय प्रवेश गरेपछि उनी नियमित छलफलमै व्यस्त हुन्छन्। मंगलबारसम्म कोरोना प्रभावितका लागि आर्थिक प्याकेजको तयारीमा व्यस्त रहेका उनी त्यसपछि प्याकेजको कार्यान्वयन कार्ययोजना निर्माणमा व्यस्त भए। मंगलबार त्यसलाई पनि उनले स्वीकृत गरिसकेका छन्।

कोरोना संक्रमणको जोखिमले लक डाउन घोषणा भएसँगै त्यसले अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा असर गर्न थाल्यो। धेरैले रोजगारी गुमाए। दैनिक ज्यालादारी गर्नेले खाना खान नपाउने अवस्था आयो। यसैबीचमा उनले एउटा प्याकेज घोषणा गरे, जसले सबैलाई समेट्ने प्रयास पनि गरेको छ। यद्यपि, मजदूरलाई पर्याप्त राहत नभएको भन्दै उनको आलोचना पनि भइरहेको छ।

मन्त्री खतिवडा यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्न पाएका छैनन्। राष्ट्रिय योजना आयोगले मन्त्रालयगत छलफल गर्न सकेको छैन। विगतका वर्षहरुमा अर्थ मन्त्रालय यतिबेला दोहोरो चापमा हुन्थ्यो, एकातिर कार्यक्रम संशोधन र रकमान्तरको दबाब भने अर्कोतिर नयाँ बजेटको तयारी।

कोरोनाका कारण यतिबेला यी दुवै काम रोकिएको छ। नयाँ बजेटका लागि गर्नुपर्ने बाह्य तयारी रोकिएको भए पनि आन्तरिक तयारी अघि बढिरहेको छ। ‘नियमित काम भइरहेको छ, मन्त्रीज्यू त्यसैमा व्यस्त हुनुहुन्छ,’ खतिवडाका प्रेस संयोजक यमन पौडेल भन्छन्।

खतिवडा यतिबेला कहिले दातृ निकायका प्रतिनिधिसँगको छलफलमा हुन्छन् त कहिले विभिन्न संस्थामा नियुक्त भएका अध्यक्षको सपथ ग्रहण गराइरहेका छन्। यसबीचमा राष्ट्रिय योजना आयोग तथा नेपाल राष्ट्र बैंकसहितका नियमनकारी निकाय प्रतिनिधिसँग सम्पर्क गरिरहेका छन्।

सञ्चय कोषका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीलाई पद तथा गोपनीयताको सपथ गराउँदै खतिवडा।

विहान घरबाटै खाना खाएर निस्किने खतिवडाको अहिले खाना भनेको भेज चाउचाउ  र चिया बिस्कुट हो। शाकाहारी खतिवडा बाहिरको खानमा धेरै रुचि राख्दैनन्।

मन्त्रालयको नियमित जिम्मेवारीबाहेक सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि बनाएको हरेक समितिका उनी महत्वपूर्ण सदस्य हुन्। अर्थमन्त्रीको हिसाबले आर्थिक दायित्व पर्ने हरेक विषयमा उनकै निर्णय चाहिन्छ। स्रोतको व्यवस्थापनदेखि खर्चको जोहो तौरतरिका उनैले मिलाउनुपर्ने भएकाले खतिवडाको स्वत: भूमिका रहन्छ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको गठन भएको उच्चस्तरीय समिति होस् या कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर होस् अर्थमन्त्री सदस्य हुने नै भए। यी सबै बैठकमा अर्थमन्त्रीको सक्रिय सहभागिता हुन्छ। बैठक सकिएपछि सरकारको प्रवक्ताको हैसियतमा उनैले प्रेस ब्रिफिङ गर्छन्।

नियमित कामका सिलसिलामा खतिवडा हरेक दिन ३ बजेपछि अर्थ मन्त्रालयबाट सञ्चार मन्त्रालय जान्छन्। दुईवटा मन्त्रालयको जिम्मेवारी भएकाले सञ्चारको काम प्रभावित नहोस् भनेर आफू दुवैतिरको काममा जाने गरेको उनले बताउने गरेका छन्।

सञ्चार मन्त्रालयमा उनको धेरै चासो अहिलेको संकटमा टेलिफोन इन्टरनेट सेवाको गुणस्तरमा हुने गरेको छ। नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकसँग उनले यसबारे अपडेट लिइरहन्छन्।

दुवै मन्त्रालयको काम सकेर खतिवडा बेलुका ८ बजेको हाराहारीमा निवास फर्किन्छन्। लक डाउनको समयअघि जस्तै अर्थमन्त्रीको घर फर्कने समय एउटै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *