सिन्धुली, – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बुधबार कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बिमा रकम तिर्न नसक्ने, आश्रित परिवार र लोपोन्मुख समुदायको निःशुल्क स्वास्थ्य बिमा हुने बताउनुभएको छ । उहाँले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन मन्त्रालयले बिमा निःशुल्क गर्ने भएको बताउनुभयो ।
नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन नैसर्गिक अधिकार भएकाले मन्त्रालयले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उहाँले बताउनुभयो । कुनै पनि नागरिकले अव स्वास्थ्य उपचार सेवा पाइन भन्ने अवस्थाको अन्त्य गर्ने उहाँको भनाई थियो ।
पछिल्लो समयमा नसर्ने रोगले नागरिकलाई आक्रान्त पारेको भन्दै यस कार्यक्रम मार्फत नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाई वेलैमा उपचारबाट दीर्घ जीवन दिन कार्यक्रम लागु गरिएको उहाँले बताउनुभयो ।
९० प्रतिशतले एलोपेथिक उपचार पद्धति र १० प्रतिशतले आयुर्वेदिक र अन्य उपचार पद्धति रोज्ने गरेकाले आयुर्वेद उपचार विधि एक प्रभावकारी विधिको रुममा लैजान आवश्यक रहेको उहाँले जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मीलाई गुणस्तरीय, सर्वसुलभ र मितव्ययी तरिकाले नागरिकको उपचार गर्न निर्देशन दिनुभयो । कर्मचारीको कारण यस उपचार पद्धति प्रभावकारी र नागरिकको आकर्षणमा पर्ने भएकाले आयुर्वेदिक उपचार विधि प्रभावकारी बनाउन मन्त्रालयले गर्नु पर्ने कार्य सबै गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न यस कार्यक्रम सञ्चालन भएको बताउनुभयो । नागरिकको रोग पत्ता लगाउने, उपचार र परामर्शका माध्यमबाट नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उहाँको भनाई छ । स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्था मार्फत उपचार हुन नसके गंगालाल, टिचिङ लगायतका अस्पताल मार्फत नागरिकको उपचार गरिने उहाँले जानकारी दिनुभयो । मन्त्रालयले मुटु रोगीको उपचार र क्यान्सर रोगीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले ५० हजार रुपैंया सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।३० वर्षका माथिका नागरिकले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा हरेक बुधबार बिहान ७ बजे देखी ९ बजे सम्म सेवा लिन सक्ने कार्यालय प्रमुख डा। अर्जुन उपाध्यायले जानकारी दिनुभयो । निरोगी व्यक्तिको रोग पत्ता लगाउने, रोग पत्ता लागे उपचार गर्ने, योग परामर्श प्रदान गर्ने, ल्याब परीक्षण तथा निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।