सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमा सीमित हुने गरेको छ । प्रहरी बाहेक जिल्लाका नौवटै स्थानीय तहको न्यायिक समिति तथा स्थानीय स्तरमा रहेको सामुदायीक मेलमिलाप केन्द्रमा परेका उजुरी समेत मिलापत्रमै सीमित हुने गरेका छन ।
पछिल्लो चार वर्षमा जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा २७६ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४१, आव २०७६/०७७ मा ६८, आव ०७७/७८ मा ६४ र आव ०७८/७९ मा १०३ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन । अधिकांश उजुरी छलफल गरी मिलापत्रबाटै समाधान हुने गरेका छन ।
महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको तथ्यांक अनुसार दर्ता भएका २७६ उजुरी मध्ये २११ वटा मिलापत्र भएका छन त्यस्तै १४ वटा मुद्धा कानुनी प्रक्रियाका लागी अदालत गएका छन भने ४१ उजुरीको आवश्यक कार्वाही भईरहेको जनाइएको छ ।
कुटपिट गरी घर निकाला गरिएको, शारीरिक यातना, शारीरिक तथा मानसिक, शारीरिकसँगै मानसिक यातना दिने, आवश्यक खर्चसमेत नदिई आर्थिक अभावमा पारेर यातना दिने, आर्थिक यातना दिएको लगायतका महिला हिंसाको उजुरी आउने गरेको केन्द्रका प्रहरी सहायक निरीक्षक सुशिला चौगागाईले बताउनुभयो ।
पीडित भनिएका कतिपय महिला छलफलपछि आफैं मिलापत्र गर्न तयार हुने भएकाले मुद्दा नै चलाउनुपर्ने अवस्था नरहने उहाँले बताउनुभयो । “हामीसँग हिंसाका घटनाका उजुरी आए तत्काल दर्ता गछौं । पीडकलाई बोलाएर छलफल गर्न भन्छौं । उहाँहरू आफैं छलफल गरेर मिल्नुहुन्छ,” उहाँले भन्नुभयो, “मिलापत्र नभएका हिंसाका घटनालाई सम्बन्धित निकायमा पठाउने गरेका छौं ।”
चौलागाईका अनुसार शारीरिक, मानसिक, आर्थिक यातना दिएका घटनाहरुलाई मिलापत्र गराएपछि त्यही पीडितको त्यस्तो समस्या नदेखिएको उहाँको भनाई छ ।
पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाका आउने गरेको तिनपाटन गाउँपालिका उपाध्यक्ष धन बहादुर पुलामीले बताउनुभयो । महिला हिंसाका बारेमा खान लाउन नदिएको लगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको पुलामीले बताउनुभयो । वडा तहमा सामुदायीक मेलमिलाप केन्द्र मार्फत नै उजुरीहरुको मिलापत्र गर्ने गरिएको उपाध्यक्ष पुलामीले जानकारी दिनुभयो ।
उजुरीको संख्या बढे पनि पीडितले न्याय पाउनको लागि संबन्धित निकायसम्म जानेको संख्या अत्यन्त न्यून रहने गरेको छ । पीडितले उजुरी गरेपनि घरपरिवार र समाजिक दवाबको कारण घरेलु हिंसाका घटनाहरु मिलापत्रमै टुंगिने गरेका हुन ।