प्रधानमन्त्रीले चैतदेखि नै पारिश्रमिक नलिएको खुलासा
काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री केपी ओलीले २०७६ चैत महिनादेखि नै आफूले पाउने मासिक पारिश्रमिक नलिएको तथ्य सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले कोरोनाभाइरस संक्रमण सुरु भएसँगै चैत महिनादेखि मासिक पारिश्रमिक नलिएको बताए ।
सरकारले सोमवार नै मन्त्रीहरूको दशैं भत्ता कोरोना कोसमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।
सल्लाहकार थापाले कोरोना महामारी नियन्त्रणमा नआउन्जेल प्रधानमन्त्री ओलीले पारिश्रमिक नलिने पहिले नै घोषणा गरेको स्मरण गराएका छन् ।
थापाले भनेका छन्, ‘मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यो निर्णयको तेस्रो दिन मात्रै संसद सचिवालयमा दशै भत्ता फिर्ता गर्न निवेदन दिने पदाधिकारी र सदस्यहरूलाई धन्यवाद छ ।’