सिन्धुली– सिन्धुलीमा अनलाइन मार्फत हुने कारोबामा वृद्धि भएको छ । जिल्लामा स्थापना भएका बैंक तथा वित्तिय संस्थाले सेवासुविधालाई प्रविधिमैत्रि बनाएसँगै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांक अनुसार नेपालमा साढे दुई करोड बढिले मोबाइल बैंकिङ प्रयोग गर्दै आइरहेका छन् । सिन्धुलीमा संचालित बिभिन्न श्रेणिका बैंक तथा वित्तिय संस्थाले नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
जिल्लाको नौँवटै स्थानिय तहमा रहेका फलफुल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका विभिन्न पसलहरुमा बृहत्त रुपमा क्यूआर कोड वितरण गरिएको छ । उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनीकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकहरुले लिएका छन् ।
समयको बचत हुने र सरल तरिकारले कारोबार गर्न सकिने भएकाले अबको प्राथमिकता प्रविधि नै हुनुपर्ने बैंकर सबिन श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले मोबाइलबाट धेरै सेवा लिन सकिन्छ । बैंकको एपबाट भुक्तानी गर्नेदेखि, खाता खोल्ने, बैंक खाताको विवरण हेर्ने, ऋण लिन सकिने, कार्डको लागि अनुरोध गर्न सकिने लगायत थुप्रै सुविधाहरु ग्राहकले उपभोग गरिरहेका छन् ।”
डेटा प्याकको उपलब्धता र स्मार्टफोनको पहुँच बढेसँगै मोबाइल बैंकिङमा व्यापकता आएको कमलामाई नगरपालिका ६ मा कपडा व्यवसाय गर्दै आउनुभएको स्मिता थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगमा बैंकहरुको प्रतिस्पर्धाले मोबाइल बैंकिङ प्रयोगकर्ता बृद्धिमा अझ जोडबल पुगेको छ ।” जिल्लाको दुधौली नगरपालिकामा मासु पसल संचालन गर्दै आउनुभएको गिता कुँवरका अनुसार नगद भन्दा मोबाइलमै भुक्तानी गरिदिने ग्राहकको संख्या बढ्दो छ । उहाँले भन्नुभयो, “मोबाइलमै भुक्तानी गर्ने ग्राहकको संख्या बढेकाले कहिले काँहि नगद फिर्ता दिनपनि पैसा हुदैँन ।”
यहाँ संचालित बैंकले प्रविधिको प्रयोगलाई प्रोेत्साहनकालागि ग्राहकको समस्या समाधान तुरुन्तै गर्ने गरेको समिर वाईबाले बताउनुभयो । मरिण गाउँपालिका ७ बाह्रबिसेमा किराना पसल संचालन गर्दै आउनुभएको वाईबाले प्रभु बैंकमा खाता खोल्नुभएको छ । मोबाइल बैंकिङको सुविधा लिनुभएको वाईबा बैंकको सेवासुविधा प्रति सन्तुष्ट हुनुहुन्छ । उहाँले भन्नुभयो, “मोबाइल एप अवरुद्ध भएपछि बैंकको ग्राहक सेवा विभागमा सम्पर्क गरे । नविकरण नभएकोले अवरुद्ध भएको खबर पाए । बैंककै स्टाफले नविकरण गरिदिनुभयो । बैंकनै नगई समस्या समाधान भयो ।”
पछिल्लो समय जिल्लामा संचालित बैंक तथा वित्तिय संस्थाले ग्राहकको सन्तुष्टिकालागि विविध कार्यक्रमहरु संचालन गर्दै आएका छन् । त्यसैगरि, ग्राहक सेवा विभागलाई पनि चुस्त बनाउदैँ बैंकले ग्राहक आकर्षित कार्यक्रमहरु संचालन गरिरहेको छ ।