सिन्धुली– आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)बाट सम्बन्धन प्राप्त सिन्धुृली जिल्लाका १५ क्याम्पसहरु मध्ये दश क्याम्पसमा निर्वाचनको तयारी भैरहेको जनाइएको छ ।
जिल्लामा स्ववियु निर्वाचन हुने क्याम्पसहरु मध्ये सदरमुकाम भित्रका सिन्धुली बहुमुखी क्याम्पसमा ८७३, गौमती बहुमुखी क्याम्पसमा ४३२, शिद्धज्योती शिक्षा क्याम्पस ३६९ विद्यार्थी संख्या रहेको छ भने तिनपाटन गाउँपालिका भित्रका लाम्पान्टार बहुमुखी क्याम्पसमा ५१५, त्रिपुरेश्वर शिक्षा क्याम्पस बाहुनतिल्पुङ्गमा १६५, तिनपाटन बहुमुखी क्याम्पस भिमस्थानमा १८५ विद्यार्थी संख्या रहेको छ । त्यस्तै सरस्वती क्याम्पस डकाहामा ४२५, मरिण बहुमुखी क्याम्पसमा १७६, भिमज्योती क्याम्पस खुर्कोटमा १२० र सुनकोशी क्याम्पस झागाँझोलीमा ८० विद्यार्थी अध्यनरत रहेका छन ।
जिल्लाको जनजागृती क्याम्प्स भिमान, कमला बहुमुखी क्याम्पस दुधौली र कमला साइन्स क्याम्पस ढुंग्रेबासमा स्ववियु निर्वाचन नहुने भएको छ भने सुनकोशी र फिक्कल गाउँपालिकामा सञ्चालित २ वटा क्याम्पस बन्द भइसकेका छन । ब्यवस्थापन पक्ष र क्याम्पस प्रशासन जिम्मेवार नहुँदा स्ववियु निर्वाचन हुन नसकेकको विद्यार्थी संगठनहरुको आरोप छ ।
स्ववियु निर्वाचनका लागी नेकपा(एमाले) निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा(माओवादी) केन्द्र निकट अखिल(क्रान्तिकारी)ले जिल्लाका १० वटै क्याम्पसमा निर्वाचनको लागी संगठन दर्ता गराएका छन भने नेकपा(समाजवादी) निकट अनेरास्वयूले सिन्धुली बहुमुखी क्याम्पस र गौमती बहुमुखी क्याम्पसमा संगठन दर्ता गराएको छ ।
मिश्रित निर्वाचन प्रणाली अन्र्तगत हुने निर्वाचनका लागी निर्वाचन कार्यतालिका अनुसार गत फाल्गुण १९ गते संगठन दर्ता गराएका विद्यार्थी संगठनहरु प्रत्यक्ष निर्वाचनका लागी धमाधम उम्मेदवार छान्ने तयारीमा छन । संगठनको सम्बन्धीत इकाई कमिटी तथा क्याम्पस मुल कमिटीको सिफारिस अनुसार जिल्ला कमिटीले उम्मेदवारहरुको छनौट गर्ने तयारी भैरहेको अनेरास्वयु जिल्ला संयोजक दुर्गा भुजेलले बताउनुभयो ।
त्यस्तै नेपाल विद्यार्थी संघले पनि क्याम्पस स्तरकै कमिटीहरुबाट उम्मेदवार छनौट गर्ने र जिल्ला कमिटीले समन्यव मात्र गरेर सर्वसम्बत र योग्य उम्मेदवार छनौटको तयारी गरिरहेको जनाएको छ । नेपाल विद्यार्थी संघ सिन्धुलीका सभापति उत्पल खड्का भन्नुभयो, “समानुपातिक निर्वाचन प्रणालीको लागी संगठन दर्ता गरिसक्यौं अव प्रत्यक्ष निर्वाचनका लागी तल्लो तहकै सिफारिसमा योग्य उम्मेदवारको छनौट हुन्छ ।” स्ववियुको नेता सम्बन्धीत क्याम्पसको सम्पूर्ण विद्यार्थीकै प्रतिनिधी भएकाले साझा काम गर्न सक्ने पात्र नेविसंघले उम्मेदवारको रुपमा छनौट गर्ने खड्काले बताउनुभयो ।
२८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागु भएदेखि स्ववियु निर्वाचन बिथोलिँदै आएको थियो । यस प्रणालीमा मनोनयन गर्ने अन्तिम दिनसम्म २८ वर्ष पुरा नभएका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउँछन । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिव लगायत सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा विद्यार्थीले आफ्नो संगठित वा स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिन सक्ने ब्यवस्था रहेको छ ।
स्ववियु नियमावली अनुसार दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी संख्या भएमा १५, एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था रहेको र स्ववियुको संरक्षक क्याम्पस प्रमुख रहने ब्यवस्था रहेको सिन्धुली बहुमुखी क्याम्पसका प्रमुख शारदामणी खड्काले जानकारी दिनुभयो ।
त्रिवि शैक्षिक क्यालेन्डर अनुसार २÷२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका भएपनि २०६५ चैत यता त्रिविका क्याम्पसहरुमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको थिएन । २०७३ चैत्रमा २६ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।
स्ववियु नियमित नहुँदा क्याम्पसहरूका महत्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको थिएन । २०७४ र २०७६ मा स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगित हुन पुगेको थियो । त्यतिबेला राजनीतिक दल र ठुला विद्यार्थी संगठन तयार नहुँदा चुनाव अनिश्चित बनेको थियो ।
विद्यार्थीहरूको हक, हितको संरक्षण, संम्बद्र्धन लागि सक्रिय रहने, विद्यार्थीको बौद्धिक र चारित्रिक विकासका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने, क्याम्पसभित्रको पठनपाठनका लागि उपयुक्त वातावरण बनाउने, विद्यार्थीमा अनुशासन कायम राख्ने, बौद्धिक, रचनात्मक तथा अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गराउने, क्याम्पसमा शैक्षिक तथा संस्थागत विकासका लागि सदैव क्रियाशील रहने स्ववियुको उदेश्य रहेको छ ।
निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।