भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो • OSNepal

भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो • OSNepal

समाचार

Sharing is caring!

मध्यविन्दु-नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा जग्गा नापजाँच थालिएको हो ।भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेको जग्गा नापजाँचका लागि सोही वडाबाट नियन्त्रण विन्दु स्थापना गरी वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेका छन् ।

देवचुली नगरपालिका–४ का बमबहादुर मगरले ५२ वर्षदेखि पुर्जाबिना नै बसे पनि यसपालि भने पुर्जा पाउनेमा आशा बढेको बताउनुभयो । “५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, हामीलाई खालि आसमात्र दिएका छन्”, उहाँले भन्नुभयो, “यसपालि जग्गा नापजाँच सुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ ।”

जग्गाको पुर्जा नहँुदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रक्रिया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन् । जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका–३ का रेवती सारुले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिका–३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीयको जग्गा नापजाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो । वडा नं २ मा यसअघि नै जग्गा नापजाँच गरिसकिएको छ भने अहिले वडा नं ३ मा उक्त काम जारी रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिकामा दुई हजार पाँच सय र देवचुली नगरपालिकामा चार हजार चार सय ६० भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित गरी परिवारको बसोबास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *