चिनियाँ कम्युनिस्ट पार्टीसँग भर्चुअल संवादमा नेकपा नेता नेपाल र खनाल बाइकट गरिनुको अर्थ

समाचार

Sharing is caring!

काठमाडौं, ६ असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलसहित दर्जनौं नेताले शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीसँग गरेको संवादबारे बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई ‘बाइकट’ गरिएको छ ।

पार्टीका विदेश विभाग प्रमुख नेपाललाई समेत जानकारी नदिई गरिएको यति ठूलो अन्तरसंवादको उद्देश्य कम्युनिस्ट पार्टीले सरकार कसरी चलाउने भन्ने थियो । यसले नेकपाभित्र विधि र प्रक्रिया नै मिच्ने काम भइरहेको टिप्पणी बाइकट गरिएका मध्येका नेता खनालले पुष्टि गरेका छन् । उनले यस विषयमा विदेश विभाग प्रमुख रहेका नेता नेपाललाई पनि जानकारी नदिइएको हुन सक्ने अनुमान सार्वजनिक गर्दै भनेका छन्,‘यो अन्तरसंवाद कसले र किन आयोजना गरेको भन्ने विषयमा मलाई जानकारी छैन ।’

चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको संयुक्त आयोजना भनी कार्यक्रमबारे मिडियामा पूर्वजानकारी आएको थियो । यसैलाई थाहा पाएको संकेतका रुपमा बुझेका खनाललाई उदृत गर्दै बीबीसी नेपाली सेवाको अनलाइन संस्करण लेख्छ,‘ चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच असल सम्बन्ध छ। तर त्यसको सञ्चालन सही ढङ्गले हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

उक्त अन्तरसंवादमा प्रचण्डले नेकपाका तर्फबाट मन्तब्य राखेका थिए । उनले भनेका थिए,‘नेकपा चिनियाँ कम्युनिस्ट पार्टीसँग विकास, समृद्धि तथा शान्तिका लागि मिलेर काम गर्न इच्छुक छ। बेल्ट एन्ड रोड अभियानको एक अङ्ग भएकाले हामी यसले साझा विकासका निम्ति अवसरहरू ल्याउनेमा विश्वस्त छौं ।’

वर्तमान कोभिड–१९ संकटबारे बोल्दै उनले विगतमा झैँ आगामी दिनमा पनि योसँग जुझ्न चीनको सहयोग महत्वपूर्ण हुने उल्लेख गरे । नेपालले असंलग्न परराष्ट्रनीति अवलम्बन गर्दै आएको स्मरण गर्दै प्रचण्डले कुनै पनि मित्र देशले दिने विकास सहयोग नेपालको सार्वभौम स्वतन्त्रता तथा असंलग्न नीति अनुरूप भएमात्रै स्वागत गरिने बताए ।

असन्तुष्ट रहेका नेताले यस विषयलाई शनिबार हुने सचिवालय बैठकमा अध्यक्षहरू सामु राख्ने तयारी गरेका छन् । दर्जनौं नेता पार्टी कार्यालयमा उपस्थित हुँदा सचिवालयका बरिष्ठ नेता तथा विदेश विभाग प्रमुखलाई नै जानकारी नदिनुको अर्थ खोजिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *