खाडीबाट दैनिक ४ हजारसम्म श्रमिक ल्याइने

खाडीबाट दैनिक ४ हजारसम्म श्रमिक ल्याइने

समाचार

Sharing is caring!

खाडीबाट दैनिक ४ हजारसम्म श्रमिक ल्याइने

काठमाडौं, २६ भदाै । सरकारले खाडी तथा मलेसियाबाट दिनमा चार हजारसम्म नेपाली श्रमिकलाई ल्याउने भएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच भएको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने समझदारी भएको छ । श्रममन्त्री यादवले नयाँ नीतिलाई बिहीबारबाटै कार्यान्वयनमा ल्याएको बताए । तत्कालका लागि पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्रै विमानले बोक्ने मन्त्री यादवले बताए । ‘एउटै विमानमा पीसीआरको नेगेटिभ रिपोर्ट भएका र नभएकालाई मिसाएर ल्याउन पाइएन । नेगेटिभ मात्रै विमानमा आए होटलमा वस्नुपर्दैन । सिधै होम क्वारेन्टाइनमा बस्न मिल्ने गरी घर जान पाउँछन्,’ उनले भने ।

मन्त्री यादवले कम्पनीले आफ्नै खर्चमा चार्टर गरी श्रमिक पठाउन पाउने प्रबन्ध पनि मिलाइएको बताए । हजारौं नेपालीलाई रोजगार दिने कम्पनीले आफ्नै खर्चमा चार्टर विमानमार्फत श्रमिकलाई पठाउन नेपाली दूतावाससँग अनुमति मागेका थिए । रोजगारी समाप्त वा लामो बिदामा राखिएका श्रमिकलाई खाना र बस्नेको प्रबन्ध महिनौं मिलाउनुपर्दा ठूलो खर्च हुने भएकाले कम्पनीले चार्टर विमान माग गरेका थिए ।

पर्यटनमन्त्री भट्टराईले कुनै कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल फर्काउन तयारी गरे त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिइने बताए । ‘श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वय गरेर उडानको व्यवस्था गरिनेछ’, उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिनेछ ।’

उनले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली ल्याउन सरकार संवेदनशील रहेको बताए । ‘स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोसिस गरिरहेको छ । सरकारले आफ्नो प्रयत्न बढाउँदै लानेछ’, उनले भने । हाेम कार्कीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *