काठमाडौं, १६ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले भारतले नेपालको सिमाना मिचेको र अमेरिकी सहयोग एमसीसीसम्बन्धी एजेण्डा कार्यसूचीमा नराखेको भन्दै हँगामा मच्चाएका छन् ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बुधबार बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको कार्यसूचीमा सिमाना मिचिएको विषय र विवादित एमसीसी किन नराखेको भनेर केन्द्रीय सदस्यहरूले उत्पात विरोध गरेका हुन् ।
बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले करीव साढे दुई घण्टा बोलेर हिँड्नेवित्तिकै हँगामा भएको हो ।
ओली बैठकबाट गएपछि महासचिव विष्णु पौडेलले बैठकको कार्यसची पेश गरेका थिए । कार्यसूचीमा भारतले लिपुलेक, कालापानीलाई आफ्नो नयाँ नक्सामा राखेको तथा विवादित एमसीसीको विषय नराखेपछि हँगामा भएको थियो ।
केन्द्रीय सदस्यहरू भीमबहादुर रावल, विरोध खतिवडा, युवराज ज्ञवाली, जगन्नाथ खतिवडालगायत करीव ५० जनाले कार्यसूचीको विरोध गरेको उच्च स्रोतले जनाएको छ ।
केन्द्रीय सदस्यहरूले हँगामा मच्चाएपछि नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती विषयहरूमा छलफल हुनेभन्दै आश्वासन दिएपछि बल्ल केन्द्रीय सदस्यहरू शान्त भएको स्रोतको भनाइ छ ।
बैठकले १५ वटा समूह बनाएको छ । प्रत्येक समूहमा २९–२९ जना केन्द्रीय सदस्य रहेका छन् । राजनीतिक प्रतिवेदनमा समूहमा छलफल हुनेछ ।
छलफलपछि टोली नेताले बैठकमा समूहबाट आएको सुझाव र धारणा राख्नेछन् । बैठकमा ओलीले एसीसी, यती समूहलगायतका विषयमा सरकारको बचाउ गरेका थिए ।