कीर्तिपुरका विद्यार्थीलाई प्रेमवादको राहत

कीर्तिपुरका विद्यार्थीलाई प्रेमवादको राहत

समाचार

Sharing is caring!

काठमाडौँ, १० वैशाख । विश्वमा फैलिएको महामारी कोभिड १९ का कारण लामो समयदेखि लकडाउन भएसँगै सर्वसाधारणले सास्ती झेल्नु परिरहेको छ ।

उच्च शिक्षाको आकांक्षा बोकी देशैभरिका जिल्लाहरूबाट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेका विद्यार्थी समेत अभावबाट अछुतो हुन सकेनन् ।

यसै कुरालाई मध्यनजर गर्दै प्रेमवाद संघले खाद्यान्न अभाव झेलिरहेका कीर्तिपुरका २०० जना विद्यार्थीलाई राहत प्रदान गरेको छ । गत मंगलबार एक सय बोरा चामल (३० के. जि.प्रति बोरा), २ सय के.जि. दाल, २ सय के.जि. नुन, २ सय प्याकेट तेल उपलब्ध गराएको हो ।

‘खाद्यान्न अभाव झेलिरहेका हामी कीर्तिपुरका विद्यार्थीलाई प्रेमवाद संघले जुन प्रेम, स्नेह र सहयोग प्रदान गरेको छ हामी वहाँहरूको सेवाकार्यको मुक्तकण्ठले प्रशंशा गर्न चाहन्छौँ’ समस्यामा परेका विद्यार्थीलाई राहत उपलब्ध गराउन सक्रिय विद्यार्थी हेमराज थापाले बताए, अहिले हामीलाई भाषण होइन, राशनको अभाव अत्याधिक मात्रामा खड्किएको छ ।’

“हामीले समस्यामा परेका विद्यार्थीहरूको पहिचान गरी कीर्तिपुरमा राहत वितरण गर्ने निर्णय लिएका हौँ, आवश्यकताअनुसार राहत वितरण कार्यलाई निरन्तरता दिनेछौँ ।” प्रेमवाद संघका कोषाध्यक्ष होली ङसहछाले बताए ।

आध्यात्मिक जागरण एवं सामाजिक सेवाको उद्देश्यका साथ स्थापित प्रेमवाद संघले विभिन्न मानवीय एवं पशुपंक्षीहरूको संरक्षणमा समेत जुटेको छ ।

लकडाउन भएदेखि स्वयम्भु, पशुपतिनाथ क्षेत्रका बाँदर, बुढानिलकण्ठ र बौद्ध क्षेत्रका परेवा तथा चोभार पोखरीका माछाहरूलाई चारो प्रदान गर्नुका साथै काठमाडौँ उपत्यकालगायत धेरै जिल्लामा भोकभोकै रहेका सडक तथा गल्लीगल्लीका कुकुरहरूलाई खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ ।

संघले लकडाउन भएको दिनदेखिनै गरिब तथा विपन्न परिवारलाई राहतस्वरुप चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री प्रत्यक्ष रुपमा आफैँ र वडामार्फत पनि राहत वितरण गर्दै आएको छ । लकडाउन अवधिभर राहत कार्यलाई निरन्तरता दिने समेत बताइएको छ ।

त्यस्तै, वि. सं. २०७२ सालको माहाभुकम्पमा समेत गोरखा, रसुवा, नुवाकोट, उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप आदि जिल्लामा उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा २ करोड बराबरको सेवा प्रेमवाद संघले प्रदान गरेको ङसहछाले बताए ।

प्राकृतिक विपत्ति एवं सामाजिक सेवाहरूमा सेवारत यस संघले अभिभावकविहीन बालबच्चाहरूका निम्ति बालआश्रम समेत सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *