मदर्शा र मस्जिदमा लुकेर बसेका २६ पक्राउ

मदर्शा र मस्जिदमा लुकेर बसेका २६ पक्राउ

समाचार

Sharing is caring!

वीरगन्ज : भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भई नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ।

पर्साको ग्रामीण भेगमा रहेका मदर्शा र मस्जिदमा लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पर्साको पटेर्वासुगौली गाउँपालिका– १ कन्चनपुर गदियानीस्थित मदर्शामा लुकेर बसेका ११ जनालाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको हो। उनीहरू सबैलाई वीरगन्ज श्रीपुरस्थित सिद्धामार्थ माविको क्वारेन्टाइनमा राखिएको छ।

दिल्लीको मरगज निजामुद्दिन दरगाहमा आयोजित तीनदिने आन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भई पर्सामा छिरेका ११ जना गाउँको मस्जिदमा ४÷५ दिनदेखि बसेको सूचना गदियानीका गाउँलेले प्रहरीलाई दिएका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूजेन्द्र यादवका अनुसार गाउँलेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ मस्जिदमा बसिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गदियानीको मदर्शाबाट नियन्त्रणमा लिएका सबै ११ जना रौतहट घर भएका मुस्लिम समुदायका हुन्। रौतहटको यमुनामाई गाउँपालिका ३ हजमीनियाका ६, वडा नम्बर ४ सरुअठाका १, राजपुर नगरपालिका–२ फतुहा महेशपुरका ४ जना छन्।

जगरनाथपुरको मस्जिदमा  बसेका १५ पक्राउ

पर्साकै जगरनाथपुर गाउँपालिका–४ स्थित मस्जिदमा लुकेर बसेका १५ जनालाई भने प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ।

उनीहरू पनि भारत दिल्लीकै निजामुद्दिन मर्कजमा भएको तीनदिने आन्तर्राष्ट्रिय तबलगीमा सहभागी भई पर्सामा लुकेर बसेको आशंका गरिएको छ। जगरनापुरको मस्जिदबाट प्रहरीले नियन्त्रणमा लिएका १५ मध्ये रौतहटका ३, बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का ३ जना, बाराको सुवर्णपुर गाउँपालिका–२ कबहीगोठका ६, बाराको सिम्रौनगढ नगरपालिका–५ का १ जना, पर्साको वीरगन्ज महानगरपालिकाका १ जना र पर्साकै जगरनाथपुर गाउँपालिका– ३ का १ जना छन्।

स्थानीयले दिएको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय पर्साबाट बिहीबार गएको प्रहरी टोलीलाई गाउँपालिका अध्यक्ष जालिम मियाले भने प्रहरीको गाडीमा वीरगन्ज लैजान नदिने भन्दै विवाद गरेका थिए।

त्यसपछि उनीहरूलाई गाउँपालिका अध्यक्ष मिया चढ्ने गाडी र एम्बुलेन्समा राखेर साँझ मात्रै वीरगन्ज ल्याइपुर्‍याइएको प्रहरी निरीक्षक रवि यादवले बताए।

कन्चनपुरको मदर्शा र जगरनाथपुरको मस्जिदबाट ल्याइएका सबै २६ जनालाई वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको छ।

दिल्लीको तबलिगी जमातमा सहभागी भई भारतबाट भागेर पर्सामा आई लुकिछिपी बसेको स्थानीयले आशंका गरे पनि उनीहरूले भने आफूहरूबाट दिल्लीबाट नआएको दाबी गरेका छन्। उनीहरूले आफूहरू मुस्लिम धार्मिक प्रवचन दिने क्रममा पर्सामा आएर ४ सातादेखि बसेको बताएका छन्।

क्वारेन्टाइनमा रहेकामध्ये हजमिनियाका शेख महफुजले सप्तरीमा फागुन ३ देखि ५ सम्म आयोजित इज्तिमा (धार्मिक सम्मेलन) सकेर पर्सामा आएर विभिन्न मदर्शामा धार्मिक प्रवचन दिने क्रममा प्रहरीले आफूहरूलाई पक्रेर ल्याएको बताए।

उनले भने, ‘हामी दिल्लीको तबलिगी जमातमा गएर यहाँ आएको हल्ला चलाइएको छ, तर यो सरासर झुट हो।’ पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले उनीहरू दिल्ली वा कहाँबाट आएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताइन्।

नियन्त्रणमा लिइएकाहरूलाई क्वारेन्टाइनमा १४ दिनसम्म राखिने पनि उनले जानकारी दिइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको मरगज निजामुद्दिन दरगाहमा आयोजित तबलिगी जमातमा नेपालको पर्सा, बारा, रौतहट, गोरखा, चितवनका पनि मुस्लिम धर्मावलम्बी सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *