सिन्धुलीमा बढ्दै सवारी दुर्घटना ::

सिन्धुलीमा बढ्दै सवारी दुर्घटना ::

समाचार

Sharing is caring!

सिन्धुली– जिल्लाको ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको दर पनि बढ्दै गएको छ । पछिल्लो समय वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गमा अत्याधिक सवारी चापको बृद्धि भएसँगै जिल्लामा समय सडक दुर्घटना अत्याधिक बढ्दै गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा ६ सय ८३ सवारी दुर्घटनामा परि १३४ जनाले ज्यान गुमाएका छन भने ४ सय ७८ जना संख्त घाईते र ८ सय ६६ जना सामान्य घाईते भएका छन ।

तथ्याकं अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६६ वटा सवारी दुर्घटनामा परि ३४ जनाको मृत्यू, ७१ जना सख्त घाईते र ५१ जना सामान्य घाईते भएका छन भने आर्थिक वर्ष २०७७/०७८ मा २ सय १९ वटा सवारी दुर्घटनामा परि ३५ जनाको मृत्यू, १ सय ९६ जना सख्त घाईते र २ सय ४० जना सामान्य घाईते भएका छन । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २ सय ८९ सडक दुर्घटनामा परि ४६ जनाको मृत्यू, १ सय ६० जना सख्त घाईते र ३ सय ८२ जना सामान्य घाईते भएका छन ।

चालु आर्थिक वर्षको फाल्गुण मसान्त सम्म १ सय ९ वटा सवारी दुर्घटनामा १९ जनाको मृत्यू, ५१ जना सख्त घाईते र १ सय ९३ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आधारभूत यातायातको रुपमा रहेको सडक सवारी दुर्घटना वृद्धि हुनुलाई चिन्ताको रुपमा हेर्नुपर्ने देखिएको छ । हरेक दिन सडक दुर्घटनामा परेर दर्जनौं मानिसले ज्यान गुमाउनु परिरहेको छ । सडक दुर्घटना डरलाग्दो गरी बढेका कारण सर्वसाधारण नागरिकको यात्रा असुरक्षित बनिरहेको छ ।

चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु तथा लोड बोक्नु, तिब्र गतिमा सवारी चलाउनु र पुराना सवारीको उचित मर्मत नहुनुले पनि दुर्घटना बढाउन सहयोग गरिरहेको छ ।

सवारी दुर्घटना भयावह बनिरहँदा पनि नियमनकारी निकायले भने यसको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । दुर्घटना भयाबह बन्दै जाँदा सबै पक्ष सचेत र गम्भीर बन्नुपर्ने हो । तर, दुर्घटनाबाट बढी प्रभावित भइरहेका यातायात व्यवसायी, यातायात मजदुर र आम सर्वसाधारणसमेत दुर्घटनाको समाचार हेरेर, पढेर, सुनेर बिर्सिने परिपाटीले दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

धेरैजसो सवारी दुर्घटनाको कारण मानवीय त्रुटी वा लापरबाही नै हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सबैभन्दा बढी सवारी चालक सचेत बन्नुपर्ने देखिन्छ । साँघुरा सडकलाई फराकिलो बनाई सडकको स्तरीकरण गर्नु दुर्घटना न्यूनीकरणको अर्को महत्वपूर्ण उपाय हुनसक्छ । यस्तै, सडक सुरक्षाका लागि उपयुक्त सरकारी नीति, नियमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गराउनु पनि उत्तिकै आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *