कोरोनाको प्रवेश भएपछि मानिसको शरीरमा यस्तो हुन्छ

कोरोनाको प्रवेश भएपछि मानिसको शरीरमा यस्तो हुन्छ

समाचार

Sharing is caring!

विराटनगर, २२ चैत । कोरोना भाइरस र यसले लगाउने रोग कोभिड– १९ले केही मानिसमा सामान्य प्रभाव गरे पनि केहीका लागि भने मृत्युको कारण बनिरहेको छ ।

मानिसको शरीरमा भाइरस प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन लाग्ने समयलार्इ इन्क्युबेशन पीरीयड अथवा सङ्क्रमणकाल भनिन्छ ।

उक्त अवधिमा भाइरसहरूले शरीरमा कोष भित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिएर पहिला घाँटीभित्रका कोष, स्वासनली र फोक्सोलाई असर गर्न थाल्छ ।

बिस्तारै ती अगंहरूमा एकबाट अनेकौं कोरोना भाइरस उत्पादन हुन थाल्छन् । प्रारम्भिक अवस्थामा केही मानिसलाई कुनै लक्षण पनि देखिँदैन ।

कोरोना भाइरस अधिकांश सङ्क्रमित मानिसको लागि सामान्य रोग हो । १० मध्ये आठ जनामा सामान्य रुघा लाग्ने र ज्वरो आउनुका साथै शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन् । तर, ती लक्षण देखिन्छन् नै भन्ने पनि छैन ।

ज्वरो आउनु र असहज महसुस गर्नु प्रतिरक्षा प्रणाली सक्रिय भएर सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो । यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ जसकारण शरीरमा पीडा हुने र ज्वरो आउने हुन्छ ।

कोरोना भाइरस सङ्क्रमण भएको बेला कसैलाई सुक्खा खोकी, खकार, सिगान पनि आउन थाल्छ ।

यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएमा एक हप्तासम्म अधिकांश बिरामीहरूलाई निको हुन्छ । तर, केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ ।

भाइरससंग लड्नका लागि प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले जलन हुन सक्छ । फोक्सोमा हुने जलन निमोनिया हो ।

निमोनिया हुँदा फोक्सोमा भएका साना कोठाहरू पानीले भरिन थाल्छन् र सास फेर्न कठिन हुन्छ । यस्तो बेला कसैकसैलाई सास फेर्न सहज बनाउने भेन्टिलेटरको सहायता चाहिन्छ ।

बिरामी भएका ६ प्रतिशत व्यक्ति मात्र अति गम्भीर हुने गरेको पाइएको छ । यति बेलासम्म शरीर निस्तेज हुन थाल्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ ।

मानिसको रोग प्रतिरोध गर्ने प्रणाली नियन्त्रणभन्दा बाहिर पुगेर पूरै शरीरभित्र क्षति पुगिरहेको हुन्छ ।

बिरामीको रक्तचाप डरलाग्दो तहमा झरेर अङ्गहरूले काम नगर्ने वा पूरै विफल हुने ‘सेप्टिक शक’ भनिने अवस्था आउछ । फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने, मिर्गौलाले रगत सफा गर्न नसक्ने, आन्द्रामा समेत क्षति पुग्न थाल्छ ।

प्रतिरक्षा प्रणालीले भाइरसलाई जित्न नसकेपछि शरीरको सबै भागमा पुगेर अझै धेरै क्षति पुर्‍याउन थाल्छ ।

यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ । त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ । तर भाइरसको प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ र अङ्गहरूले शरीरलाई जीवित राख्न नसकेपछि बिरामीको मृत्यु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *