विराटनगर -विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रोपटक रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा आज बिहीबार रुट परीक्षण गरिएको हो ।
कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको थियो । कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गरिएको महानगर प्रमुख कोइरालाले बताउनुभयो ।
नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने महानगरको तयारी छ ।
बस वातानुकूलितसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ । पूर्णरूपमा तयार भएपछि नगर बस सञ्चालनमा ल्याइनेछ । परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरूमा आइपर्ने समस्यालगायतका विषयमा समेत अध्ययन हुनेछ ।
महानगरले मिलनचोक, ढाट, इक्राही, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको छ । यसअघि फागुन १८ गते पनि उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा रुट परीक्षण गरिएको थियो ।