डडेलोले उजाड बनेको वन पाखामा वनस्पति नउम्रिएपछि अध्ययन गरिँदै • OSNepal

डडेलोले उजाड बनेको वन पाखामा वनस्पति नउम्रिएपछि अध्ययन गरिँदै • OSNepal

समाचार

Sharing is caring!

रसुवा-डडेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ । विसं २०६५ मा लागेको डडेलोको चपेटामा परी गतलाङ पाखाको करिब सात सय हेक्टर जमिनका वनस्पति पूर्णरूपमा नष्ट भएका थिए । डडेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएका कारण विज्ञटोलीले स्थलगत अध्ययन एवं माटो परीक्षण गरेको हो ।

समुद्र सतहदेखि दुई हजार पाँच सय मिटर उचाइ क्षेत्रमा अवस्थित बोन्जो माने एवं ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा कुनै पनि वनस्पति नउम्रिने समस्या छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनस्पति शास्त्रको विज्ञ टोलीले गतलाङ पाखामा अध्ययन गरिरहेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ ।

गतलाङ पाखामा विज्ञले गरेका सिफारिसका आधारमा वनस्पति रोपण गरिने जानकारी दिँदै डिभिजन वन अधिकृत अनिल रेग्मीले १० सामुदायिक वनमा भने प्राकृतिकरूपको पुनःउत्पादन गराउन विशेष संरक्षणको व्यवस्थापन गर्न लागिएको बताउनुभयो । डडेलोको चपेटाकै कारण गतलाङ पाखामा २५–३० हजारभन्दा बढी ठूला–ठूला सल्लाको बोट नष्ट भएका छन् । नडढेका रूख व्यवस्थापन गर्न वन उपभोक्ता समितिले पहल गरिरहेको छ ।
दीर्घकालीन सोच नहुँदा विगत वर्ष रोपण गरिएका अधिकांश टिमुरका बिरुवा नोक्सान भइसकेकाले भावी दिनमा रोपण गर्नुपूर्व नै चौपायका लागि छेकाबारको व्यवस्थाप्रति विशेष ध्यान दिन वृक्षरोपण गर्ने सबै निकायसामु अधिकृत रेग्मीले अनुरोध गर्नुभयो । यस्तै हिउँदयाम सुक्खा मौसममा अचानक लाग्ने डडेलो नियन्त्रणमा सहज पार्न र वनयजन्तुलाई पानीको आपूर्ति व्यवस्थापन मिलाउन डिभिजन वन कार्यालय रसुवाले यस वर्ष गतलाङ तथा डाडागाउँका जङ्गलमा एक–एकवटा पोखरी बनाउने गृहकार्य अगाडि बढाएको छ ।

डडेलो लागेको गतलाङ पाखामा कुहिएको काठ व्यवस्थापनपश्चात विज्ञको सिफारिसका आधारमा स्थानीय हावापानी सुहाउँदो बिरुवा रोपण गरिने वन प्राविधिकले बताएका छन् । यसैगरी स्थानीय बासिन्दाले मसलाका रूपमा प्रयोग गर्ने टिमुर रोपणलाई प्राथमिकता दिने नीतिअनुरुप जिल्ला वन कार्यालय रसुवाले बहुवर्षीयरूपमा २० हजार टिमुरका बिरुवा उत्पादन एवं वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *