त्यसपछि मेरा लागि खुशीकाे पल कहिल्यै आएन…

त्यसपछि मेरा लागि खुशीकाे पल कहिल्यै आएन…

समाचार

Sharing is caring!

काठमाडौं : हरेक प्रेमी प्रेमिकाका लागि फेब्रुअरी १४ विशेष रहन्छ। तर, मलाई भने यो मिति क्यालेन्डरबाटै सधैँका लागि हटोस् जस्तो लाग्छ। भ्यालेन्टाइन अघि आफ्नो प्रिय मान्छे गुमाउनुको पीडाबाट मजस्तै सायद कमैले मात्र महसुस गरेका होलान्। आज १० वर्ष पुग्यो मेरा निम्ति भ्यालेन्टाइन नआएको। र सायद फेरि पनि आउँदैन होला त्यो पहिलो भ्यालेन्टाइनको उत्साह। पहिलोपटक १५ वर्षको उमेरमा कलेजमा पाइला टेक्दा देखेको त्यो मुहार मेरो जीवनका लागि आमापछि सबैभन्दा अमूल्य थियो। उसको घर र म बस्ने मेरो आन्टीको घरनजिकै भएकाले कलेज आउने जाने सँगै हुने गर्‍थ्यो। त्यसैले साथीहरूले जिस्काउँदा जिस्काउँदै मित्रता प्रेममा बदल्न समय लागेन। मेरी

रञ्‍जना मेरा निम्ति दोस्रो आमा नै थिइन् भन्दा पनि फरक पर्दैन। आमाले झैँ कलेज जाँदा होस् या आउँदा मेरा निम्ति सधैँ उपदेश दिने ती मुहार १० वर्ष बित्यो ओझेल परेको। अब चाहेर पनि फेरि हामी एक अर्कालाई यो जुनीमा भेट्न पाउँदैनौँ। भन्छन्- ‘राम्रा मान्छे लामो आयु लिएर आउँदैनन्।’ त्यसै त उसले टिनएजरको उत्साहसमेत राम्रोसँग महसुस गर्न पाइन। कलेजमा ऊसँग बिताएको त्यो डेढ वर्ष मेरा निम्ति हिराझैँ अमूल्य छन् आजकाल। कलेज लाइफमा जति माया दिएर गई त्यो फेरि मेरो जीवनमा अरू कुनै युवतीले दिन्छन् भन्ने लाग्दैन मलाई। कुनै सुन्दर

युवती देख्दा उनीहरु भित्र उसकै आकृति खोज्छु। नाम रञ्जना भए पनि छोटो रुपमा उसले आफूले सधैँ आरजे भन्न रुचाउथीँ। रेडियो क्रेज भएकाले पनि ऊ आफू आरजेका रूपमा सबैसामु चिनाउँथी। र भन्ने गर्थी- ‘म रेडियो जक्की बन्छु’। अनि सुरु गर्थी उसका रेडियोका भाषाहरू जुन आजकाल अक्सर म प्रयोग गर्छु। कलेज एउटै भए पनि हाम्रो क्लास अलग थियो। म कमर्सको विद्यार्थी अनि ऊ साइन्सको। तर, हामी कलेजभन्दा पनि बढी क्यान्टिनमा रमाउथ्यौँ। कलेजबाहेक अक्सर हामी इटहरीको गोर्खा डिर्पाटमेन्टमा समय बिताउँथ्यौँ। मेरानिम्ति उसले त्यो डेढ वर्षमा चुरोटका खिली कति किनी हिसाब नै राख्या छैन। ब्ल्याक कफी पिउने अनि बकवास गफ गर्ने हाम्रो दैनिकी नै बनिसकेको थियो। र आज पनि उसको लतले होला मेरा गफहरु त्यस्तै बकवास छन् जुन पहिला थिए। उसले नै हो मलाई चुरोट पिउन सिकाएको त्यसैले आज

उसलाई सम्झने बाहना बनेको छ सूर्य चुरोट। चुरोट र ऊ मेरा आदत नै बनिसकेका थिए। ऊ अक्सर जिस्किँदै भन्थी ‘ओए म केही कथम मरेँ भने अरू रोलान् तँ चाहिँ नरुनू नि।’ भ्यालेन्टाइन डे आउनुभन्दा १ महिनाअघि अली बढी नजिकिएकी थिई ऊ। सायद जीवनभरको प्रेम त्यही एक महिनामै दिनुरहेछ। अचानक मृत्युको खबरले स्तब्ध एक दिन त्यो दिन पनि आयो जुन मैले कहिलै कल्पना गरेको थिइनँ। ऊ केही दिन अघिदेखि बिरामी भएर कलेज जान सकिरहेकी थिइन। सधैँ सोध्दा सामान्य बिरामी भनेर ढाटिरहन्थी। उसको रोगको बारेमा मलाई न त उसले नै भनेकी थिई न त आन्टी र अंकलले नै। मेरो आन्टीको घर र उसको घरनजिकै भएकाले उसकामा जान/ आउन मलाई खासै रोकटोक थिएन।

भ्यालेन्टाइनडेको पहिलो दिन अर्थात् ७ फेब्रुअरी २०१० पहिलोपटक रातो गुलाफ बोकेर प्रणय दिवसको शुभकामना दिन उसको घर गएको थिए। ऊ कोठाभित्रको खाटमा पल्टिएकी थिई। एकतमास मुँडाझै। टेबलमा थियो नोबल मेडिकल कलेजको मेडिकल रिर्पोट जहाँ कभरमा उसको नाम लेखिएको थियो उमेर १६ वर्ष। भित्र पल्टाएर हेर्दा थाहा भयो ऊ ब्लड क्यान्सरको अन्तिम स्टेजमा थिई। त्यसअघि अंकल आन्टीले पटकपटक चेकअप भन्दै अस्पताल लग्ने गरेको त थाहा थियो तर क्यान्सरकै चेकअप भन्ने मलाई लागेको थिएन। सानासाना कुरामा आँशु झार्ने मेरो बानीका कारण उसले आफ्नो खुशी त बाँडी तर दुःखको बोझ सधैँ एक्लै बोकेर हिँडिरही। मलाई छनकसम्म हुन दिइन। क्यान्टिनमा कफी पिउँदै गर्दा एकदिन गजलका केही शेरमा उसले भनेकी थिई जुन अझै पनि मेरो मानसपटलमा घुमिरहेको छ। ‘म मरेको दिन प्रिय मेरो लाश

हेर्न तँ नआउनू पीडा हुन्छ मलाई अति धेरै यार तैले आशु नझार्नू। पोल्छ मलाई भतभती डढाउँदा चितामाथि कमजोर बनी आँशु झारी तैँले हिम्मत नहार्नू।’ त्यसपछिका ५ दिन उसकोमा आउनु र जानु मेरानिम्ति अलि बढी बाक्लियो। कलेज जान मन थिएन आफूले माया गरेको मान्छे सधैँका लागि टाढिँदै थिई। प्रेमिल जोडीहरू भ्यालेन्टाइनका निम्ति पार्क धाउँदै गर्दा मेरो दैनिकी उसको घर धाउनुमै थियो। हरेक दिन उसका लागि भ्यालेन्टाइन गिफ्ट लिएर जाने आउने दैनिकीबाट फेब्रुअरी १३ मा मुक्त नै गरिदिई। झिसमिसेमा भाले नबास्‍दै उसका घरमा कोलाहल सुनियो। गाउँका सबैजना भेला भएका थिए। हतारहतार उठेर त्यहाँ पुग्दा जीवनका अन्तिम श्‍वास लिइरहेकी थिई मेरी रञ्जना। मेरो आगमनमा

कृत्रिम हासो निकाल्दै भनी- ‘नवराज तँ आइस्। यार म तलाईं नै पर्खिरहेको थिएँ। म त जाँदैछु त ठूलो मान्छे बन्नु ल। अनि तँ शब्दको खेती पनि राम्रो गर्छस् साहित्यकार वा पत्रकार बन्नु है।’ यी शब्‍दहरू उसले कलेजका क्यान्टिनमा अरू बेला नभनेका पनि हैनन्। तर, त्यो दिन भाव गह्रुंगो थियो ती शब्दहरूको। अनि एकतामासले अन्तिम श्‍वास फेरी उसले। म अवाक बनेँ निष्‍प्रवाह आँखाबाट आँसु झरिरहे। नि:शब्‍द थिएँ म। केही बोल्न सकिनँ। सबैको भाव मेरो जस्तै थियो। त्यसपछि दिनहरू एकान्तिक बन्दै गए। ती कोठाभित्र छरिएको उसका यादहरू समेटेर केही लेख्‍न खोज्थेँ बग्दैनथे मेरा कलमका मसीहरू बग्थे त केवल आँखाबाट निष्‍प्रवाह आँसुहरू। त्यसपछिका दिन उसका यादहरूले म त्यहाँ बस्न

सक्ने अवस्था नभएपछि फर्की आए घर। उसले हामीलाई छाडेर गएको एकपछि अर्को वर्ष बित्दै गए तर उसका यादहरू कहिले धमिलो भएन। ऊ गएपछि अहिलेसम्म फेब्रुअरी १४ को मज्जा कस्तो हुन्छ मैले महसुस गर्न पाएको छैन। फेसबुकमा हरेक सुन्दर युवतीमा उसका आकृतिहरू खोज्ने प्रयास गरेको पनि झण्डै ८ वर्ष बित्यो तर अझै पनि फेला पार्न सकेको छैन। उसका यादलाई ताजा बनाउन फेसबुकमा मेरो नामको पहिलो शब्‍द उसको आफूलाई चिनाउने उपनाम राखेको छु ‘आरजे’। हरेक वर्ष फेब्रुअरी १४ का दिन उसका निम्ति शब्दका खेतीहरू गर्दै आएको छु जुन उसले मबाट आशा राखेकी थिइन। आज म जे छु जस्तो छु उसकै कारणले छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *