प्रचण्ड जेठ २ को सहमति छाड्नु मेरो गल्ती, ओली जेठ २ को सहमति गर्नु मेरो गल्ती

प्रचण्ड: जेठ २ को सहमति छाड्नु मेरो गल्ती, ओली: जेठ २ को सहमति गर्नु मेरो गल्ती

समाचार

Sharing is caring!

काठमाडौं: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार बालुवाटारमा भएको तीन घन्टा लामो छलफल कुनै निष्कर्षमा नपुगी सकिएको छ।

दुवै अध्यक्षले पार्टी एकताको सहमतिमा हस्ताक्षर गर्दाका साक्षी विष्णु पौडेल र जनार्दन शर्मालाई सँगै राखेर बालुवाटारमा वार्ता गरेका थिए। दुवैले आ-आफ्ना धारणा र व्याख्या सुनाएको स्रोतले सेतोपाटीलाई बतायो।

स्रोतअनुसार प्रचण्डले आफूले त्याग गरेर ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्री मान्दा पनि अन्याय गरिएको गुनासो गरे।

२०७६ मंसिर ४ गते प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने र संसदको बाँकी कार्यकाल ओली प्रधानमन्त्री बन्ने सहमति भएको थियो। त्यो सहमतिपछि पनि आफूलाई अध्यक्षको भूमिका नदिइएको र मानमर्दन गरिएको भन्दै प्रचण्डले रोष पोखेका थिए।

प्रधानमन्त्री ओलीले भने आफ्नो सरकारलाई पार्टीले सहयोग नगरेको, पार्टीभित्र गुटबन्दी गरिएको गुनासो गरे। उनले मंसिर ४ गते भएको सहमतिको भावनाअनुरूप पार्टीलाई अगाडि बढाउन र विश्वासको वातावरण बनाएर अघि बढ्न आग्रह गरे। अध्यक्ष प्रचण्डले भने मंसिर ४ मा फर्कन नसकिने जवाफ दिए।

२०७५ जेठ २ गते पार्टी एकता हुँदा गरिएको ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ सहमति छाडेर आफूले गल्ती गरेको अध्यक्ष प्रचण्डले बताए।

‘मैले जेठ २ को सहमति छाडेर तपाईंलाई पाँचै वर्ष प्रधानमन्त्री मान्छु भन्नु नै मबाट गल्ती भयो,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसले तपाईंको अहंकार मात्र बढायो।’

जंगलमा हिँड्दा हिँड्दै बाटो बिराइयो भने जहाँबाट बिराउन सुरू भयो, त्यहीँ फर्केर मात्र सही बाटो पत्ता लगाउन सकिन्छ भन्दै प्रचण्डले जेठ २ मा फर्किनुपर्ने बताए। प्रचण्डले जेठ २ को सहमति छाडेर आफूले गल्ती गरेको दोहोर्याएपछि प्रधानमन्त्री ओलीले ‘जेठ २ को सहमति गरेर मैले पनि गल्ती गरेँ’ भन्ने जवाफ दिए।

जेठ २ गते पार्टी एकता गर्दा दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गर्नु नै आफ्नो गल्ती भएको ओलीको भनाइ थियो। उनको यस्तो भनाइपछि नेकपाका दुई अध्यक्षबीचको छलफल असहमतितर्फ अघि बढेको थियो।

‘दुवैले एकअर्काको कुरा सुने पनि असहमतिबीच नै अध्यक्षद्वयको वार्ता टुंगियो,’ स्रोतले भन्यो। वार्ता टुंगिनुअघि शनिबार बिहान फेरि दुई अध्यक्ष बस्ने सहमति भने उनीहरूले गरे। शनिबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ। त्यसअघि दुई अध्यक्ष फेरि एकपटक बसेर समझदारी खोज्न प्रयास गर्ने छन्।

स्थायी कमिटीका ४४ मध्ये कम्तिमा ३० सदस्य प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन्। अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीको राजीनामा मागिसकेका छन्।

पार्टीभित्रको शक्ति संघर्ष उत्कर्षमा पुग्दै गर्दा शुक्रबार बिहान प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेपछि त्यसले झनै ठूलो तरंग पैदा गरेको थियो।

ओलीले संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन लागेको आशंका प्रचण्ड-नेपाल खेमाले गरेको थियो। प्रचण्डले बिहीबार नै प्रधानमन्त्री ओलीलाई भेटेर ‘तपाईंले अध्यादेश ल्याउन लागेको हो’ भनी सोधेका थिए। प्रधानमन्त्रीले ‘तीन-चार दिन अझै अध्यादेश नआउने’ जवाफ दिएका थिए।

सत्तासीन नेकपा फुटतर्फ अग्रसर हुँदै गएपछि विभिन्न तहका नेताले फुटबाट जोगाउन प्रयास गरिरहेका छन्। स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुषालले एकताको नयाँ आधार खोज्नुपर्ने प्रस्ताव लिएर शुक्रबार दुवै अध्यक्षलाई भेटेका थिए। उनले प्रधानमन्त्री ओलीलाई बालुवाटार र अर्का अध्यक्ष प्रचण्डलाई खुमलटार गएर भेटेका हुन्।

दुवै अध्यक्षसँग आधा-आधा घन्टा कुराकानी भएको मन्त्री भुषालले बताएका छन्। जो जहाँ पुगेको छ, त्यहाँबाट अघि नबढौं भनेर आग्रह गरेको उनले बताए।

यसअघि शुक्रबार बिहान भुषालको पुल्चोकस्थित निवासमा दोश्रो पुस्ताका ११ जना स्थायी कमिटी सदस्यहरू भेला भएका थिए। छलफलमा प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए। स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा र मणि थापा पनि बैठकमा थिए। बिहान बसेको बैठकले दुई अध्यक्षसँग छलफल गर्ने जिम्मेवारी मन्त्री भुषाललाई दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *